सुर्खेत : २०५९ वैशाख ९ गते कालिकोटका बिनोद चौलागाई घरमै बसिरहेका थिए । दिनभरी घरको कामकाज गरेर थाकेका उनी एकछिन आराम गर्न सुस्ताएका थिए ।
आँखा निदाउन लागेका उनको घरमा टुप्लुक्कै माओवादी आइपुगे । त्यतिबेला व्यवस्था परिवर्तनका लागि भन्दै माओवादी जनयुद्ध उत्कर्षमा थियो । कार्यक्रम छ, भन्दै उनीहरुले साथै जानुपर्ने अडान राखे । साथमा नगए मारिदिने धम्की छँदै थियो । त्यसमाथि गाउँमा धेरैजसो माओवादी जनयुद्धमा होमिसकेका थिए ।
आफ्नै हातखुट्टाले संघर्ष गरेर व्यवस्था परिवर्तनको मुद्दा बनाउने उनको सपना थियो । त्यही सपना पूरा गर्नुपर्ने दिन आयो । दिनभरिको थकानलाई मनको मझेरीमा बिश्राम दिदै उनी माओवादीको पछि लागे ।

‘घरबाट हिडेको तीन दिनपछि जुम्ला पुग्यौँ, क्रान्तिमा लागेपछि निरन्तरता दिएँ,’ उनले त्यतिबेलाको भुमिगत अनुभव सुनाउँदै भने, ‘सुरुमा जनयुद्ध भनेको के हो केही थाहा थिएन । जनयुद्धमा होमिएपछि मात्र जनयुद्धको उद्धेश्य बुझेँ ।’
२०६० सालमा भुमिगत भएका उनी त्यसको केही समयमै जनमुक्ति सेनामा भर्र्ना भए । १४ वर्षको उमेरमा कलम समात्ने उनका हातले सर्वहारा वर्गको मुक्तिका लागि भन्दै बन्दै बन्दुक समाते ।
पहिलो पटक प्रहरी चौकी कब्जा गर्न जाँदा...
युद्ध यात्राकै क्रममा २०६१ साल पुस १९ गते प्रहरी चौकी कब्जा गर्न हिँडे । दिँउसो चार बजे नै चौकी आक्रमण गर्न घाँसको भारी बोकेर सदरमुकाम प्रवेश गरे ।
उनी त्यो बेलाको संघर्ष सम्झँदै भन्छन्, ‘नेपाली सेना, प्रहरी सदरमुकाम भित्रिने सबै पुलहरु भत्काएका थियौँ । सदरमुकाम पुग्नलाई पिठ्युमा घाँसको भारी बोकेर सदरमुकाम छि¥यौँ । सदरमुकाम नजिकै पुग्दा तीनजना प्रहरीले हामीलाई रोक्यो । प्रहरी तीनजना मात्र र हाम्रो संख्या सात जना भएकाले प्रहरीलाई कब्जा ग¥यौ ।’
प्रहरी चौकीमा जम्मा तीन जना भएपछि उनीहरुले कब्जा गरिहाले । कब्जा गरेपश्चात् त्यो कुरा एकैछिनमा सदरमुकामभरि फैलियो । लगत्तै सेना आएर आक्रमण गरिहाल्यो । दोहोरो झडप भयो । दोहोरो झडप भएपछि भागाभाग चल्यो ।
‘म भाग्ने क्रममा गोली लागेर भिरबाट खसेर कर्णाली नदी किनारमा पुँगे’ उनले त्यतिबेलाको जनयुद्धको घाउ देखाएर भने, ‘खोलाको एउटा ओढारमा लुकेर ज्यान जोगाँए । पुसको कठ्यांग्रिदो जाडो थियो । त्यहीमाथि गोली लागेको आलो घाउ । रगत बगेको देख्दा आफैँ बेहोस हुन्छु कि भन्ने डर बढ्यो ।’

