काठमाडौँ : राजनीति असाधारण क्षमता प्रदर्शन गर्ने रणमैदान हो । जो अरुले होइन, आफैले बनाउनुपर्छ । तर कर्णालीका मुख्यमन्त्री जीवन शाहीले १०० दिनमा आफ्ना कामको उपलब्धी सार्वजनिक गर्ने एक प्रचारबाजी स्टन्ट रचेका छन् । जुन उनको रहर नहोला, तर राजनीतिको फेरो समातेर कुवाको भ्यागुतो बनेको सफर जस्तै बनेको छ ।
एक मुख्यमन्त्रीले आफ््नो १०० दिने उपलब्धीको पहिलो बुँदामा लेखेका छन्, 'नेपालमा कोभिड–१९ को तेस्रो लहर ओमिक्रोन भाइरसको संक्रमण बढ्न थालेको छ । कर्णाली प्रदेश पनि त्यसबाट अछुतो रहन सक्दैन् । मेरो नेतृत्वमा सरकार गठन भएसँगै सरकारका काम–कारवाहीलाई प्रभावकारी र व्यवस्थित बनाउँदै अघि बढिरहेका बेला अव कोभिड–१९ को तेस्रो लहरसँग जुध्नुपर्ने परिस्थिति आएको छ । प्रदेश सरकार नागरिकको घर–आँगनको सरकार हो । त्यसैले जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो ।'
पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको मुख्यमन्त्रीका उपलब्धीको पहिलो लाइन हेर्दा लाग्छ, एक तलबी स्वकीय सचिवको बकपत्र । अर्थात नुनको सोझो गरेको प्रमाण देखाउने । त्यही नुनको सोझो गरिएको एक कागजको पानामा लेखिएका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीका १०० दिने उपलब्धी सार्वजनिक भएका छन् ।
पत्रकार सम्मेलन गरेर समय कटाएका मुख्यमन्त्री शाहीले १०० दिनमा गरेको कामको दाबी हेर्दा लाग्छ, उनको सरकारमा एक जना पनि उपलब्धी कसरी लेख्ने भन्ने जानकारी रहेको मान्छे छैन । सामान्य कर्मचारीले समेत राम्रोसँग अहिलेसम्मको काम कारबाहीको जानकारी दिन सक्ने कुरालाई बेवास्ता गर्दै फगत एक खोस््टो कागजमा उपलब्धी भन्दै आफ्नै अनुहार ऐनामा हेर्न दुस्साहस गर्न कन्जुस्याई गरिएको छ ।
स्मरण रहोस, कुनै काम गर्न नसकेका मुख्यमन्त्रीले सचिवालय बनाउन सकेका छैनन । स्वकीय सचिव नामका एक व्यक्तिले देखेको, लेखेको र सुनेको कुरालाई एक कागजमा उतारेर हतार हतार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कुरा सरकारको उपलब्धी होइन ।
उपलब्धी त त्यो हो, जुन जनताको अनुहारमा देखिन्छ । सडकमा देखिन्छ । सरकारमा देखिन्छ । चार जना मन्त्री नियुक्त गरेर सरकार चलाउन नसक्ने मुख्यमन्त्रीले उपलब्धी सार्वजनिक गर्नु आफैमा ठूलो लज्जा हो । अनि दुई चार जना गतिला व्यक्ति राखेर सचिवालय बनाई टिम बनाउनै नसक्ने मुख्यमन्त्री उपलब्धी भन्दै एक पन्ना कागजका बुँदा पढ्नु कर्णालीका जनताकै लागि अर्को लज्जास्पद बाध्यता हो ।
जम्मा दुई जना मन्त्री र एक जना स्वकीय सचिवको भरमा सरकार चलाएको भ्रम राख्नु अर्को कुण्ठित मानसिकता हो । जागिरे कर्मचारीबाट घेरिएर एक मामुली कर्मचारीको कामलाई मुख्यमन्त्रीले उपलब्धी मान्नु कर्णालीका जनताको बरबादी हो ।
४० बुँदामा सार्वजनिक गरिएको उपलब्धी नामक बकपत्रमा खर्च विवरण छ । तर त्यो भन्दा बढी एनजिओ र आइएनजिको प्रचारबाजी छ । कोरोना रोकथामका लागि भन्दै मुख्यमन्त्रीले सार्वजनिक गरिएको एक बुँदामा लेखिएको छ, 'कोरोनाको संभावित तेस्रो लहर रोक्नका लागि सरकार हरसंभव प्रयास गरिरहेको छ । यसका लागि कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु मध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखिनै कोरोना परीक्षण तथा जामुमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।'
यसको आशय हेर्दा काम सरकारले गरिएको प्रचार छ । जम्मै बजेट चाँही दाताले दिएका छन् । जनताको जीउको परीक्षण गर्न पनि कर्णालीमा अझै दाताको भर पर्नुपर्ने बाध्यता छ । अनि त्यहीलाइ मुख्यमन्त्री आफ्नो उपलब्धी ठान्छन् ।
उपलब्धीको अन्तिम बुँदामा लेखिएको छ, 'एक विद्यालय, एक स्वास्थ्यकर्मी कार्यविधि तयार गरेर कार्यान्वयन चरणमा छ ।' जबकी सुर्खेतकै छेउमा रहेका नमुना सरकारी विद्यालयको भ्रमण छैन । बड्डीचौरमा रहेको जनज्योति विद्यालयको मोडल संघीय सरकार कार्यान्वयन गर्दैछ । प्रदेश सरकार देख्दैन । एक शब्द लेख्दैन । यो लेख्ने काम स्वकीय सचिवको होइन पनि ।
सरकारलाई पूर्णता दिनै नसक्ने इतिहासकै निरीह मुख्यमन्त्रीको प्रचारको भोकबाजीको एउटा कागजी पाना होृ, ४० बुँदे उपलब्धी । चार जना मन्त्री नियुक्त गर्न नसकने, मन्त्रालय फुटाउने भन्दै हल्लामा रमाउने मुख्यमन्त्रीले जबसम्म आफ्नो काम के हो ? भन्ने बुझ्दैनन । तबसम्म यस्ताा मिडिया स्टन्ट र प्रचारबाजी प्रचारमा आइरहन्छन् । कर्णालीका जनता भोकै रहन्छन् ।
हरेक दिन सञ्चारमाध्यममा आउने समस्याका चाङ नदेख्ने मुख्यमन्त्री त्यहाँ नयाँ अवसर सिर्जना गर्न कुर्सीमा बसेका छैनन । बरु कर्णालीलाई झन् समस्याको भकारी बनाइरहने जागिरलाई निरन्तरता दिइरहेका छन् ।