सुर्खेत : सर्वहाराका लागि भनिएको जनयुद्ध हेर्नेका लागिभन्दा गर्नेका लागि चुनौती थियो । यहीँ चुनौतीलाई सामना गरेर दश वर्षे युद्धमा हिँडेका दैलेखको ठाटीकाँधका नर्तम विक पनि हुन् । ठाटीकाँध गाउँपालिका - २ डाडावन घर भएका विक हाल सुर्खेतको बराहताल गाउँपालिका –६ इख्यानीमा बस्छन् ।
तत्कालिन विद्रोही माओवादीले नेतृत्व गरेको त्यो युद्ध सर्वहाराका लागि राज्यसत्ता स्थापना गर्न तनमनसँग विक जस्तै थुप्रै युवाहरु युद्धमा सामेल भए । तर, यतिबेला उनीहरुको जीवन मर्नु र बाँच्नु जस्तै भएको छ । अर्थात् अभावै अभावमा बाँचिरहेका छन् । विकको अवस्थामा पनि यहीँ हो ।
जनयुद्धका बेला देखाएका सपनाकै कारण योगदान गर्नेको लहर चलेको थियो । आज तिनले के पाए ? माओवादीको परिवर्तनकारी नारामा समाहित भएर जनयुद्ध गर्ने लडाकुहरुलाई अहिले, बिहान बेलुका हातमुख जोड्न धौ-धौ हुने गरेको छ ।
२०५५ सालदेखि माओवादीमै विचार बाटो बनाएका विक ०५८ मा भूमिगत भए । यसबीच थुप्रै शाही सेनाको यातना खेप्नुपर्यो । २०६१ सालमा सुर्खेतको भेरी पुल, नौमुले, छिन्चु हर्रेमा हतिहारसँगै लडेको विक याद गर्छन् । भन्छन्, ‘यादहरु ताजै छन्’ ।
जनयुद्धका लडाकु विक अहिले ४५ वर्षका भए । उनको लामो समय युद्धमै बित्यो । राज्य स्थापनाका लागि संघर्षमै बित्यो । अहिले आधा शरिरसँग आफ्नै पुख्र्यौली पेशा आरन चलाउँदै आएका छन् । भनौ बैसाखी विना हिँड्डुल गर्न सक्दैनन ।
२०६१ सालमा भएको छिन्चु, हर्रे र भेरी पुलको आक्रमणमा परेर विक घाइते भए । शरिर आधा छ । रपनि परिवारको खर्च जोहो गर्न उनले पुख्र्यौली पेशा आरन चलाउनुपर्ने बाध्यता छ ।
‘हिजो सर्वहाराका लागि युद्धमा हिँड्नु पर्यो । फेरि फर्केर उहीँ दिन बिताउनु परेको छ’ उनले भने, ‘युद्धभन्दा पहिले भारत गएर पनि परिवारको खर्च व्यवस्था गगर्न सकिन्थ्यो । अहिले आफ्नो शरिर पनि आधा छ । बैसाखीसँग हिँड्नु परेको छ ।’
विकको एक वर्ष भयो खुट्टा नचलेको । बैसाखीको सहारा छ । सातमा स–साना बालबालिका छन् । उनीहरुका लागि पनि आरनमा बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
‘हामीले युद्ध भोक-भोकै लड्यौं । त्यो गरिबी तथा विपन्नका लागि भन्ने थियो । हामीलाई थाहा थिएन यसरी हाम्रो मुद्दा अलपत्र पर्छन् भनेर’ उनले भने ।
‘जनयुद्धकै साथीहरु पनि राजा जस्तौ शासक बन्न पुगे’ उनले थपे, ‘पुराना शासकलाई ढालेर नयाँ उस्तै शासक जन्मिए ।’ नयाँ राजाहरुका लागि युद्ध गरिदिएको उनको भनाइ छ ।
विकले युद्धबाटै राजतन्त्र फालेर पनि देश असुरक्षित छ । यसका लागि फेरि एक पटक युद्ध आवश्यक रहेको उनको दाबी छ । उक्त युद्धमा आधा शरिरसँगै भएपनि सामेल हुन तयार रहेको उनले बताए ।
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक )
यसभन्दाका अघिल्ला श्रृंखलाहरु पढ्न यहाँ क्लिक गर्नुहोस् ।