सिमकोट : नाम्खा गाउँपालिकामा खानाकै लागि पोलेर तयारी अवस्थामा राखिएको झारललाई शिकारीले बन्दुक हानेर मारेको कुरामा शंका छैन् । तर अब सरोकारवाला निकायलाई कुन पक्षद्धारा उक्त झारल मारिएको हो, त्यो पत्ता लगाउनुपर्ने चुनौति खडा भएको छ ।
किनकि नाम्खा गाउँपालिका– ४ का स्थानीयले प्रहरीबाटै उक्त झारल मारिएको आरोप छ । तर यता प्रहरी त्यो मान्न तयार देखिदैन । यसबीचमा त्यो केशलाई सामसुम पार्नका लागि प्रयत्न गरिएको कुरा पनि बाहिर आएको छ ।
यसैबीचमा केही दिन अगाडी जंगलमा शिकारीले प्रयोगका लागि ठिक्क पारेको झारलको मासु प्रहरीले अनुसन्धानका लागि सदरमुकाम सिमकोट ल्याएर डिभिजन बन कार्यालयलाई बुझाएको छ । कुन पक्षले झारलको शिकार खेलेर मारेको हो भन्ने पत्ता लगाउनका लागि अनुसन्धान गर्न प्रहरीले कार्यालयलाई बुझाएको हो ।
नाम्खा गाउँपालिका–४ को याल्वाङ याङ्गार गाउँको क्षेत्रमा पर्ने जाइनी राष्ट्रिय वनमा शिकारीले शिकार खेलेर मारी पोलेर काटी तयारी अबस्थामा राखेको झारलको मासु जंगलबाटै बरामद गरेर ल्याई कार्यालयलाई बुझाएको होे ।
यस सम्बन्धमा प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गर्न प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ । वन ऐन अन्र्तगत डिभिजन वन कार्यालयले यसको अनुसन्धान प्रक्रिया अगाडी बढाउने पर्ने भएको कारण झारलको मासु कार्यालयलाई बुझाएको हो । कार्यालयमा आई पुगेको उक्त झारलको मासु कार्यालयमा शिलबन्दी गरि राखेको छ ।
झारल मारेको सम्वन्धमा प्रदेश कानूुन नबनेको कारण अनसन्धान कार्य अगाडी बढाउन समस्या भईरहेको कारण प्रमुख जिल्ला अधिकारीको समन्वयमा सहायक वन अधिकृत प्रतिमा पनेरुलाई अनुसन्धानका लागि खटाइएको छ । अनुसन्धानको जिम्मा पाएपछि पनेरुले तत्कालै घटनास्थलतर्फ जाने र अनुसन्धान गरेर प्रतिवेदन कार्यालयमा बुझाउने तयारी गरेकी छन् ।
नाम्खा– ४ का स्थानीयले उक्त झारल प्रहरीले नै शिकार खेलेर मारेको आरोप लगाउदै आएका छन् । यद्यपि प्रहरीले आफुले झारल नमारेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले यस बारेमा प्रहरी निरीक्षकको अनुसन्धानको प्रतिबेदन आएपछि पछि मात्रै यस बारेमा भन्न सकिने बताए ।
उनले प्रहरी चौकी मुचुले प्रहरीसँग भएका गोली सबै सुरक्षित रहेको र झारललाई मार्न हानिएको बन्दुकको गोली लागेको शरिरको भाग हेर्दा प्रहरीको बन्दुकले नहानेको देखिएको प्रारम्भिक प्रतिबेदन आएको बताए ।
यसका बारेमा बिस्तृत अध्ययन हुने बताउदै उनले दोषी जो सुकै भएपनि कानूनी दायरामा ल्याएरै छोड्ने जनाए । झारललाई शिकार खेलेर मार्न कानूुन रुपमा बन्देज लगाइएको छ । झारललाई मारिएको संरक्षित क्षेत्र भित्र पर्ने गर्छ ।