सुर्खेत: सुर्खेतमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयमा यही माघ ८ गतेबाट बारको पालो अनुसारको सेवा दिन लागिएको छ।
आज जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी बारको पालो अनुसारको सेवा दिने जनाएको छ। सूचना अनुसार आइतबार र शुक्रबार सुर्खेतको वीरेन्द्रनगर, लेकबेसी नगरपालिका र पंचपुरी नगरपालिकाको काम हुनेछ। यस्तै सोमबार र मंगलबार भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका र बराहतालको सेवाग्राहीलाई सेवा दिइनेछ भने बुधवार र विहीवार गुर्भाकोट नगरपालिका, सिम्ता र चौकुने गाउँपालिकाको काम हुने जनाइएको छ।
यस्तै बीरेन्द्रनगरमा सेवाग्राहीको चाप बढि हुने भएकाले हरेक हप्ताको मंगलबार वीरेन्द्रनगर वासीको लागी सेवा प्रादन गरिने जनाइएको छ। कोभिड संक्रमण बढ्दै गएको र प्रशासनमा अत्यधिक भीड भाड बढेकोले नागरिकता सम्बन्धि काम, राष्ट्रिय परिचयपत्र सम्बन्धि काम, फोटोसहितको मतदाता नामावली दर्ता र विद्युतीय राहदानीसम्बन्धि सेवा प्रवाह बार प्रणाली अनुसार गरिएको प्रशासनले जनाएको छ।
तोकिएको बार अनुसारको सेवा लिनका लागि सम्बन्धि पालिकाहरुले सेवाग्राहीलाई आवश्यक कागजात पनि उपलव्ध गराइदिन उल्लेख गरिएको छ। कार्यालयले बार अनुसारको सेवा लिन आउँदा अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड अपनाउने, पूर्ण खोप लगाएको कार्ड तथा कार्डको फोटो मोबाइलमा खिचेर ल्याउन पनि जानकारी गराएको छ।
यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकाहरुलाई खोपको बुस्टर डोज लगाउन सुरु गरिएको छ। आजदेखि सुर्खेतमा बुस्टर डोज लगाउन सुरु गरिएको हो। सरकारले अग्रपंक्तिमा खटिएकाहरुको लक्षित समूहमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सार्वजनिक क्षेत्र सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा, पत्रकार, सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई तोकेको छ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लामा अग्रपंक्तिमा खटिनेहरुलाई भनी १४ हजार ७४२ डोज बुस्टर खोप लगाइनेछ। जसमा कोभिशिल्ड लगाएका ८ हजार ५८९ र भेरोसेल लगाएका ६ हजार १५३ जनालाई बुस्टर डोज लगाइने बरिष्ठ जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले बताए । यस्तै प्रदेश अस्पताल र मेहलकुना अस्पतालमा गरी ३१४ जनालाई बुस्टर डोज लगाइएको थियो।
सुर्खेतमा सवै पालिकामा अग्रपंक्तिमा खटिनेहरुलाई यो डोज लगाइएको छ। वीरेन्द्रनगर नगरपालिकाले भोली नगर अस्पताल, नगरपालिका र नौलापुर आधारभूत स्वास्थय केन्द्रमा पनि खोप लगाउनेछ। असार महिनासम्म दोस्रो डोजको खोप लगाएको ६ महिना पुगेकालाई बुस्टर डोज दिइएको हुँदा पछि ६ महिना पुग्नेहरुका लागि पनि थप खोप आउने जानकारी उनले बताए ।
यस्तै सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ। सुर्खेतमा हिजो १७७ जना संक्रमित रहेकोमा आज त्यो संख्या बढेर २२६ पुगेको बरिष्ठ जनस्वास्थ्य प्रमुख वाग्लेले बताउनुभयो। २२३ जना घरमा र तीन जना प्रदेश अस्पतालमा उपचाररत छन्। उनीहरुको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो।