वीरेन्द्रनगर : कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको तेस्रो बैठक माघ १६ गते आइतबार दिउँसो दुई बजेबाट शुरू भयो । सबै सांसदहरू प्रदेश सभा हल भित्र प्रवेश गरे । सभामुख राजबहादुर शाहीले दैनिक कार्यसूचि अनुसार बैठकलाई अगाडी बढाउनु पूर्व राष्ट्रिय गान र शहीदप्रति मौन धारणको कार्यक्रम भयो ।
त्यस लगत्तै सबै सहभागी सांसदहरु आ–आफ्नो सिटमा बसे । अलि ढिलोगरि बैठकमा पुगेकी कालिकोट जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद सोशीला शाही भने सिटमै उभिरहिन् ।
प्रमुख प्रतिपक्षी दल एमाले संसदिय दलका नेता यामलाल कँडेललाई सभामुखले आफ्ना भनाइ राख्न अनुमित दिइसकेपछि कँडेल रोष्ट्रममा पुगे । तर, पनि सभामु्ख शाहीले सांसद सोशीलालाई सिटमा बस्न आग्रह गर्दा पनि उनी बसिनन ।
कँडेलले करिब ४५ मिनेट समेत लगातार बोलिरहे । सरकारलाई विभिन्न आलोचना गर्दै सरकारले ल्याएका विभिन्न योजनादेखि गरेको कार्यान्वयन र बजेट विनियोजमसम्म । तर, पनि सांसद सोशीला सिटमै उस्तै थिइन् ।
एमाले नेता कँडेलले आफ्ना भनाइ राखिसकेपछि सभामुख राजबहादुर शाहीले सांसद सोशिलालाई प्रश्न गदै भने ‘के भन्न खोज्नु भयो मान्य सदस्य ज्यु । छोटोमा राख्नुहोस् ।’
त्यसपछि सांसद सोशिलाले अलि निराश हुँदै भनिन्, ‘सभामुख महोदय मैले भन्न खोजेको के हो भने यो गरिमामय हाउसमा धेरै कुरा राख्न चाहानन् । हाम्रो दलले स्थान पाउने कि नपाउने ? सभामुख महोदय हिजो संसद् चल्दै गर्दा हामी सबै सांसद एक हौं कर्णादी प्रदेशमा, विकास हुनुपर्छ, समृद्धि हुनुपर्छ र हामी एकजुट भएर जानुपर्छ भन्ने मान्यतामा मेरो मात्रै होइन सबै माननीयको थियो ।’
सांसद सोशीलाले यसअघिका बैठकमा प्रतिपक्षी दल भनेर बैठक कक्षको अगाडि सिटमा बस्दै आएको र हाल सचिवालयले पछिल्ला सिटमा बस्ने व्यवस्थापन गरेपछि शाहीले आपत्ति जनाएको बुझिन्छ ।
सोशीलाले थपिन्, ‘कुनै विषयमा विमती जनाउँदा एमालेको सांसद भयो भनेर प्रचार गरिन्छ, संसद बैठकमा आउँछु, सचिवालयको व्यवहार अर्कै देख्छु सभामुख महोदय मलाई गेटबाटै प्रवेश नगर भन्नुहोस्, म आउँदिन् ।’
त्यसपछि शाहीले सानो दल भएर आफुलाई अन्य दलले हेप्ने गरेको बताइन् । उनी अलि भावुक हुदै भनिन्, ‘विश्वासको मत दिँदा पनि सुख छैन् । नदिँदा पनि सुख छैन् ।’ दलको मान्यता दिएपछि त्यहीँ खालको व्यवहार गर्नु पर्यो ।
शाहीले आफ्नो आवश्यक भयो भने बोलाउनु होला, नभए गेट बाहिरै जनताका मुद्दा राखुला भन्दै आफ्ना धारणा पोखेर बैठकहलबाट बाहिरिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए भने आधा घण्टा बित्तिसक्दा पनि बैठक बसेको थिएन ।