जुम्ला: जुम्लाका विपन्न असाय महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ ।चन्दननाथ नगरपालिका भित्रका विपन्न असाय महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि हातेहोजियारी तलिम दिइएको हो ।
सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्बन्धि सम्वन्धी सीपमूलक एक महिने तालिम दिन थालिएको छ । एक महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइने हातेहोजियारी प्रशिक्षक सरस्वती भारतीले बताइन् ।
उनले भनिन् एक महिने तालिमले उनीहरु पूर्ण रुपमा बुन्न सिकेपछि आफैले बुनेर टोपी र मोजा बुनेर बिक्रीवितरण गरी आर्थिक आयआर्जन गर्न सक्ने छन् । सामाजिक विकास कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम शाहीले कार्यविधि अनुसार विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सीपमूलक तालिम दिने उनले बताए ।
उनले भने यस्ता प्रकृतिका तालिमबाट सिप सिकेर धेरै महिलाहरु स्वरोजगार बनेका छन् ।यो तालिममा सहभागी महिलाले पनि सिप सिकेर स्वरोजगार बन्ने र उनीहरुको आयआर्जनमा सुधार हुने अपेक्षा गरिएको छ । त्यस्तै हिमाली महिला जागरण केन्द्र जुम्लाकी अध्यक्ष छिरिङ ल्यामु लामाले ३ माघदेखि एक महिने हातेहोजियारी सिपमुलक तालिम सञ्चालन गरिएको बताइन् ।
उनले भने विपन्न महिलाको आयआर्जनमा सुधार ल्याउनका लागि यस्ता किसिमका तालिम सञ्चालन गर्नु परेको हो ।अहिले ग्रामिण महिला असक्षम र अशिक्षित छन् । उनीहरु चुलोचौकोमा सिमित भएका कारण आर्थिक रुपमा असक्षम छन् ।
अध्यक्ष लामाले भनिन् आर्थिक रुपमा असक्षम भएकै कारण समाजमा घरेलु हिंसाका घटना घट्ने गरेका छन् । विभिन्न सीपमूलक तालिमबाट सिप आर्जन गरी व्यवसाय भएपछि महिलामाथि हुने घरेलु हिंसा न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।
हातेहाजियारी सिपमुलक तालिममा चन्दननाथ नगरपालिका १० जना महिला सहभागी छन् । एक महिनासम्म तालिममा सहभागी भएर सिप सिक्ने महिलालाई प्रमाणपत्र पनि प्रदान गरिने हिमाली महिला जागरण केन्द्र जुम्लाले जनाएको छ ।