काठमाडौं : तुलोमा कर्णालीका नेतालाई जोख्दा उनीहरु कहिल्यै पनि भिन्न देखिएनन । लोकका दृष्टिमा एउटै देखिए । र, छन् । अर्थात् ‘राजनीति फोहोरी खेल हो’ भने जस्तै फोहोरमा पुगेका छन् । यसको मैदानमा कर्णालीका धेरै नेता छन् ।
यसैलाई नै आधार मानेर चर्चा गर्दा फोहोरमा डुबेरकाहरुले फोहोर सफा गर्ने कि फोहोरमै समाहित हुने ? बेला–बेला परिक्षा भइरहेको छ ।
कर्णालीमा भोक छ । रोग छ । अभाव छ । अशिक्षा छ । बेरोजगारी छ । दुःख छ । दर्द छ । यसलाई नै वर्षौ वर्षदेखि चुनावी नारा बनाएर राजनीति गर्ने नेता छन् । पार्टी छन् ।
कर्णालीमा सत्ता छ । शक्ति छ । यो हुँदा हुँदै पनि कर्णालीको दुःख र दर्द किन ज्युँका त्युँ छ ? यसको जवाफ कसले दिने ? कर्णालीवासीले जवाफ खोजिरहेका छन् ।
संघीयतापछि कर्णालीमा विभिन्न सरकार बने । गाउँदेखि नगर । नगरदेखि प्रदेशसम्म । तर, तिनै सरकारले जनताको जीवनस्तर उकास्नमाथि किन खेलवाड गरिरहेका छन् ? यसको आशय के हो ? कि सधैं कर्णालीलाई भोक र रोगको ट्याग भिडाएर नेता र नेताका आसेपासेहरु मोटाउने हो ? कर्णालीको समस्यातर्फ नेताको ध्यान कहिले जान्छ ? यी प्रश्नहरु बेला–बेला उठ्छन् फेरि बस्छन् ।
कर्णाली सरकारमाथि बेलाबखत तेर्सिएका प्रश्न र नपाइएको जवाफ
कर्णाली सरकार करिब तीन वर्ष माओवादीले चलायो । अहिले गठबन्धनसहित नेपाली कांग्रेसले चलाइरहेको छ । अघिल्लो सरकार र नेतामाथि तेर्सिएका प्रश्नको जवाफ नदिएरै माओवादीले सरकार कांग्रेसलाई हस्तान्तरण गरेको तीन महिना भयो ।कांग्रेस नेतृत्वको सरकारमाथि पनि उस्तै प्रश्नहरु तेर्सिएका छन् ।
तीन महिनादेखि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको एक्लो हिँडाइ गजबकै छ । अहिले मुख्यमन्त्री जीवन शाहीको काम भनेको कहिले मन्त्रीविहीनका मन्त्रालय अनुगमन गर्ने त कहिले मास्क खोई अभियान शुभारम्भ गर्ने बनेको छ । शनिबार मात्रै राजधानी वीरेन्द्रनगरमा सस्तो प्रचारका लागि ‘तपाईको मास्क खोई ?अभियान शुभारम्भ गरे ।
मुख्यमन्त्री जीवन शाहीलाई यो पनि थाहा होला, हुम्लाका दुर्गम गाउँ-घरमा महामारीले कस्तो असर पारेको छ ? कति विपन्न परिवारलाई बिहान बेलुका हातमुख जोड्न धौ–धौ भएको छ ? उनीहरुको दर्द कस्तो छ ? ती गाउँ बस्तीहरुमा ‘तपाईको मास्क खोइ ?’ भनेर सोध्ने मान्छेहरु पुगे कि पुगेनन ? घरमा मुठी चामल छ कि छैन ? भनेर सोध्न पुगे कि पुगेनन ? मुख्यमन्त्री र उनको सचिवालयलाई थाहा नभएको अवस्था छ ।
सरकारलाई पूर्णताको कुरा त परको हो जीवन शाहीको सचिवालयले समेत पूर्णता पाएको छैन । सोझो तयारीकाबाट भन्दा जीवन शाहीले नेतृत्व गरेको सरकारमा ‘आऊँ मिलेर खाऊँ’ भन्न समेत सकेका छैनन । अनि, दुर्गमको दर्द उनलाई थाहा हुन्छ ? हुँदैन ।
जीवन शाहीले मुख्यमन्त्रीको कुर्सी हत्याएको तीन महिना भयो । तर, देखाउने खाल्का तीन काम पनि गर्न उनलाई मुस्किल छ । सय दिनको उपलब्धी सार्वजनिक गर्दा नत सरकारको पुर्णता नत महामारीविरुद्धको गतिलो योजना ।
यस्तो तरिकाले निकम्मा सरकार चलाउने हो भने मुख्यमन्त्री जीवन शाहीले कुर्सीको दाम्लो किन समात्नु पर्यो ? गर्छु भन्ने एमालेका नेता यामलाल कँडेल छन् । दिए भयो नि !
