जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ । अस्पताल निर्देशक राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार, ३० स्वास्थ्यकर्मीसहित ५२ जनालाई कोरोना संक्रमण भएको छ । बुढाले भने, ‘लक्षण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सबैलाई परीक्षण गराउने हो भने बढीलाई नै संक्रमण पुष्टि हुन्छ । अस्पताल प्रभावित भएकाले सतर्कता अपनाइरहेका छौं ।’
प्रतिष्ठानले गरेको पीसीआरबाट १५ जना र एन्टिजेन ३७ बाट जनामा संक्रमण देखिएको हो । कोरोनाको तेस्रो लहरमा १सय ७ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा एन्टिजेनबाट ९० जना र पीसीआरबाट १७ जनामा परीक्षण गरिएको बताइएको छ । त्यस्तै प्रतिष्ठानको आइसोलेशनमा चार जना उपचाररत छन् ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले स्वाथ्यकर्मीको अवस्था बुझेर तत्काल विपद् बैठक बस्ने बताइन । उनले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य सेवानै प्रभाविकत हुने भन्दै उनीहरुको अवस्था बुझ्ने प्रजिअले बताइन ।
जुम्लामा संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । जसमध्ये ४ सय ६३ जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै दोस्रो लहरको संक्रमण जुम्लामा २०७८ वैशाखदेखि देखिएको हो ।
३ हजार ८ सय २१ जनाको पीसीआर परीक्षण मध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षण मध्ये ४ सय ५६ जना संक्रमित भएका थिए ।
जम्मा १ हजार ६ सय ८० जना संक्रमित मध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् । पूर्ण डोज लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन् ।