सिमकोट : बाजुरा जिल्लासँग सीमाना जोडिएको हुम्ला दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कर्णाली करिडोरसँग सो गाउँपालिका जोडिएको र त्यसबाट गाउँपालिका केन्द्रसम्म लिंक सडक निर्माण भएपछि एम्बुलेन्स सञ्चालन गर्न सम्भव भएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गतवर्षदेखिको एम्बुलेन्स सञ्चालन गर्ने प्रयास यस पटक सफल भएको बताए । सो एम्बुलेन्स कर्णाली प्रदेश सरकारको सत्तरी प्रतिशत र गाउँपालिकाको तीस प्रतिशत लागत साझेदारीमा सञ्चालनमा ल्याउन सम्भव भएको हो ।
उनले खरिद तथा अन्य प्रक्रिया मिलाउन केही समय लागेको भएपनि अब गाउँपालिकामा एम्बुलेन्स सञ्चालन गर्न सफल भएको जनाए । कर्णाली करिडोरसँग गाउँपालिका जोडिएको र त्यसबाट प्रदेश सरकार र गाउँपालिकाको लगानीमा सडक निर्माण कार्य भएपनि गाउँमा एम्बुलेन्स सञ्चालन गर्न सहज भएको हो ।
यसअघि स्थानीय बासिन्दा बिरामी हुँदा गाउँपालिकाको गाडी प्रयोग हुँदै आएकोमा अब बिरामीको उद्धार एम्बुलेन्सबाट हुने भएको हो । गाउँपालिकाको गाडि अन्यत्र गएको बेला भने नीजि गाडी महँगो भाडा तिरेर बिरामीको उद्धार हुने गरेको थियो ।
ताँजाकोटको पाँच वटै वडामा सडक सञ्जाल जोडिएको छ । उनले गाउँपालिका केन्द्र छप्रेलामा रहने एम्बुलेन्सले स्थानीय बासिन्दा बिरामी भए निःशुल्क रुपमा उद्धार गरिने बताए । यसअघि पाँच वटै वडाका बासिन्दाहरु बिरामी भएको समयमा मानिसले डोको, मानिस र स्टेचरमा बोकेर स्वास्थ्य चौकीसम्म बिरामी ल्याउनु गरिन्थ्यो ।
उनले गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालनमा आएपछि यी सबै समस्याको समाधान भएको बताए । गाउँपालिकाको यो कार्यबाट न्यून आयश्रोत भएका र गरिबहरुका लागि निक्कै उपयोगी हुनेछ ।
गाउँपालिकामा आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने जिल्लाकै ताँजाकोट पहिलो गाउँपालिका भएको छ । यसअघि खार्पुनाथ गाउँपालिकालाई भारतीय दुतावासबाट निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध भएको भएपनि हेलिकोप्टरबाट ढुवानी गर्न नसकिएको कारण हालसम्म काठमाडौंमै रहेको छ ।