काठमाडौं : तीन महिना भयो कर्णालीमा कांग्रेसले सत्ता सम्हालेको । तीन महिनासम्म मुख्यमन्त्री जीवन शाहीले एउटा ‘क्लब’ जसरी चलाइरहेका छन् । बहुमतका हिसाबले उनीसँग अधिकार छैन । केवल आग्रह मात्रै उनको शक्ति हो । तर एमालेको सत्ता आशक्तिले मुख्यमन्त्रीको बल जीवन शाहीको हातमा परेपछि उनले भाग्य बदले ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनाएको सरकारको नेतृत्व गर्ने अवसर उनले पाएका छन् । जुन केन्द्रीय गठबन्धनको एक हिस्सा समेत बन्यो । केन्द्र जस्तै कर्णालीमा पनि सत्तारुढ गठबन्धन नेतृत्वको सरकार किन असफल बन्योत ? यसका पछाडि केही सत्ताको स्वार्थ र केही गुटगतराजनीतिको असर सतहमा देखिन्छ । जसका एक हिस्सा हुन्, शक्ति बस्नेत ।
शक्ति, माओवादी केन्द्रको कर्णाली प्रदेश इन्चार्ज हुन् । सत्ताको नेतृत्व कांग्रेसले गरेपनि आन्तरिक व्यवस्थापनमा उनको भूमिका ठूलै छ । तर उनको भूमिका यति निरीह देखिन्छ कि कुरा गर्दा पनि कुरैको दुःख जस्तो छ ।
एउटा ठुलो पार्टी जसको जिम्मेवार व्यक्ति भएपछि सरकारलाई कसरी व्यवस्थापन गर्ने ? जनतासामु कसरी काम देखाउने ? सरकार कसरी सफल बनाउने ? उनकै हातमा हुनुपर्ने हो । अर्थात् शक्तिकै हातमा । तर उनको हातमा अहिले केही पनि छैन । भएपनि केही नभएको जस्तो देखिन्छ ।
तीन महिनासम्म आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्न सक्दैन । सरकारलाई पूर्णता दिन सक्दैनन् । यो भन्दा असफलता र निरीहता अरु के हुन सक्छ ? यसलाई मुख्यमन्त्रीतिर मात्रै दोष देखाएर आफू पन्छिने माओवादी झुट दाबीलाई छाड्ने हो भन्ने शक्तिका केही कमजोरी र असफलताका कारण खुट्याउनुपर्छ । जसलाई तीन कारणमा हेरौँ :
पहिलो कारण, सत्ताको साथी बन्न नसक्नु : अघिल्लो सरकारबाटै चर्चा गरौं । जतिबेला, महेन्द्र शाही नेतृत्वको माओवादी सरकार ढल्लै लागेको थियो । एमाले सत्ताको ढुकेसोमा थियो । यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चित जस्तै थिए ।
तत्कालिन १९ जना सांसद र सभामुखसहित महेन्द्र सरकार ढाल्ने मैदानमा यामलाल उत्रिसकेका थिए । यामलालको त्यस कार्यविरुद्ध कांग्रेस संसदीय दलका नेता जीवन शाही जाल बुन्न सुरु गरे । अर्थात् ‘उनीहरुको सत्ता छ शक्ति छ हामी तटस्थ बस्छु’ भन्ने जीवन शाही माओवादीलाई हातसाथ दिन पुगे । ढल्नै लागेको सरकार जोगाउन बल दिए । सहयोग गरे । सहकार्य गरे । ‘फ्लोर क्रस’को योजना बुने । र, सरकार जोगाउन सहयोग गरे । अन्ततः महेन्द्र नेतृत्वको ढल्नै लागेको सरकार ठाँडियो ।
सत्ता र शक्तिका लागि एउटा राजनीतिज्ञले निभाउनु पर्ने धर्म निभाउनुपर्छ । त्यतिबेला जीवन शाहीले पनि आफ्नो धर्म निभाए । छ महिनापछि सत्ता सहकार्य गर्ने सम्झौतापछि माओवादीलाई कांग्रेसले बल दिएको थियो । सरकार जोगाइदिएको थियो ।
