नेपालमा माओवादीले गरेको युद्ध सफल हुनुको पछाडि कलाकारको सबैभन्दा महत्वपुर्ण भुमिका रह्यो । यसकारण, त्यतिबेला गाउँ बस्तीमा ‘आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर’ जस्ता गीत नबजेको भए भोक-भोकै माओवादी युद्धमा जनलहर लाग्ने थिएन । साँच्चै हो जंगल धाउने कर्णालीका चेलीहरु युद्धमा लाग्ने थिएनन । चुलोचौको छोड्ने थिएनन । बमको झोला बोक्ने थिएनन । यी गीत नबजेको भए ।
तत्कालिन जाजरकोटकी जनकलाकार सरिता बोहोरा कमरेड ‘माया’ले गाएको गीत ‘आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर’ले कर्णालीका महिलालाई युद्धमा मात्रै हिँडाएन अहिले पनि गीत सुन्दा शरिरमा तातो रगत उम्लिन्छ । जुन गीतले चुलोचौकोमा सिमित कर्णालीका महिलालाई युद्धमा संगठित गर्यो । यी र यस्ता गीत थुप्रै छन् जसले युद्धलाई सफल बनाए । यी गीतहरु सर्वहाराका लागि थिए । वर्ग संघर्षका लागि थिए । र, छन् ।
साँच्चिकै चुलोचौको छोडेर युद्धमा हिँडे । बम बारुदको झोला बोके । त्यतिमात्रै होइन निरंकुश सत्तालाई ढाले । तर, विडम्बना परिवर्तनका लागि युद्ध गर्नेहरु फेरि चुलोचौकोमा फर्किए ।
यिनै कलाकार मध्येकी एक हुन् दैलेख भैरवी गाउँपालिका-७ कि अन्जना खड्का कमरेड आशा । उनले सर्वहाराका लागि राज्य सत्ता स्थापना गर्न २०५९ चैत्र १६ गते माओवादी कलाकारितामार्फत युद्ध गरिन् ।
गीतबाटै देशलाई परिवर्तन गर्न खोजेकी कमरेड आशाको अवस्था पहिलेभन्दा फरक छ । र, पाइन्छ । ‘उबेला’ जङ्गल धाउने चेलीहरुलाई हिमाल चढ्न सिकाउने आशा यतिबेला आफै चुलोचौकोमा सिमित भएकी छन् । कुनैबेला परिचित आशा अहिले अपरिचित छन् । युद्धमा आशाले गीत गाउँदा अँ.. साँच्चै युद्धमा हिँड्नुपर्छ भन्ने धेरै थिए । तर आशा कुनै नेता र नेतृत्वमा पुग्न भने सकिनन् । उहिँ चुलोचौकोमा सीमित बन्न पुगिन् ।
माओवादी कसरी भइन् ?
आशाको सानै उमेरमा कलाकार बन्ने ठुलो रुचि थियो । विद्यालयमा पनि उनले गीत गाएरै थुप्रै पुरस्कार पाएकी थिइन् । स्कुलमा राम्रो गीत आउने आशा गाउँका वरपर हुने कार्यक्रममा सहभागी हुन्थिइन् । गीत गाउनमा उत्कृष्ट आशा पढ्नमा पनि उत्तिकै अम्बल थिइन् ।
पढ्नकै लागि काकासँग बुटवल जाने सल्लाह भयो । काकासँगै उनी बुटवल पुगिन् । बुटवल पुगेर पनि उनको पढाइभन्दा धेरै गीततिरै रुचि थियो । पढाइमा सीमित रहन सकिनन । उनको गीत गाउने इच्छा कसैले रोक्न सकेन । पछि आफ्नो काकासँग बागीनामा जाने निर्णय गरिन् । बागीनामा पुगेर पनि सबैको मन जित्न पुगिन् । २०५८ सालतिरको कुरा हो । घरबाट तुरुन्तै आउने भन्ने खबर गयो । फेरि घर दुल्लु फर्किन् । उनलाई बोलाउनुको कारण रहेछ, ‘विहे गरिदिने’ ।
घरमा ‘आमाबा’ गाउँकै आर्मी केटासँग विहे गर्ने निर्णयमा पुगिसकेछन् । एक्कासी विहे गर्नुपर्छ भन्ने परिवारको खबर सुनिन् । आर्मीसँग विहे गराइदिने कुरा थाहा पाएपछि अञ्जना घरबाट भाग्ने निर्णयमा पुगिन् । घरबाट भागिन् । घरदेखि दश दिन लगाएर दैलेखको महाबु लेक, कालिकोट, जुम्ला, मुगु, हुँदै हुम्ला पुगिन् ।
हुम्लामा पुगेर माओवादी कलाकार टिमसँग भेट भयो । हुम्लामा करिब ६ महिना विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी जनाइन् । त्यहाँ सफल कलाकार भइन् । मनदेखि मनसम्म पुगिन् । कयौँ पुरस्कार जितिन् । हुम्लाको बसाइँपछि बिमल बोगटीको लगानीमा नेपालगन्ज पुगेर ‘कर्णाली भेरीका छाल’ गीत रेकर्ड गरिन् ।
त्यसपछि उनले थुप्रै गीत गाइन् । रातो झण्डा फहरायो गणतन्त्रको लहर आयो । सात साल ४६ को कडी जोडियो बाउन्न । धन्न नेपाल लगायतका उनका गीत अहिले पनि सुन्न सकिन्छ । झन् जनयुद्धमा उनले थुप्रै गीत गाइन् । जुन गीतहरु परिवर्तनका लागि थिए । र, छन् ।
माओवादी भएपछि बुवाको अपहरण...
