सिमकोट : देशभर सिटामोलको समस्या भएको कुरा बाहिर आइरहको बेला हुम्लामा भने त्यसको मौज्दात राम्रो देखिएको छ । समयमै स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाहरुले सिटामोल खरिद गरेको कारण जिल्लाभरि नै मौज्दात राम्रो देखिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले हाल कार्यालयको भण्डार कक्षमा एक लाख ट्याब्लेट सिटामोल मौज्दात रहेको जानकारी दिए । उनले कोरोना सङ्क्रमणका लागि प्रयोग हुनेदेखि सबै खाले सिटामोलको अवस्था राम्रो भएको कारण कुनै समस्या नहुँने बताए ।
कोरोनाका बिरामीलाई समेत उपचारमा प्रयोग हुने सिटामोलको कुनै कमी हुन नदिने कार्यालयले जनाएको छ । जिल्लाका सात वटै गाउँपालिकाले माग गरेका आधारमा जनसंख्यादेखि वितरण गरेको समेत कार्यालयले गरेको जनाएको छ ।
कार्यालयले सिटामोलको मौज्दात राम्रो भएको कारण गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा आवश्यकता हेर्न सकिने जनाइएको छ । यता उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संयोजक ग्याछो लामाले शाखामा छ हजार र गाउँपालिकाका अन्य वडाका दश वटा स्वास्थ्य संस्थामा तीन महिनाका लागि पुग्ने सिटामोल तयारी अबस्थामा रहेको जानकारी दिए ।
त्यसैगरि चंखेली गाउँपालिकाले बाह्र हजार, ताँजाकोट गाउँपालिकाले दश हजार, अदानचुली गाउँपालिकाले दुई हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको जनाएका छन् । यद्यपि अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंश महताराले कोरोना सङ्क्रमणका बिरामीका लागि आबश्यक पर्ने प्यारा सिटामोलको भने कमी रहेको जनाए ।
उनले बीस हजार ट्याब्लेट सिटामोल खरिद गर्ने तयारी गरिएको भएपनि हालसम्म नभेटाएको बताए । यता मध्ये क्षेत्रको सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोस धामीले बीस हजार ट्याब्लेट सिटामोल शाखाको मौज्दात रहेको र छ वटा स्वास्थ्य चौकीसहित अन्य स्वास्थ्य संस्थाहरुमा एक हजार पाँच सय ट्याब्लेट रहेको जनाए ।
उक्त गाउँपालिकाभरि सिटामोलको कुनै समस्या नरहेको र अझै बीस हजार ट्याब्लेट सिटामोल खरिदको प्रक्रियामा रहेको छ । त्यसैगरि सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले शाखामा सात हजार र आठ वडै वडाका स्वास्थ्य संस्थामा एक हजारदेखि दुई हजार ट्याब्लेट सिटामोल मौज्दात रहेकोले कुनै समस्या रहनेको उल्लेख गरे ।
यस्तै खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले १५ हजारभन्दा बढी ट्याब्लेट स्वास्थ्य शाखाको मौज्दात रहेको र अन्य वडाको स्वास्थ्य संस्थामा पनि उपलब्ध् गराइने बताए । उक्त गाउँपालिकाले पनि केही समय अगाडि खरिद गरेको जनाएको छ।