चैत ०२, काठमाडौँ । नागरिकलाई कोरोनाले संक्रमण गरेमा त्यसको उपचार नेपाल सरकारले गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार नागरिकको अभिभावक भएकाले कुनै पनि नेपाली जनतामा कोरोनाको संक्रमण देखिएमा त्यसको उपचार सरकारले गर्ने उनले बताएका हुन् ।
सञ्चार माध्यमहरुमा आएका आफ्नो अभिव्यक्तिको खण्डन गर्दै उनले अभिव्यक्तिको रक्षा गर्दै आफूले बताएको कुरालाई पत्रकारले समाचार लेख्दा अर्कै लेखिदिएको उनको गुनासो छ ।
उनले केही दिनअघि एक कार्यक्रममा आफूले जनता आफैँले कोरोनाको संक्रमणबाट बच्न सचेत हुन आग्रह गरेको मात्रै बताए । ‘कोरोना संक्रमणबारे सरकारका तर्फबाट मैले आम रुपमा अपिल गरेको हो। कोरोना संक्रमितलाई सरकारले हेर्दैन भनेको होइन,’ उनले भने, ‘सरकार अभिभावक हो सबैको सुरक्षा गर्छ ।’
चीनको वुहानबाट १ सय ७५ जनालाई सरकारले नै नेपाल ल्याएको र १४ दिन खरिपाटी क्वारेन्टाइनमा राख्दा सबै व्यवस्था सरकारले नै गरेको उनको भनाइ छ । भने, ‘राष्टिय युवा संघको साथीहरू ध्यानाकर्षणका लागि ८ बुँदे पत्र बोकेर आउँदा मैले त्यसो भनेको थिए, समाचारको शीर्षकमा मात्रै त्यस्तो छ, भित्रको समाचार अर्कै छ ।’
मन्त्र ढकालले सरकारको पहिलो उद्देश्य नेपालभित्र कोरोना प्रवेश भन्ने रहेको उनको भनाई छ । संक्रमणबाट जोगिन सर्वसाधरणसहित सबैले एकअर्कामा हात, गला नमिलाउने, निश्चित दूरीबाट नमस्कार गर्ने, साबुन पानीले राम्रोसँग हात धुने, खानेकुरामा पनि आवश्यक सावधानी अपनाउने र भीड हुने ठाउँमा नजाने जस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्यमन्त्री ढकालले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको बताए । ‘हामीसँग करिब १ सय ७० आईसीयू सञ्चालनमा छन् । काठमाडौं उपत्यकाभित्र १ सय २० र काठमाडौं बाहिर १ सय १५ गरी २ सय ३५ आईसीयू तत्कालै व्यवस्था गर्ने काममा हामी जुटिसकेका छौ।’ मन्त्री ढकालले भने, ‘१ सय ५५ वटा आइसोलेटेड बेडहरु अहिले तयारी अवस्थामा छन् ।’