सिमकोट : हुम्लाकै दुर्गम बस्तीमा पर्ने चाला गाउँमा पुगेर स्वास्थ्यकर्मीहरुले पहिलो पटक उपचार गराएका छन् । स्वास्थ्य शाखाको लक्ष्य दुर्गमका बस्तीमा पुगेर बिरामीको उपचार गर्ने भए अनुसार पिछडिएको क्षेत्रका रुपमा रहेको चाला गाउँवासीको उपचार गरिएको हो ।
नाम्खा गाउँपालिका–४ को चाला गाउँका स्थानीय उटुप लामाले पहिलो पटक स्वास्थ्यकर्मी आएर बिरामीको घरघरमै पुगेर उपचार भएको बताए । उक्त गाउँबाट गाउँपालिका केन्द्र पुग्न एक दिन पैदल लाग्ने गर्छ ।
तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्नकै लागि आएको हिमपातमा पनि पुग्दा दुरदराजको गाउँ चालाका बिरामीलाई निक्कै सहयोग मिलेको छ । सडक सञ्जाल नजोडिएको गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्ने बाहेक अन्य विकल्प नभएको बेला स्वास्थ्यकर्मी पुगेर उपचार गर्दा बिरामीको दुखेको घाउमा मलम लगाउने कार्य भएको हो ।
सो गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार पाँच महिना अगाडी लिएको सिटामोलले काम चलाउने गरेका थिए ।
गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले चाला गाउँका बिरामीले उपचार नपाउने अवस्थालाई मध्यनजर राखेर घरदैलो कार्यक्रम सञ्चालन गरिएको बताए । यसका लागि गाउँपालिकाले तीन जना स्वास्थ्यकर्मी चेकजाँचका लागि उपकरण र औषधी लिएर घरघरमा पुगी उपचार गरेको हो ।
गाउँका जेष्ठ नागरिक, गर्भवती महिला र बालबालिका गरि ३५ जना जटिल रोगका बिरामीको उपचार गर्ने कार्य भएको थियो । त्योसँगै उक्त गाउँका अधिकांशको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि समेत निःशुल्क रुपमा बितरण गरिएको हो ।
हिउँदको समय चाला गाउँमा मानिसहरुको आवत–जावत् बिरलै हुने भएको भएपनि स्वास्थ्यकर्मीहरु पुगेर उपचार गरेका हुन् । संघीयता कार्यान्वयनसँगै वडा वडामा रहेका स्वास्थ्य संस्थाहरुले पछिल्लो समय स्वास्थ्य क्लिनिक र घरदैलो कार्यक्रम अगाडी बढाउदा स्थानीयलाई सेवा पुगेको छ ।