खलंगा : जुम्लाको कनकासुन्दरी गाउँपालिका – ७ कि ३५ वर्षीय नन्ददेवी विक विपन्न तथा एकल महिला हुन् । उनको साथमा तीन छोरी छन् । उनीहरुले मजदुरी नगरे बिहान बेलुका हातमुख जोड्न धौ–धौ पर्ने गरेको छ ।
पछिल्लो समय महामारी कोरोनाका कारण शहरदेखि गाउँसम्म बन्दाबन्दीको प्रभाव परिरहेकै छ । यस्तो बेला नन्ददेवी जस्तै विपन्नको परिवारलाई छाक टार्न धौ धौ भएको हो । काम गर्ने ठाउँहरु पनि बन्द छन् । यस्तो महामारीको बेला गरिब तथा विपन्नहरु चिन्तित बनेका छन् ।
नन्ददेवीको जस्तै कनकासुन्दरी–२ मालिकाबोता कि जलु विकको पनि छ । बन्दाबन्दीका कारण उनीहरुले मजदुरी गर्न पाएका छैनन । उनीहरु पनि घर परिवारको खर्च जोहो गर्न चिन्तित छन् ।
यसबीच उनीहरुको समस्यालाई मध्यनजर गरेर जुम्लामा सञ्चालित केही संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । ‘कोभिडमा राहत सामाजिक क्षेत्रको साथः परोपकारी मनले बढाउ सहयोगी हात’ जस्ता नारा तय गरेर विभिन्न कार्यक्रम लागु गरिरहेका छन् ।
सीवीएम नेपाल जुम्लाको आर्थिक सहयोगमा आइएनएफ नेपाल, राष्ट्रिय अपांग महासंघ, कर्णाली प्रदेश लगायतको संयुक्त आयोजनामा जुम्लाका कोरोना प्रभावित एकल महिला, गर्भवती, असाय बालबालिका, अपांगता भएका व्यक्ति लगायत गरिब तथा विपन्नलाई राहत वितरण गरेको छ ।
आइएनएफ जुम्लाका र समावेशी कोभिड–१९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीका अनुसार, राहत ३ चरणमा वितरण गरिएको हो । राहत दिने व्यक्तिको विवरण सम्बन्धित वडा र स्थानीयले संकलन गरेको चौधरीले जानकारी दिए ।
अघिल्लो पटकको बन्दाबन्दीमा अन्य संस्थाद्धारा वितरण राहतमा अनियमितता भएपछि यस पटक राहत दिएसँगै घरमै पुगेर अनुगमन गरिएको उनले बताए । राहत पाउनुपर्ने व्यक्तिले पाएको उनको दाबी छ ।
जिल्लामा कोभिडबाट एकल महिला र अपाङ्गता भएका व्यक्तिहरू बढी प्रभावित
जुम्लामा महामारीले असाय र एकल महिलालाई बढी प्रभावित पारेको छ । आइएनएफ नेपालले बिहिबार र शुक्रबार गरेको आयोजनामा संयुक्त अनुगमनबाट सार्वजनिक गरिएको तथ्यांकका अनुसार, तेस्रो लहरको महामारीले सबैभन्दा बढी असाय र उकल महिलालाई प्रभावित पारेको हो । विहिबार मात्रै आइएनएफ, स्थानीइ जनप्रतिनिधि, सञ्चारकर्मी, र अपांग पुर्नस्थापना तथा बिकास केन्द्रको उपस्थितीमा अनुगमन गरिएको थियो ।
कतिले पाए राहत ?
चन्दननाथ नगरपालिकाकाका १० वटै वडाहरुमा र र कनकासुन्दरीका विभिन्न वडाहरु गरेर ५ सय ४५ जनालाई राहत वितरण गरिएको छ । राहत स्वरुप ६० केजी चामल, दाल १५ केजी, तेल ५ लिटर, नुन १ केजी, चिनी ४ केजी प्रति परिवारलाई वितरण गरिएको हो । साथै जिरा, खुर्सानी, बेसार लगायत सरसफाइ गर्ने साबुन समेत वितरण गरिएको हो । उक्त वितरण चरणवद्ध रुपमा गरिएको हो ।
अपांग पुनःस्थापना तथा विकास केन्द्रकी उपाध्यक्ष कमला बुढाले कोरोना महामारीमा गरिब तथा विपन्नलाई सबैको हात साथको खाँचो रहेको बताइन् । वितरण गरेको राहतले थोरै भएपनि राहत मिल्न उनको भनाइ छ ।
यस्तै कनकासुन्दरी गाउँपालिकाका कावा अध्यक्ष शेरबहादुर रावतले यस्तो महामारीको बेला आ–आफ्नो ठाउँबाट सक्ने सहयोग गर्न अपिल गरे । उनले पालिकाका विभिन्न बस्तीमा पुगेर राहत वितरण गर्ने संघ संस्थाले पालिका हातमा हात दिएको बताउँदै धन्यवाद व्यक्त गरे ।