२०५९ चैत्र १२ गते माओवादीमा गएपछि आफ्नो परिवारलाई प्रहरीले अपहरण गरेको उनले बताइन् । प्रहरीले दुल्लु नगरपालिका–२ मा १५ दिनसम्म आँखामा पट्टि बाँधेर बुवालाई राखेको उनले भनिन्, ‘बुबालाई अपहरण गरेका थाहा पाएपछि हुम्लादेखि दैलेख आए । दुल्लुमा सांस्कृतिक कार्यक्रम थियो । म दुल्लु पुग्दा बुबालाई दैलेख पुर्याइसकेको रहेछ । दुल्लुको साँस्कृतिक कार्यक्रमबाटै एउटा गीत गाएको थिए । आज भोली हाम्रो गाउँमा शाही सेना आउँछन् रे, छोरी देखा भनि बाबुलाई राइफल देखाउँछन् रे’ भन्ने गीत गाए । सबै दर्शक रुनु भयो ।’
राज्य पक्षका सेनाले अञ्जनाका बुबालाई २०६२ सालमा अपहरण गरेर लिएपछि आफुलाई पार्टीले नै आत्मसमर्पण गर्न लगाएको उनले बताइन् । उनले भनिन्, ‘कमरेड तपाई पार्टी छोडेको बहाना गर्नुहोस् भनेपछि म माओवादी छोड्छु भने । उनीहरुले अबदेखि माओवादीमा नलाग्नु भनेर कागज गराए । मैले त्यतिबेला मात्रै प्रहरी सामु आत्मसमर्पण गरे । बुबालाई घर ल्याएँ । केही समयपछि बुबालाई बुटवल आफन्त कहाँ पठाए र फेरि माओवादीमा हिँडेको हुँ ।’
लडाइँको मैदानबाटै ‘कर्णाली भेरीका छाल...’
जनयुद्धकै बेला आशा हुम्लामा छ महिना बसेकी थिइन् । छ महिनासम्म हुम्लामा बसेर माओवादीसँगै हुम्लावासीको मनमा बस्न सफल भइन् । हुम्लामा अञ्जनाकै गीन सुनेर माओवादी युद्धमा धेरै लागेका छन् ।
हुम्लाबाट नेपालगञ्ज आएर ‘कर्णाली भेरीका छाल..’को निर्माण भएको हो । यो गीत अहिले पनि अञ्जना खड्का यूट्यूबमा छ । यो गीत रेकर्डपछि उनलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट निम्तो आउने गर्यो । पारिवारिक समस्याका कारण निम्तोलाई अस्वीकार गर्न पुग्थिन् ।
त्यतिबेलाको राज्य ब्यवस्थाका लागि लड्नुपर्छ भन्ने थियो । साँच्चिकै युद्धले सर्वहाराका लागि भएको उनको भनाइ छ । ‘युद्धमा जनकलाकारहरु एक ठाउँमा हुन्छन् भन्ने थियो । लाग्ने गरेको थियो यो युद्धपछि साँच्चिकै सर्वहाराका लागि राज्य स्थापना हुन्छ । जसमा हामी पनि राज्यकै कलाकार हुन्छु भन्ने थियो’ उनले भनिन्, ‘जनयुद्धमा गएर नत कलाकार नै बन्न सकियो । नत सुखसँग जीवन बिताउन नै ।’
सम्झिदा पछुतो लाग्ने गरेको उनको भनाइ छ । ‘जनयुद्ध जीवनमा प्रगतिको बाधक बन्न पुग्यो’ उनले थपिन्, ‘पारिवारिक समस्याले गर्दा बाहिर निस्किन सकिन । चुलोचौकोमै सीमित छु ।’
नेताले सर्वहाराका लागि भनिएको युद्धलाई विर्सिसकेको उनले बताइन्, ‘युद्ध परिर्वनका लागि थियो । समस्याका लागि होइन । अहिले गाउँमा समस्या उस्तै छ । महिलाहरुका पीडा पनि उस्तै छन् । महिलालाई कहाँ लिएर कहाँ छोडे कसैलाई थाहा छैन । हिजो परिवर्तनका कुरा गर्नेहरु आज महिलालाई बन्धक बनाएर राखेका छन् । र, बस्नु परेको छ ।’