त्यतिबेला जीवन शाहीले माओवादीलाई यतिसम्म विश्वास दिलाए कि तत्कालिन एमालेबाट प्रकाश ज्वालासहितका सांसदलाई एउटा होटेलमा राखेर ‘फ्लोर क्रस’ योजना बुनेर सरकार जोगाउने सर्तको कागजमा हस्ताक्षर गरे । त्यस्तो विश्वास दिएका जीवन शाहीलाई माओवादीले छ महिनापछि सत्ता सहकार्य गर्ने योजनामा होइन छैन भन्न पुग्यो । त्यो पनि शक्ति बस्नेतकै नेतृत्वमा ।
तत्कालिन शक्ति बस्नेतको अध्यक्षतामा सुर्खेतमा बैठक बसेर कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय समेत गरे । केन्द्रलाई निर्णण पठाएर माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह समेत गरे । जुन, राजनीतिक रुपमा एक अपराध थियो ।
सत्ता सहकार्यका विषयमा लामै लडाइँ चल्यो । पछि आएर कांग्रेसले सत्ता सहकार्य नगरे ‘माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’ भनेर चेतावनी दिएको दुई दिनमै माओवादीले सत्ता कांग्रेसलाई सुम्पियो । अर्थात् जीवन शाही मुख्यमन्त्री बने ।
त्यतिबेला माओवादीका नेता कार्यकर्ताले खुब नैतिकताका गफ गरे । सामाजिक सञ्चाल तातियो । माओवादी नैतिकता र विश्वासको धरातल भुल्दैन समेत भने । त्यो भन्नेलाई यो थाहा थिएन कि कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकार स्वतः ढल्छ ।
नैतिकता र विश्वासका गफ चुट्ने माओवादी नेतालाई चेतावनी दिएपछि मात्रै सरकार हस्तान्तरण गर्नुपर्छ ? सम्झौता अनुसार सत्ता हस्तान्तरण गर्नु पर्दैन ? माओवादीले कांग्रेसको त्यतिबेला विश्वास गुमाउनु पर्यो । त्यो पनि शक्ति बस्नेतकै कारण थियो ।
सत्ता हस्तान्ततरण गरे पनि आज–आज भोली–भोली भन्दै माओवादीले नै सरकार पूर्णतादेखि आवश्यक काम कारबाहीमा बन्देज लगाएको बुझिन्छ । जसकारण कर्णालीको मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन । जीवन शाही नेतृत्वको सरकार असफल घोषणा गर्न मात्रै बाँकी छ । सत्ता सहकार्यका नाममा माओवादीले भित्र–भित्रै कांग्रेस नेतृत्वको सरकार असफल बनाउन योजना स्पष्ट बन्दै गएको छ ।
दोस्रो कारण, माओवादीभित्रै पेलानमा : यसलाई शक्ति बस्नेत र जनार्दन शर्माको गुटबाटै चर्चा सुरु गरौं । जनार्दन शर्मा कर्णालीको इन्चार्ज हुँदा आफ्ना भाइदेखि बुहारीसम्म मन्त्री बनाउन भ्याएँ । शक्ति गुटबाट मन्त्री बन्न पुगेकाले शपथ नखादै होटेलतिर लाग्नुपर्ने स्थिती सिर्जना भयो ।
यतिबेला शक्ति बस्नेत इन्चार्ज भएका कारण ‘आफ्नै गुटका मान्छे मन्त्री हुनुपर्छ’भन्ने शक्तिको दाउ छ । शक्तिको त्यो दाउ जनार्दनका अगाडि केही होइन । यता ‘आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्छ’ भन्ने जनार्दनको दबाब छ ।
मुख्यमन्त्री जीवन शाहीले पनि शक्तिभन्दा जनार्दन शर्मालाई बढी विश्वास गर्न पुगेका छन् । अर्थात् मुख्यमन्त्री जीवन शाहीले शक्ति बस्नेतलाई ‘यस्ता पनि इन्चार्ज हुन्छन् र ?’ भन्न मात्रै नसकेका हुन् ।
प्रधानमन्त्री शेरबहादुरले कर्णाली सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न र आवश्यक निर्णय लिन कर्णालीकै नेतालाई जिम्मा दिए । कांग्रेसको नेतृत्वमा सरकार भएपनि सरकारको डाडु–पनिउँ माओवादीकै हातमा छ ।
