चितवन : कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् ।
प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ । सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ । अस्पतालहरूले पनि सङ्क्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन् ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै हाल २८ शय्या छुट्याइएको बताए । तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन् । उनले आवश्यकतानुसार शय्या बढाउँदै लैजाने जानकारी दिए ।
अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्याङ्कसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने उनले विश्वास दिए । भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड सङ्क्रमितको उपचारको थप तयारीमा लागेको उनको भनाइ छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत सिइओ प्रताप देवकोटाले सङ्क्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताए । उनले पछिल्ला दिनमा सङ्क्रमित आउने क्रम बढेको बताउँदै हाल २५ शय्या कोभिडका लागि छुट्याइएको जानकारी दिए । देवकोटाले भने, “हामीले आवश्यकतानुसार शय्याको सङ्ख्या बढाउँदै लैजान्छौँ ।”
कोभिडको दोस्रो लहरसँगै सघन उपचारकक्ष र एचडीयूको सङ्ख्या बढाइएको जानकारी दिँदै देवकोटाले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षसमेत पर्याप्त रहेको जानकारी दिए । उनले पिसीआर परीक्षण गर्ने आफ्नै प्रयोगशाला रहेको समेत जानकारी दिए । रासस