‘अघिल्लो दिन बीबीसीले बर्दियाको गणेशपुरमा पचासौं माओवादी मारिए थुप्रै हातहतियार शाही सेनाले कब्जा गर्यो । घाइते लगायत केही माओवादीका सेनाहरु कब्जामा परेको खबर रेडियोमा बज्यो । खबर सुन्दा साँच्चिकै के हो ? मनमा खुल्दुली बड्यो । अत्यास लाग्यो । यथार्थ बुझ्न हामी सबै कमरेडहरुको एक प्रकारको पहल चल्यो ।
२०६१ माघ १८ गते बिहान जुनीजन सांस्कृतिक कम्पनी प्लाटुन नम्बर चारसँगै हिँडिरहेका थियौं । अत्यन्तै हिँडाइको चापपछि रेडियो खोलियो । एफएफको मिटर घुमाए । तर टिपेन । फेरि पनि घटनाको यथार्थ के हो ? यसै विषयमा बाटोमा जनताहरुले सोधिरहेका थिए । ‘हामीलाई आधिकारिक खबर छैन, हामीले पनि रेडियोबाट सुनेका हौं’ भनेर जवाफ दिने गर्यौं ।
त्यो घटनाले संगठन र पार्टी भित्र ठुलै खैलाबैला मच्चियो । त्यहीँ साँझ हामी वडा नम्बर ९ एरिया पश्चिम जाजरकोटको सुवानाउली पुग्यौं । रेडियोमा समाचार आउने समय भइसकेको थियो । ६ : २५ बजे रेडियो खोलियो । हामी सबै भाइ–बहिनीहरु नेपाली समाचारको पर्खाईमा थियौं । मुख्य–मुख्य खबरमा (घोराही–सत्बरिया दोस्रो बिग्रेड कमाण्डर क.जीतसहित ३३ जनाले शहादत)को खबर सुनियो ।
अनाश्रित म अग्लो छाँगोबाट खसे झैँ भएँ । सारा रक्त सञ्चारले काम गर्न छोडे जस्तै भयो । धमनी निस्क्रिय भए । मुटु बन्द भयो । एक्कासी गला बुझिन लाग्यो । धेरैपछि लामो सास ताने । यता–उता हेरे । सबै भाइ बहिनीहरुको शिर निहुरो परेको थियो ।
खै के हो ? सपना कि विपना ! छुट्याउन गाह्रो भयो । सारा भाइ-बहिनीहरु कोठा भित्रै रुन थाले । कति कठोर र निर्मम रहेछ यो युद्ध पनि । धेरै पचाउन कोसिस गरे । जबरजस्ती बलपूर्वक सास तान्ने साहस गरे । रपनि सकिन । पीडा पचाउन सकिएन ।झन् झन् बढ्दै गयो । रुवावासी चल्यो ।
मेरो साथमा प्रायः जसो कमरेड जीतकै गाउँका भाइबहिनी थिए । त्यसकारण पनि मेरो नेतृत्वको ग्रुप त्यसो हुनु स्वाभाविकै थियो । मैले साथीहरुलाई सम्झाउने प्रयास धेरै गरे– “कमरेडहरु युद्ध भनेको यस्तै हो । यो युद्धमा हुने स्वाभाविक प्रक्रिया हो । किन भने जुनसुकै युद्ध ठुल्लठुलो बलिदानबाट सम्पन्न भएका छन् । युद्ध एउटा बस्तु हो । यसलाई सफल पार्न लागि झन् धेरै रगतको मूल्य तिर्नुपर्छ । यो कम हो । पछाडिका दिनहरुमा ठुल्ठुला बलिदान गर्नुपर्छ ।”
जति सम्झाए पनि जबरजस्ती बग्ने विचारका पर्खालहरु त्योबेला सम्भव थिएन । किन ! हामीले युद्धमा लामो अनुभवि र कुशल कमाण्डर गुमाएका थियौं । उहाँकै बलिदानले बलिदानले सारा बस्तुहरु रोकिएका छन् । उहाँकै अभावले पार्टीमा निराशा पैदा भएको छ ।
