बलेवाः जिल्ला भजन समिति बागलुङले परम्परागत लोक भजन संरक्षणका लागि वाद्यवाधन जोहो गर्ने अभियान थालेको छ । स्थानीय भजनको संरक्षणका लागि आवश्यक वाद्यवाधनका सामग्री जुटाउन समितिले आर्थिक सङ्कलन अभियान समेत थालेको हो ।
तत्काल वाद्यवाधनका सामग्रीको अभाव भए पनि पुराना लोक भजन बचाउनका लागि प्रशिक्षण केन्द्र नै स्थापना गरी अभियान सुरु गरिएको जिल्ला भजन समितिका संयोजक टेकबहादुर केसी ‘सङ्गम’ले जानकारी दिए । पुराना र नयाँपुस्तालाई जोडेर भजनको संरक्षण अभियान थालिएको उनले बताए । “बागलुङमा गाउँअनुसार धेरै लय र भाकाका राम्रा भजन छन्”, केसी भन्छन, “यी सांस्कृतिक सम्पत्तिको संरक्षण हामीले नगरे कसले गर्छ ? त्यसैले लोक भजनको संरक्षणमा लागेका छौँ ।”
समयमा अभियान नचलाउने हो भने मौलिक लय र भाकाका पुराना भजन हराउनबाट जोगिने उनको तर्क छ । भजन संरक्षणका लागि आवश्यक वाद्यवाधन जुटाउनका लागि देश–विदेशमा सहयोग सङ्कलन अभियान स्वःस्फुर्त सञ्चालन भइरहेको केसीले जानकारी दिए । “तत्काल हामीलाई चाहिएको स्वरयन्त्र हो, अन्य सामग्री हामीसँग छन्”, केसीले भने, “रु तीन लाख आवश्यक बजेट हो, दुई लाख जति सङ्कलन भइसकेको छ ।” अमेरिकालगायतका तेस्रो मुलुक र नेपालमा पनि युवाहरूले समितिको अभियानमा साथ दिएको उनले बताए ।
“हामीसँग कला, संस्कृति छ, सङ्ग्रह गरेर राख्ने र प्रचार गर्ने गरेका छैनौँ”, उनी भन्छन, “ हाम्रो अभियान कला र संस्कृति अरुलाई देखाउने र सिकाउने हो ।” भजनलाई पछिल्लो समय व्यावसायिकरूपमा अगाडि बढाउने विभिन्न प्रयास भएको उनले जानकारी दिए । केही कलाकारले भजनबाटै जीविकोपार्जनका लागि मेहेनत पनि गरेका छन् । भजनलाई व्यावसायिकरूपमा अगाडि बढाउन शब्द चयनदेखि पुराना लय र भाका भुल्न नहुने समितिका सल्लाहकार दुर्गाबहादुर आचार्यले बताए ।