काठमाडौं : देउडा सुनेको देखेपछि ‘तमी कर्णालीका हौं’ भन्ने गर्छन् । देउडा खस भाषामा गाइने गीत हो । यसको कर्णालीमा छुट्टै महत्व छ । मध्ये र सुदूरपश्चिममा देउडा धेरै प्रख्यात छ । प्रायः जुनसुकै शुभ कार्य देउडाबाटै सुरु गरिन्छ । यहाँ देउडा खेल्नु, गाउनु चलन मानिएको छ । कर्णालीलाई देउडाको जन्म थलो भन्ने पनि गरिन्छ ।
पछिल्लो समय धेरै युवाले देउडा गीतमा मोडलिङ गरिरहेका छन् । यसले कर्णालीको संस्कृति बचाउन बल पुगेको छ । यसमाथि धेरै युवाको मोडलिङ क्षेत्रमा आकर्षण बढेको पाइन्छ । कर्णाली र सुदूरपश्चिम मात्र नभइ शहर बाहेक देशभरका विभिन्न गाउँ-बस्तीमा यसको प्रभाव छ ।
कर्णालीलाई झल्काउने, कर्णालीलाई पहिचान गर्ने, देउडा र हुड्केलाई चिनाउने सपना बोकेका मोडेल हुन् कालिकोटका ललित विश्वकर्मा । ललित कर्णालीका गनिने मध्येका एक पर्छन् । उनले लोक-दोहोरी, देउडा, ठाडीभाका, हुड्केली गरेर सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
ललितले भने, ‘आफु पहिला-पहिला रहर साथीको लहलहैमा लागियो, भिडियोमा देखिने ठुलो इच्छा पनि थियो । खेल्न पाएको भए हुन्थो, भने मनमा कौतुहलता थियो, ‘मोडलिङ’ गरौंकी भने खेलियो, अहिले आफ्नो करियर नै यहीँ भइसकेको छ । आफुले धेरै गीतमा अभिनय गरेको छु ।’ कालिकोटमा परिचित ललितलाई चिनाउने भने ‘रारा जाने मूल बाटो २, मुखियाको छोरा, ‘बैंस आयाको नाई’जस्ता गीत हुन् ।
विशेष गरेर ‘रारा जाने मूल बाटो’ले उनलाई चिनाएको हो । कर्णाली झल्काउने कालिकोट र जुम्लाको जनजीवनलाई गीतमा झल्काएको छ । गीतमा अग्लो रारादेखि शे–फोक्सुण्डोसम्म प्रस्तुत गरिएको छ ।
उनले भने, ‘आफु खस भाषालाई मर्न नदिने त्यसैले पनि खस भाषामार्फत आफु देशमा चिनिने लक्ष्यमा छु । धेरैले भन्छन् सरकारी जागिरमा लाग्नुपर्छ । तर रंगिन म खस भाषा र देउडा हुड्केलीलाई ब्राण्ड बनाउने लक्ष्य छ । सफलतामा पुगेपछि आफु हिँडेको बाटो बिर्सिन्छ’ उनले थपे, ‘म आफु हिँडेको बाटो कहिल्यै बिर्सिदिन । मैले देउडाबाट आफ्नो करियर सुरुवात गरेको हुँ । यसलाई नै निरन्तरता दिन्छु । कर्णालीलाई चिनाउँछु ।’
पर्दामा सल्लाह दिने पर्दापछि व्यवहार फरक राख्ने गरेको उनको भनाइ छ । ललितले रारा जाने मुलबाटोमा मात्रै होइन धेरै भिडियोमा अभिनय गरिसकेका छन् । सबै भिडियो कर्णालीको जनजीवनलाई चित्रण गरेका छन् ।
उनले भने, ‘म शंकर बिसीलाई आफ्नो आइडल मान्छु । आफुले सानैदेखि शंकर दाइको भिडियो हेर्दै हुर्केको मान्छे । सारै मनपर्छ । उनकै नक्कल गर्दै सिकेको मान्छे हौँ ।’
कालिकोटको साविकको मान्म-७ ताडी र हाल खाँडाचक्र नगरपालिका-४ घर भएका ललित सामान्य परिवारमा हुर्केका मोडेल हुन् । बुवा दन्ते विश्वकर्मा र आमा कला विश्वकर्माको तेस्रो पुत्र हुन् । उनी सानैदेखि पढाइसँगै अन्य क्रियाकलापमा सक्रिय थिए ।
उनले जनजीवन माविबाट एसएलसी गरे । पढाइकै सिलसिलामा कालिकोटदेखि सुर्खेत साइन्स पढ्न आए । ११ र १२ पढे । तर पछि रहर बढदै गएर मोडलिङ’ क्षेत्र रोजेको उनले सुनाए ।
१२ पढ्दा पढ्दै आफ्नै लगानीमा एक तीज गीत बनाएका ललितले उक्त गीतमा आफैले अभिनय गरेका थिए । उक्त गीतले चर्चा भने बटुल्न सकेन तर एक किसिमको उर्जा थपेको उनको भनाइ छ ।
उनले भने, ‘अब जे गर्छु । कला क्षेत्रमै गर्ने सोचमा छु । कर्णालीकै देउडालाई प्राथमिकतामा राखेर अगाडी बढ्ने सोचमा छु ।’ उसो त ललित मोडलिङ क्षेत्रमा लागेको बढी भएको छैन । २०७५ सालदेखि आफ्नो अभिनय यात्रा सुरु गरेका ललितको उर्जा भने कायमै छ ।
पढाइ छोँडेर मोडलिङ’ क्षेत्रमा आउँदा जेठो दाजुको (बाले विश्वकर्मा) सहयोग भएको उनले बताए, ‘ दुःख सुखमा साथ सहयोग ठुलो भएको छ ।’ मोडलिङ क्षेत्रमा आफु चुनौतीका साथ अगाडी बढ्ने ललितले बताए । निर्देशक खगेन्द्र न्यौपानेले मोडलिङ’ क्षेत्र ल्याएका ललितले टिममा विश्वास गरेको बताए ।
मोडलिङ क्षेत्रमा सबैको साथ पाउने उनको अपेक्षा छ । अहिलेसम्म आफुले १५ देखि २० हजारसम्म एक गीतमा मोडलिङ गरेको पारिश्रमिक लिने गरेको उनले बताए । उनले भने, ‘निर्धक्क भएर देउडा गीतमा मोडलिङ गरिरहेको छु । खस भाषा र कर्णालीको सभ्यतालाई जोगाउने प्रयत्न गर्नेछु ।’
नाटककार शेक्सपियरले भनेका छन्, ‘हामी को हौं, यो हामीलाई थाहा छ तर हामी के बन्न सक्छौं त्यो थाहा छैन ।’ ‘मोडलिङ’मार्फत आफ्नो भविष्य खोजिरहेका ललितले भने रंगमञ्चबाट कर्णालीलाई देखाउन चाहिरहेका छन् ।