सुर्खेत : जनयुद्धलाई खोल बनाएर हुनेखानेहरु पहुँच र पावरमा मात्रै पुगेनन गरिब तथा विपन्नका छोरा–छोरीहरु कालापहाड पुगे । उतैबाट नेपालको परिवर्तित राजनीति हेरिरहेका छन् । जनयुद्धको बेला तोते बोल्ने शहीद, घाइते, योद्धाका छोरा-छोरी यतिबेला पार्टीको झोला, झण्डा बोक्ने भइसकेका छन् ।
यति मात्रै होइन हिजो बुर्जुवा शिक्षाको बहिष्कार गर्ने (अहिले शक्ति र सत्तामा रहेका) कमरेडका छोरा–छोरीहरु महँगो शुल्क तिरेर विदेशमा त्यहीँ शिक्षा आर्जन गरिरहेका छन् । जनयुद्धले परिर्वन भने गरेकै हो । त्यसमा दुई मत छैन । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको देश हुनु जनयुद्धको ठुलो बल छ ।
सबैको सम्झनामा छ माओवादी सशस्त्र युद्धको दश वर्ष । त्यहीँ सम्झना गर्ने मध्येका एक हुन् कालिकोटको खाडाचक्र नगरपालिका–८ एैछानाका प्रेम प्रकाश चौलागाईँ । युद्धको बेला चौलागाईँको उमेर छ वर्षको थियो । तर माओवादीको त्यो विद्रोह र परिवर्तनका नारा देख्दा चौलागाईँले युद्ध भनेको त्यहीँ उमेरमा थाहा पाए ।
सानो उमेरमा तत्कालिन विद्रोही माओवादीको स्कुलिङ पाए । युद्ध बुझे । द्वन्द्व बुझे । त्यो दश वर्ष बुझे । युद्ध सुरु भएको सालमा जन्मेका उनलाई युद्ध कसरी सुरु भयो ? कसले सुरु गरे ? पछि थाहा भयो । तर चौलागाईँको दाई युद्धमा होमिएका कारण धेरै कुरा थाहा पाउने अवसर पाए ।
उनको दाई माओवादी युद्धमा थिए । २०५७ सालतिरको कुरा हो । चौलागाईँ ६ वर्षको भइसकेका थिए । उनले भने, ‘युद्धमा लाग्नु भएको मेरो माइलो दाई घर आउनुभयो । ठुल्ठुला झोला बोकेका । निधारमा रातो पट्टी बाँधेका मान्छेहरु आएका थिए । उनीहरुलाई देख्दा दाईसँग ‘यी को हुन्’भन्दा सरहरु हुन भनेर भन्थे’ उनीहरुसँग हतियार हुन्थ्ये । पछि थाहा भयो माओवादी भनेका दाईहरु रहेछन् । दाईका कारण पनि हामीलाई माओवादीले तालिम दिन थाल्यो । तालिम पनि लियौंँ । सेना प्रहरी गाउँमा आए दाईहरुलाई भन्ने तालिम । सानो सानै भएपनि सुचना दिने काम गरिरहेका थियौं ।’
घरमा प्रहरीको आतंक भने कमको थिएन । जसकारण जमिन बाँझो छोडेर परिवार माओवादीमा होमिएको चौलागाईँले सुनाए, ‘गाउँका बुढापाकाहरु रेडियो सुनिरहन्थे । हामी छेउमा बसेर रेडियो सुन्ने गथ्र्यौ । समाचारमा कहिले माओवादी पक्षले यति मार्यो कहिले राज्य पक्षले यति मार्यो भनेर आउँथे । समाचारमा सुन्ने गरे पनि गाउँमा दाउरा घाँस जाँदा जंगलमा थुपै गोली लागेका लासहरु भेटिन्थे । हामी डरले दाउरा नल्याएरै घर फर्किन्थ्र्यौ ।’
‘प्रहरी घरमा आइरहन्थ्यो । हामीलाई धम्काउथ्यो । दाई बुबा कहाँ छन् ? चकलेट दिउँला समेत भन्थे । हामी घरमा कोही नाइ भन्थियौं । जब, प्रहरी गए बुबा दाईलाई जंगल पठाउन सहयोग गथ्र्यौ । दिनभर घरमा बसे पनि जब, साँझ परेपछि जंगल जानु बाध्यता थियो, ‘प्रेम प्रकाश चौलागाईँले भने, ‘जंगलमा पनि सेन्टी बस्ने चलन थियो । सेना आएपछि हामीले सिट्टी बजाएर संकेत दिन लगाइन्थ्यो । जंगल गए पनि सुत्न कमै पाइन्थ्यो । दाईहरुले सेना कताबाट आउँछन् ? जानकारी दिनु भन्थे ।’
जनयुद्धमा माओवादीले भन्दा राज्य पक्षबाट ठुलो यातना दिएको उनको भनाइ छ । ‘गाउँमा माओवादी आउँदा सबैका घरमा सघाउँथे । सेनाहरु आएपछि गाउँलेले यातना दिने काम गरेको उनले सुनाए, ‘आमालाई समेत बारीमा कुटे । छोरा श्रीमानलाई कहाँ लुकाएका छौं ? भन नत्र गोली हान्छु समेत भन्थे ।’
पछि दाईलाई नेपाली सेनाले समातेको उनले सुनाए । ‘यतिबेला हामीले दाईले छोड्दिन आग्रह बाहेक अरु केही थिएन’ चौलागाईँले भने, ‘पछि-पछि गाउँले माओवादी आउँदा खुसी, सेना आउँदा दुःखी हुने भइसकेका थिए । कयौं माओवादीकी दिदीलाई सेनाले हाम्रो घरदेखि तल लिएर बलात्कार गरेर मारिदिन्थे ।’
जनयुद्ध करिब विराम हुनै लागेको थियो । कालिकोटको पिलिमा माओवादी र सेनाबीच लडाइँ भयो । २०६३ साउन २३ गतेको त्यो घटना मानसपटलमा अझै ताजा भएको चौलागाईँले भने, ‘बेलुकीपख ४ बजेदेखि सुरु भएको लडाइँ राति १ बजेसम्म चल्यो । लडाइँ पछि माओवादी गाउँमा पसेको थियो ।’
यतिबेलाको माओवादी बाल संगठनमा आवद्ध भएर आफुहरुले माओवादीलाई सुचना पुर्याएको चौलागाईँले बताए । पछि आएर शान्ति सम्झौता भयो । शहीद तथा घाइते परिवारलाई माओवादीले समेट्न नसकेको उनको गुनासो छ ।
छ वर्षको उमेरमा माओवादीलाई ‘लालसलाम’ गर्न सिकेका प्रेम प्रकाश चौलागाईँको परिवार दश वर्ष युद्धमा डिँड्यो । व्यवस्था परिवर्तनका लागि संघर्ष गर्यो । राज्य व्यवस्थाको केही सार परिवर्तन भए पनि अवस्था भने पुरानै हुन पुगेको छ । अर्थात् अवस्था भने परिवर्तन हुन सकेको छैन ।
उनीहरुको मात्रै होइन कालिकोटको खाडाचक्र नगरपालिका-८ एैछानाका माओवादीमा होमिएकाको अवस्था बिहान बेलुका हातमुख जोड्न कठिन पर्ने गरेको छ । विस्तृत शान्ति सम्झौतापछि उनीहरु पुरानै कर्मतर्फ फर्केका हुन् ।
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक)