सिमकोट : हुम्लाका डीएसपी हेरम्भ शर्मा नेतृत्वको टोली महामारी सम्बन्धी सचेतना फैलाउन खटिएको छ । सबैतिर कोरोनाविरुद्ध सतर्कता अपनाउन केन्द्रीय कोरोना–१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा डीएसपी नेतृत्वको टोली खटिएको हो ।
डीएसपी शर्माले जिल्लामा कोरोना भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफु टोल–टोलमा पुगेको जानकारी दिए । विहीबार डीएसपी नेतृत्वमा दश जना प्रहरी महामारी कोभिडविरुद्ध जनचेतान मुलक सन्देश फैलाउन हिँडेको हो ।
हालसम्म जिल्ला कोरोना मुक्त रहेको बेला यसलाई कसरी बचाइ राख्ने भन्ने कुरा नागरिकलाई पनि जानकारी दिन यो अभियान प्रहरी दैनिक जारी राख्ने डीएसपी शर्माले बताए ।
उनले जनचेतना फैलाउन निस्कने क्रममा बाटोमा भेटिएका नागरिकलाई सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग अनिवार्य गर्न, सरकारी कार्यालयमा सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्न, कोरोना लक्षण देखिना साथ स्वास्थ्यकर्मीको सम्पर्क रहन, सावुन पानीले पटक पटक हात धुन, सार्वजनिक स्थलमा ननिस्कन, भीडभाड नगर्न आग्रह गर्ने गरेका थिए ।
उनको नेतृत्वमा प्रहरी कार्यालयबाट निस्केको प्रहरीको टोली, महिला छात्रावास, काठेचुली, बालमन्दिर कालीचोक, लोकतन्त्र, एयरपोर्ट, बिजय होटेल, तीनधारा, लादेबाडा टोलसम्म कोरोना बिरुद्धका सन्देस माईकिङ गर्दै निस्कन दुई घण्टा समय लगाएको थियो । प्रहरीले कोरोना बिरुद्धका सन्देश पनि सुनाएको थियो । प्रहरीले यो अभियान अब दैनिक रुपमा सञ्चालन गर्ने जनाएको छ ।