खलंगा : जुम्लामा महामारीविरुद्ध जुट्न सरोकारवालालाई आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति लगायत विपद सम्बन्धी कामगर्ने निकायहरु स्वास्थ्य सामग्रीदेखि अन्य तयारीमा जुट्न आग्रह गरिएको हो ।
जुम्लामा स्वास्थ्य सामग्रीको अभाव भएपछि अन्य गैससलाई पनि सहयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाइले बताइन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रजिअको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य लगायतका महामारीविरुद्ध जुट्ने सामग्रीको व्यस्थापन गर्न सरोकारवालाहरुलाई अनुरोध गरिएको हो ।
अस्पतालहरुमा अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, पीपीइ लगायतका स्वास्थ्य सामग्रीको अभाव भएकाले गैरसरकारी संस्थाहरुलाई सहयोग गर्न अनुरोध गरिएको हो ।
विपद्का क्षेत्रमा काम गर्दै आएका संस्थाहरु आइएनएफ नेपाल, पेस नेपाल, किर्डाक नेपाल, सेडा नेपाल, क्याड नेपालसहितका संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
जिल्ला समन्वय समितिका कावा प्रमुख कार्मा बुढाले संकटको अवस्थामा सबैले हात दिनुपर्ने बताए । अन्य संघ संस्थाहरुलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।
पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सामग्रीको अभाव भएको प्रशासनमा जानकारी आएको प्रजिअले बताइन् । यो महामारीलाई परास्त गर्न सबै सरोकारवाहर जट्नु पर्ने उनको दाबी छ ।