मलाई त्यतिबेलाको याद छ – ‘जतिबेला पश्चिम डिभिजनको घोषणा सभामा उहाँले यहिँ कुरा व्यक्ति गर्नु भएको थियो – “कि ! कमरेडहरु मेरो यो रातो रगतले जतिबेला दुस्मनका खुनी नङ्ग्रा रंगिने छन् । त्यतिबेला म महान कम्युनिस्ट बन्नेछु ।” साँच्चिकै क.जीतले त्यो बचन पुरा गर्नुभयो ।
नअस्ताउने तारा जस्तै चम्किरहने मृत्युवरण गर्नुभयो । आफ्नो बलिदानी दिएर पनि पार्टीको नेतृत्व र योजनालाई बचाउन सफल हुनु भयो । त्यसैले उहाँलाई साहसको बारुद भनेर बलिदानीको स्प्रीड देखाउने सहासी र बहादुरी युद्धको कमाण्डर भन्छु । वास्तवमा अब यस्ता कमाण्डर जन्माउन अझै हामीले दश वर्षको विराशत अतुलनीय र आवाञ्छनीय छ ।
डोल्पाको त्रिवेणादेखि सयौं लडाइँहरुमा सहभागी भइ थुप्रै युद्ध कौशलताहरुको प्रयोग गर्दै युद्ध ब्याटलमा दुस्मनलाई ठाडो चुनौतीसँगैको खबरदारी दिनै दुश्मनलाई हायलकायल बनाउने क.जीतको नाम सुनेपछि दुस्मनको होस नगुमेको होइन ।
वास्तवमा त्यस्ता आदरणीय कमाण्डर जो, लडाइँको मोर्चामा लामो अनुभव बटुल्नु भएको थियो । आदरणीय कमाण्डर क.जीतको उच्च बलिदानीले पार्टीका सेना, विभिन्न संघ–संगठनमा मात्रै होइन जनस्तरमा समेत भावनात्मक निराशा पैदा भयो । चोट पुग्यो ।
साँच्चै घटनामा कति समवेदना छ ? कति छट्पटी छ ? कति आतुर छ ? यो घाउ कहिल्यै निको नहुँने गरि चराइरहेको छ ।हुनत क्रान्तिकारीहरुलाई यो पनि थाहा छ – “इतिहासको सिर्जना, बलिदानी र कुर्बानीले भरिएको हुन्छ । रगतको खोलाहरुबाटै देशलाई मुक्त गर्न सकिन्छ । इतिहासको अपरिहार्यतालाई पूर्णता इतिहासले नै गर्नुपर्ने छ ।
किन भने संसारका जुनसुकै देशमा जति परिवर्तन भएका छन् त्यो क.जीत जस्ता कमाण्डरको बलिदानी र कुर्बानीले गर्दा नै भएका छन् । त्यहीँ कुर्बानीबाटै आज नेपाली जनयुद्धलाई यो उच्चता र यो स्तरसम्म पुर्याउने हाम्रा दशौं हजार सहितको सफलता हो ।
जसको बलिदानी र कुर्बानीले गर्दा नेपालको राजनीति परिर्वतन भएको हो । निरंकुश सत्ता ढलेको हो । नेपाल समृद्धिको बाटोमा गएको हो ।
(यो विचार कमरेड आकाशसँगको कुराकानीका आधारमा तयार पारिएको हो । कमरेड आकाश अर्थात् हरिचन्द्र विक दश वर्षको जनयुद्धमा सामेल हुने मध्येका एक हुन । यस भन्दाअघि उनकै बारेमा कर्णालीखबर डटकममा ‘एउटा गीतले जनयुद्धमा होमिएका कमरेड आकाश’ प्रकाशित भएको छ । कमरेड आकाशका जनयुद्धकालिन भोगाइ, अनुभव, सांस्कृतिक मोर्चा, गीत र त्यतिबेला उनले लेखका लेखहरु हामी आगामी श्रृंखलामा प्रस्तुत गर्नेछौँ)