बेलूकी लडाई पर्दा राती भइसकेको थियो । मेरूदण्ड भाचिसकेको थियो । हात पनि चल्न छाड्यो । खुट्टा पनि चल्न छाड्यो । उनी बेहोस अवस्थामा बाँचे । ‘साथीहरूले पछिल्लो दिन मलाई भेटाएर त्यहाँवाट उद्धार गरेर घरमा खबर गरे । मेरा वुवा र आफन्तहरुले हिउँ छिचोल्र्दै डोकोमा वोकेर दैलेख हुँदै नेपालगन्ज मेडिकल कलेजमा पु¥याए । उपचार सुरु भयो,’ मृत्यु देखेका उनले बाच्नु पछााडिको कारण खुलाए ।
त्यहाँ १० दिन जति राखेपश्चात् विस्तारै उनलाई ठीक हुँदै गयो । तर घाउ गम्भीर थियो । उपचार गर्न सजिलो थिएन ।
त्यसमाथि डाक्टरले भनिदिए, ‘अमेरीका लिएपछि मात्र ठिक हुन्छ ।’ त्यसपछि उनलाई भनभरी पीडा भयो । पीडालाई एक किनारा लगाउदै बुवाले मन भरि पीडा लिएर पुनः घर फर्किएको सम्झना उनलाई छ ।
‘मेरो हिड्न सक्ने अवस्था थिएन । दैलेखको चुप्रादेखि कालीकोटसम्म वृद्ध वुवाले डोकोमा वोकेर घर पु¥याउनुभयो’, उनले भने । पछि उनका बुवाले नै ऋण खोजेर भारतको लखनउ पुर्याए । लगभग तीन वर्ष उपचार गरेपछि उनी घर फर्किए ।
चर्का नारामा सीमित जनयुद्ध
सर्वहारा गरिब निमुखा वर्गको हक अधिकार सुनिश्चत गर्नका लागि २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्धको सुरुवात भयो । जनयुद्ध सुरु गर्दा चर्का चर्का नारा घन्किए । धेरैले आफन्त गुमाए । धेरै छोराछारी टुहुरा भए । जनयुद्धको मैदानमा लडेर ाइते भएका घाइते अपाङ्गहरु उपचार नपाएर छट्पटिएका छन् ।
कैयौ जना हस्पिटलको शैयामा छटपटिएका छन् । जनयुद्ध लड्दै गर्दा यो युद्ध लडेपछि यो राज्य मेरो हुन्छ भन्ने धैरको बुझाई थियो । यही बुझाई बिनोदमा पनि थियो । तर, सोझा साझा नेपाली जनताको राज्य सत्ता कहिल्यै पनि आएन । आयो त केवल उही शासकहरुकै आयो ।
अहिले पनि पुर्व माओवादी योद्धाहरुको अवस्था गाह्रो छ । नत कुनै सहयोग पाएका छन् । न त गिट्टि कुटेर खान सकिन्छ । धेरैले मानसिक अवस्था गुमाइसकेका छन् । कोही छट्पटाएका छन् ।
‘हामीले जनयुद्ध लड्दा यति धेरै पीडा र जीवन चलाउनै गाह्रो होला भनेर सोचेका थिएनौँ,’ उनले जनयुद्धको नेता बनाउ अभियानबारे पीडादायी विगत सुनाए, ‘अहिलेका नेताको फूर्ति हेर्दा त त्यतिबेला बेकार लडिएछ जस्तो लाग्छ । त्यो एकदम चिन्ताको विषय हो । यति धेरै स्वार्थी नेता होलान जस्तो लागेको थिएन ।’
मुश्किलले बाँचेपछि बेसहारा बचाउने अभियान
१४ वर्षको बाल्यकालमा क्रान्तिमा होमिएका विनोद जनयुद्धबाट फर्केपश्चात् जीवनको नयाँ लक्ष्यमा हिँडे । बेसहारा टुहुरा बालबालिकाको अभिभावत्व बोकेर अघि बढ्ने योजना बनाए ।
वावु तुलाराम चौलागाई र आमा बाचु चौलागाईको कोखबाट २०४४ साल माघ १३ गते जन्मेका उनी अहिले आफ्नो इतिहास लेखाउने बाटोमा अघि बढेका छन् । आमाले आफूलाई जन्माएर संसार छाडेपछि उनी अहिले नयाँ संसार बनाउने बाटोमा लागेका हुन् । सानोमा आमाको मायाबाट बञ्चित भएका उनलाई आमाको माया के हो ? भन्ने थाहा छ ।