अरु बाँकी को छ र ? कर्णालीवासीले माओवादी नेतृत्वको सरकारको काम पनि हेरे । कांग्रेस नेतृत्व सरकार हेरिरहेका छन् । बाँकी कर्णालीवासीले यामलाल एमालेले नेतृत्व गरेको सरकार हेर्न बाँकी छ ।
महेन्द्र सरकारलाई अपराधीको ट्याग भिडाएर यामलाल कँडेलले बेलाबखत सरकारको नेतृत्व गर्छु भनिरहेकै छन् । त्यो पनि चोकदेखि चोकसम्म । उनले सडकमा भाषण गर्छन् ‘कर्णाली सरकार जनताको हितका लागि होइन यो त गठबन्धन र केही व्यक्तिको स्वार्थले चलिरहेको असफल सरकार हो’ हुन पनि हो अघिल्लो महेन्द्र माओवादी सरकारलाई विश्वासको मतदेखि ओली प्रतिगमन मुर्दावाद भन्नै ठिक्क भयो ।
यो सरकार पनि त्यसरी नै अगाडि बढेको छ । जसरी केन्द्रमा असफल देउवाको नेतृत्व छ त्यसरी नै कर्णालीमा किन ? आखिर कहिलेसम्म ? यो प्रश्नको सोधखोज गर्न पाउनु सबैको अधिकार हो । यामलालको पनि छ । यामलालको अधिकार त झन् बढी छ । यसकारण ! कि उनीहरूको पार्टी र उनी कर्णालीमा प्रतिपक्षी छन् ।
त्यसैले यामलालले बेला–बेला भन्ने पनि गरेकै छन् असफल सरकार । अपराधिक सरकार । अर्का सरकारलाई असफल भन्नुको पछाडि त्यो अक्षम छ हामी सक्षम छु भन्नु हो । त्यसैले पनि सफल सरकार चलाउने यामलालको सपना छ ।
यहाँसम्म आइसकेपछि यामलाल कँडेलको कामबारे पनि अलिकति चर्चा गरौं कि ! यामलाल कँडेल यस्ता व्यक्ति हुन् उनले अहिले पनि कर्णालीको मुख्यमन्त्री बन्ने सपना देख्ने गर्छन् । सपना किन नदेख्ने ? आफ्नो पार्टीको बहुमत हुँदा हुँदै ।
किनकी कर्णाली सरकार भित्र उनकै पार्टी एमालेको बहुमत छ । गठबन्धन नभएको भए यामलाल कँडेलकै नेतृत्वमा उहिले सरकार गठन हुन्थ्यो आजको कुरा होइन । यामलाल कँडेलले मुख्यमन्त्रीका लागि के पो गरेनन ? नेकपामा हुँदा आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए । कसैलाई सदनमै अपराधी भने । सबथोक गरे पनि सत्ता उनको हातमा भएन । जसकारण उनीहरु प्रतिपक्षीमा थन्किएका छन् ।
यति भनेपछि गठबन्धनको किचलो पनि के कम ? मन्त्रीकै लागि गठबन्धन सरकार असफल बनाउनसम्म भ्याउँछन् । केन्द्रको जस्तै सत्ता गठबन्धनमा कर्णालीमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादी छन् । माओवादीबाट एकजना मन्त्री । एसबाट एक जना मन्त्री छन् । कांग्रेसबाट त मुख्यमन्त्री नै छन् । उनीहरुको आन्तरिक किचलोका कारण तीन महिनादेखि सरकारले पूर्णता नपाएको साँचो हो ।
केही दिनअघि मात्रै मुख्यमन्त्री जीवन शाहीले पत्रकार सम्मेलनमा सानो मन्त्रीपरिषद् भएपनि तीन महिना अघिनै विस्तार गर्ने भनेको बताए । यति मात्रै होइन उनले, ‘गठबन्धनका नेताले हामी एक्लै गएका हौं । तपाई पनि एकलै जानुहोस् ।’ भनेको बताए ।गबन्धनको मन्त्रालय फुटाएरै भएपनि भागबन्डा बराबर हुनुपर्छ भन्ने छ मुख्यमन्त्रीले भने, ‘बरु म आफु सरकार बाहिर जान तयार छु । मन्त्रालय फुटाउन तयार छैन ।’
गठबन्धन भित्र नमिलेको चाँजोपाँजो...
कर्णाली गठबन्धनमा तीन दल छन् । कांग्रेस, एकीकृत समाजवादी र माओवादी । यसमध्ये कांग्रेस मन्त्रालय नफुटाउने निर्णयमा छ । मन्त्रालय फुटाउने निर्णयमा को चाँहि छ ? एकीकृत समाजवादी हो ? होइन । एकीकृत समाजवादीले महेन्द्र शाही नेतृत्वकै सरकारमा तीन मन्त्रालय पाएको थियो ।
जसमध्ये उद्योग, पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार, भूमि व्यवस्था गरेर तीन मन्त्रालय पाएको थियो । जीवन सरकारमा पनि महेन्द्र सरकारको जस्तै एकीकृत समाजवादीले दाबी गरेको छ ।
यद्यपी एकीकृत समाजवादीले एक मन्त्रालय पाएर पनि काम कारबाही सुरु गरिसकेको छ । यस हिसाबले पनि मन्त्रालय फुटाउने योजनामा एकीकृत समाजवादी पनि छैन ।
एकीकृत समाजवादी र कांग्रेस मन्त्रालय नफुटाउने निर्णयमा पुगेको हो । बाँकी रह्यो माओवादी ।
मन्त्रालय फुटाएरै भएपनि माओवादीका १२ जना सांसदलाई नै मन्त्रीपद चाहिएको हो ? होइन अनि, बिनाकामको मन्त्रालय फुटाएर किन रमिता देखाउने ? भएका मन्त्रालयमा मन्त्री खाली छन् । मन्त्रालय फुटाएर के गर्ने ?
साँच्चै माओवादीको ध्येय कांग्रेस नेतृत्वको सरकारलाई असफल बनाउने हो ? होइन भने गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेर भागबन्डा मिलाउन माओवादीले किन रोकेको छ ?
कांग्रेसलाई असफलको ट्याग दिने माओवादीको दाउ
कर्णाली सरकारको आवश्यक छलफल गर्ने जिम्मा माओवादीले पाएको छ । तर, मन्त्रालय फुटाएरै भए पनि चार मन्त्रालय पाउनुपर्छ भन्ने अडान पनि माओवादीकै छ । यदि चार मन्त्रालय नदिए गठबन्धनबाट बाहिर जाने हल्का रुपमा संकेत तर चेतावनी दिइरहेकै छ ।
कांग्रेस पनि के कम अझै दुई मन्त्रालयको दाबी गरिरहेको छ । कांगेसले यो बुझ्न जरुरी छ कि ! ‘माओवादीले असफल सरकारको ट्याग भिडाएर चुनावमा नारा तय गर्छ’ । माओवादी त्यो दाउमा छ । उसो त कांग्रेस नेतृत्वको असफल सरकार फेरि सत्तारूढ दलबाटै असफल भन्न बेर छैन ।
केन्द्रमा पनि गठबन्धनको डोरी होलो बन्दै गएको छ । भलै केपी ओलीका डरले नटुट्ला होलो भने बन्दै गएको छ । प्रदेशको स्थिती पनि त्यहीँ हो । होलो बन्ने पक्का हो । यसकारण माओवादी गठबन्धनबाट बाहिरिने जस्ता तर्फ गरिरहेको छ । कांग्रेसलाई चार मन्त्रालय फुटाएरै भए पनि पाउनुपर्ने माओवादीको बल छ । यसै अनुरुप माओवादीले हल्का सुझाव दिए पनि चेतावनीका रुपमा दिइरहेको छ ।
कांग्रेसलाई किन चाहियो तीन मन्त्रालय ?
कांग्रेसले तीन मन्त्रालयको दाबी गरिरहेको छ । त्यो पनि मुख्यमन्त्रीसहित । आफु नेतृत्वको सरकारलाई सफल कसरी बनाउने तर्फ होइन मन्त्रालय दाबी गर्नतर्फ कांग्रेस पनि लागेकै छ । माओवादीले असफल बनाउने जाल बुन्दा कांग्रेसले सुइको थाहा नपाएर मन्त्रालय दाबी गरिरहेको छ ।
यदि कांग्रेस मन्त्रालय दाबीमा लागेपछि सरकार असफल मात्रै होइन महासफल बन्छ । त्यसैले पनि मुख्यमन्त्री पाएको कांग्रेस केही महिना भए पनि सफल सरकारका रुपमा चिनाउनका लागि मन्त्रालय दाबी गर्नु उचित देखिदैन ।
शीर्ष नेताहरुसँग छलफल गरेर मुख्यमन्त्री जीवन शाहीले सरकार पूर्णतासँग आवश्यक काम कारबाही सुरु गर्नु उचित हो ।
उसो त राजनीतिमा भविष्यवाणी गर्न सकिदैन कति बेला के हुन्छ भनि । कर्णालीका नेताहरुको चित्र एउटा हुन्छ । चरित्र अर्को । चित्रमाथि भाषण गर्छन् । चरित्रमाथि शासन गर्छन् । त्यसैले सत्ता र शक्तिमा पुगेपछि चरित्रले चित्रलाई हत्या गरिरहेको हुन्छ । र, छ ।