यसकारण माओवादी कर्णाली सरकारमा सामेल गठबन्धन भित्रको ठुलो दल हो । यसले आफ्नो पार्टीबाट गर्नुपर्ने निर्णय तत्काल गर्नुपथ्र्यो ।
तर, शक्ति र जनार्दनको गुटले गर्दा पार्टी भित्रै मन्त्रीको सिफारिसदेखि आवश्यक निर्णय भएका छैनन । जसको कारण माओवादीकै सांसदले कांग्रेसलाई बनाइरहेका छन् । यसभित्रको माओवादीको ध्येय भनेको कांग्रेसलाई असफल सरकार घोषणा गरेर चुनावी मैदानको नारा तय गर्नु हो ।
तेस्रो कारण, प्रकाश ज्वाला कर्नरमा : यसलाई यसरी चर्चा गरौं कि कर्णालीमा दुई दल मिलेर वास्तै गरेका छैनन । एमालेबाट विद्रोह गरेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका कर्णाली प्रदेश सभामा तीन जना सांसद छन् । जसमध्ये एक जना मन्त्री भइसके ।
मन्त्रीकै लागि एमालेबाट विद्रोह गरेकी रुकुम पश्चिमकी सांसद देवी ओली र जुम्लाका सांसद पदमबहादुर रोकायले मन्त्री पदको ढुकेसो नै गरेका छन् । केही दिन अघि मात्रै सम्पन्न प्रदेश सभाको बैठकमा मन्त्रीपरिषद् विस्तार नहुँनुको कारण असफल सरकार भएको संज्ञा दिए ।
कर्णाली सरकारमा समाजवादीले तीन मन्त्रालयको दाबी गरेको छ । महेन्द्र सरकारको पालामा तीन मन्त्रालय पाएको समाजवादीले जीवन सरकारको पालामा पनि तीन मन्त्रालयको माग गरेको हो ।
समाजवादीलाई तीन मन्त्रालय दिने मनसायमा माओवादी पनि छैन र कांग्रेस पनि । सरकार जोगाउनदेखि यामलाललाई सडकसम्म पुर्याउने जिम्मा लिने समाजवादी अहिले मन्त्रालय कम दिने ? भन्ने समाजवादीको दाबी छ । समाजवादीलाई माओवादी र कांग्रेस मिलेर मिचेका छन् ।
पहिला बेला–बेला बैठक गर्ने, आवश्यक निर्णय गर्ने, भेटघाट गर्ने महेन्द्र शाही र जीवन शाही अहिले समाजवादीका नेता प्रकाश ज्वालासँग कमै भेट हुने गरेको छ । अर्थात् तीन महिनाको एक पटक । जसकारण समाजवादीसँग गठबन्धनका आवश्यक निर्णयहरु हुन सकेका छैनन ।
यी तीनवटै कारणले शक्ति बस्नेत सत्ताको ‘माइक्रो म्यानेजमेन्ट’ गर्न असफल देखिएका छन् । केन्द्रमा प्रचण्डको आशीर्वादले महासचिव बन्ने दाउ हेरिरहेका शक्ति बस्नेतलाई पहिला आफ्नो जिम्मेवारी पूरा गर्ने फूर्सद देखिदैन । तर केन्द्रीय महासचिव बन्ने सपना पालिरहेका छन् ।
यसले उनी सत्ता र शक्तिका जति भोका देखिन्छन्, त्यसलाई मैदानमा जिम्मेवारी पूरा गर्न लापरबाही गर्छन् । त्यसमाथि समकालनी नेताहरु जनार्दन शर्मा, वर्षमान पुनभन्दा पनि अगाडि जाने सोच राख्ने नेताले जनता र आफ्नै कार्यकर्तामाथि यति धेरै ‘राजनीतिक अपराध’ गरेको सुहाउँदैन ।
किनकी जनताले कर तिरेर राज्य चलाउ भनेका छन् । कार्यकर्ताले ज्यानको बलिदानै भएपनि हरसम्भव साथ दिएका छन् । तर पनि समय र पालो आएको बेला त्यसलाई अवसरमा बदल्ने नेता हुन सक्दैन । नेतृत्व गर्न सक्दैन । नेताको साथमा निरीहता हुनु भनेकै समस्या हो । असफलता हो । त्यो समस्या र असफलताका पर्याय शक्ति बस्नेत बनेका छन् ।