उसो त उनले आमाको सम्पुर्ण मार्या हजुरआमाबाट पाए । पढाईमा राम्रो दखल भएका विनोद चुलिमालिका घोडेनामा कक्षा ८ मा अध्ययन गर्दै गर्दा २०५९ सालमा माओवादी लाग्दा पढाई छाड्नुपरेको थियो ।
सुरुमा जनयुद्धबारे अपरिचित रहेका उनी जनयुद्धमा होमिएपछि परिचित भएका थिए । युद्धमा लागेपछी दुर्गममा कार्यक्षेत्रको जिम्मेवारी लिदै विभिन्न लडाईका मोर्चामा भाग लिन्थे ।
‘सानो बच्चापनको अबस्थामा राजनीति के हो मलाई त्यति थाहा थिएन,’ उनी भन्छन्, ‘प्रत्यक्ष युद्धमा समाहित हुदा फरक अनुभुति भयो । कैयौँ लडाइँमा सहभागी भएँ । सँगै लडाईमा गएका कैयौँ साथीहरूलाई गुमाउनुको पीडा कस्तो हुन्थ्यो त्यो सम्झन पनि गाह्रो पर्छ । तर जनयुद्ध आफैले भोग्नेलाई मात्र पीडा थाहा छ ।’
जनयुद्धमा होमिएपछि उनका कैयौँ दिनहरु भोक भोकै बिते । भोकभोकै हिड्नु पथ्र्यो । साउन महिनाका कहाली लाग्दा अधेँरी रात र साउने झरिमा रुझ्दै काट्नुपरेका दिन पनि उनलाई याद छ । कुनैबेला आफ्ना कमाण्डर जनार्दन शर्मा, नन्दबहादुर पुन, वर्षमान पुनसँग उनी थुपै्र लडाई लडेका छन् ।
तर अहिले ती सबै कुरा इतिहासमा सीमित छ । अहिले जनार्दन अर्थमन्त्री छन् । तर हजारौँ कार्यकर्ता सडकमा छन् । नन्दबहादुर पुन उपराष्ट्रपति छन् । तर जनताको दुःख सम्बोधन गर्न सकेका छैनन् । वर्षमान पुन शक्तिशाली नेता भएपनि कार्यकर्ता चिन्न छाड्छन् । यसले बिनोद जस्ता कार्यकर्ताको मन चुँडिएको छ ।
बालकैमा आमा गुमाएको । जनयुद्धमा विभिन्न दुःख कष्टहरु सम्झिदै अहिले आमा बाबु गुमाएका टुहुरा बालबालिकाको अभिभावक भएका छन् ।
आफन्त नभएका दिन दुःखीको सेवा गर्ने उद्देश्यले विनोदले साथीहरुसँग मिलेर ‘साझा घर नेपाल’ नामक सामाजिक संस्थाको स्थापना गरेका छन् ।
अहिले साझाघरमा ९७ जना मानिसको सहारा उनी आफैँ छन् । ती बालबालिका र बेसहाराको सहारा आफू बनेर बाँच्न पाँउदा उनी आफ्नो जूनी फर्केकोमा सन्तुष्ट छन् । त्यतिबेला जनताको खुशी खोज्न जनयुद्धमा हिँडेका विनोद अहिले बेसहाराको मुहारमा खुशी देख्दा आफ्नो जीवनको सार भेटेको बताउँछन् ।
‘आखिर जीवन के रहेछ र ? त्यतिबेला एकै गोलीले ढलेको भए जीवन सबै सकिन्थ्यो,’ उनले सारमा आजको उपलब्धीको अनुभव बाड्दै भने, ‘जनयुद्धको नेताको साथ छाडेर साच्ची जनताको साथमा रहदा खुशी लाग्दो रहेछ ।’
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक)