सिमकोट : हुम्लामा चिसो झन् झन् बढ्दै गएको छ । चिसो बढिरहेको बेला उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँको तापक्रम माइनस २१ डिग्रीमा झरेको छ । पटक–पटकको हिमपात र दैनिक बादल लाग्ने र हावाहुरी चल्दा यस वर्ष अत्यधिक चिसो बढेको स्थानीय बताउँछन् ।
हिमालपारीको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले शनिबार बिहान मात्रै तापक्रम माइनस २१ डिग्रीमा पुग्दा चिसो अत्यधिक बढेको बताए । उनले विगत दस वर्ष यताकै चिसो महसुस गरिएको बताउँदै दैनिक जसो हिउँ परिरहेको जानकारी दिए ।
हरेक वर्ष हिउँदमा लिमीमै बस्दै आएका वडाध्यक्ष तामाङले विगत वर्षहरुमा यति चिसो नहुँने गरेको बताउँदै स्थानीयले बिहान र बेलुका काम गर्नै नसक्ने अबस्थामा पुगेको बताए । लिमीका खोलानाला, नदी, पानीका मुहान र खानेपानीका धारामा चौबीसै घण्टा हिउँ जम्ने गरेको छ ।
यता नेपाल र चीनको सिमानाका हिल्सामा पनि शुक्रबार बिहान तापक्रम माइनस १७ डिग्री पुगेको सिमा सुरक्षा चौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पर्ण बहादुर चन्द बताए । उनले दैनिक तापक्रम माइनस १५ भन्दा तल कहिल्यै नझरेको बताए ।
कर्णाली नदीको खोचमा हिल्सा नाका भएको कारण तीन घण्टा मात्र घाम लाग्ने गर्छ । उनले अधिकांश समय चौकी भित्रै आगो तापेर बिताउने गरिएको बताए । चिसो धेरै भएपनि नियमित रुपमा किट क्षेत्रतर्फका सिमास्तम्भहरुको अनुगमन कार्य भने सुरक्षाकर्मी जारी राखिएको छ ।
हिल्सा र लिमीमा मात्र तापक्रम माइनस नभएर सदरमुकाम सिमकोटको पनि शुक्रबार बिहान माइनस १२ डिग्री झरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
तापक्रम माइनस भएको कारण बिहान बाहिर निस्की नसक्नु भएको बताउँदै उनले यो वर्ष चिसो निक्कै बढेको बताए । पुस महिनाभरि पटक पटक हिमपात भएपनि गतिलोसँग हिमपात हुन सकेको छैन । चिसो बढी भएको कारण सडक र पानीका धारामा बरफ जमेको देखिनु सामान्य जस्तै भएको छ ।
शुक्रवार बिहान तापक्रम माईनस २१ डिग्री पुगेको लिमीको हल्जी गाउँ ।
तस्बिर ः सौजन्य पाल्जोर तामाङ वडा अध्यक्ष लिमी