खलंगा : जुम्लामा सञ्चालन यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय, प्रहरी प्रशासन ,नागरिक समाज, राजनीतिक दल र यातायात व्यवसायीबीच छलफल गरेर उक्त भाडा दर कायम गरिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले सरकारले निर्धारण गरेको भाडादरलाई कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।
जुम्लादेखि मान्मा बसमा ४४०, मिनीबस ५४० र जिपमा ६३५ भाडा तोकिएको छ । जुम्लादेखि सुर्खेत बसमा ८४०, मिनीबसमा एक हजार ३० र जीपमा १२ सय ९ रुपैयाँ, जुम्लादेखि काठमाडौँसम्म १२ सय ८३ बस भाडा निर्धारण गरिएको हो ।
त्यस्तै, छोटो दुरीमा जुम्लादेखि उम्गाड, बस २७, जीपमा ४० रुपैयाँ, जुम्लादेखि लाम्रासम्म बस ४४ र जीप ६४ रुपैयाँ तोकिएको छ । जुम्लादेखि तातोपानी बसको ६५ र जीपमा ९६, जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जीपमा १६० रुपैयाँ, जुम्लादेखि रारालिहिसम्म बसको १३५ र जीपमा २ सय भाडा निर्धान गरिएको हो ।
जुम्ला बजारदेखि नाग्मसम्म बसको १७३ र जीपमा २५६ भाडादर निर्धारण गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए ।
उनका अनुासर छोटो दूरीमा चल्ने अटो रिक्साको कममा ४०, बढीमा ७० सम्म जुम्लादेखि नाग्मसम्मको भाडा तोकिएको छ । कच्ची सडकको पनि दूरी अनुसार, र भाडा निर्धारण गरिएको छ। महँगो भाडादरले जुम्लाका स्थानीय मर्कामा परेका थिए । कायम भाडादर लिन सबैलाई निर्देशन दिइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।