युद्धमा सँगै हिँडेका शक्ति बस्नेतले समेत चिनेनन्
अहिले पनि अञ्जना माओवादीको एक कुशल कार्यकर्ता हुन् । आफु मात्रै नभएर आफु जस्तै जनकलाकार ओझेलमा परेको बताउँछिन्, ‘समय यस्तै पर्यो र माओवादीको सुर्खेत सम्मेलनमा आउने अवसर मिल्यो । सम्मेलनमा सँगै युद्धमा हिँडेका नेता शक्ति बस्नेतले समेत चिन्नु भएन । त्यतिबेला महसुश भयो म मात्रै होइन धेरै जनयुद्धका कलाकारलाई नेताहरुले बिर्सिसकेका छन् ।’
सुर्खेतको सम्मेलनमा गीत आउँदा कोही कमरेडले नचिनेको उनले गुनासो गरिन्, ‘मञ्चमा जाँदा कसैले चिनेनन । मञ्चमा पुगेर लडाइँका मैदानबाट कर्णाली भेरीका छाल गाएपछि शक्ति बस्नेतले तपाई अञ्जना बहिनी हो ? भन्नुभयो हो ? हो भने । जनकलाकारलाई नेताले बिर्सिसकेछन् भन्ने महसुस भयो ।’
‘माओवादीले कलाकारलाई बेवास्ता गर्यो’
१४ वर्षको उमेरमै गायन क्षेत्रमा युद्धमा होमिएकी अञ्जनाको १९ वर्षको उमेरमा युद्धमै विहे भयो । दैलेख भैरवी गाउँपालिका-७ पानीपोखरा बजारमा माओवादीको साँस्कृतिक कार्यक्रममा भुगोल कठायतसँग विहे भएको थियो ।
युद्धमा हिँडेका माओवादी नेताहरुलाई राहत मिल्यो । तर जसले गीतमार्फत जनलहर लगायो त्यसलाई बेवास्ता गरेको उनको भनाइ छ । त्यतिबेला रातो झण्डामा बसेर गीत गाउने कलाकार यतिबेला अभावै अभावमा भएको उनको गुनासो छ ।
युद्धमा होमिने अञ्जना कमरेड आशा प्रतिनिधि हुन् माओवादीले बेवास्ता गरेका कलाकार गाउँ-घरतिर कति छन् कति । यतिबेला अभावमा छन् । समस्यामा छन् । फेरि चुलोचौकोमा फर्किएका छन् । तर, माओवादीले समस्याको समाधान र यसको व्यवस्थापन गर्न सकेको छैन ।
जनयुद्ध के हो ? भन्ने पनि थाहा नपाएर १४ वर्षकै उमेरमा पार्टीका कार्यक्रममा थुप्रै गीत गाइन् । गीत गाउनकै लागि कर्णालीका दुर्गम बस्तीमा पुगिन् । जुम्लादेखि हुम्ला । हुम्लादेखि मुगु । मुगुदेखि डोल्पासम्म । उनका गीतकै कारण कयौं युद्धमा होमिए । परिवर्तनका लागि लागे । तर, उनी जस्तै कलाकारहरुलाई अहिले नेता चिन्दिैनन ।
र, पनि उनको गीत गाउने धोको अहिलेसम्म पुरा भएको छैन । अझै पनि गीत गाउने रहर पलाएको र आफ्नो आवाजलाइै दुनियाँ सामु सुनाउने उनको धोको छ । तर, पारिवारिक समस्या र घरको आर्थिक अवस्थाले उनको त्यो रहर रहरमै सीमित बन्न पुगेको छ । उनका गीत कितावकै पानामा थन्किएका छन् ।
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक )
यसभन्दाका अघिल्ला श्रृंखलाहरु पढ्न यहाँ क्लिक गर्नुहोस् ।