सुर्खेत : अनेरास्ववियु कालिकोट जिल्ला कमिटि सचिवमा विद्यार्थी नेता गोर्कणप्रसाद उपाध्यायले दाबी गरेका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी कालिकोटको यहि माघ २१ गते हुने अधिवेशनको लागि उपाध्यायले विभिन्न ११ बुँदे प्रतिवद्धता व्यक्त गर्दै सचिव पदमा दाबी गरेका हुन् ।
अनेरास्ववियुको केन्द्रीय सर्कुलर अनुसार हाल देशभरी स्कुल, क्याम्पस, गाउँ, नगर हुँदै जिल्ला अधिवेशनका कार्यक्रमहरू सञ्चालन समेत भईरका छन् । यसैक्रममा अनेरास्ववियु कालिकोटले पनि जिल्ला अधिवेशनको मिती समेत तय गरिसकेको हो ।
यस्तै, उपाध्यायले नेपालको राजनीतिक तथा समाजिक परिवर्तनका हरेक आन्दोलनहरुमा नेपाली विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहँदै आएको, सामन्तवाद र त्यसको प्रतिनिधि संस्था राजतन्त्रका विरुद्ध नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको पृष्ठभूमि विद्यार्थी आन्दोलनले नै तयार पारेको बताए ।
यस्तै, समानता, स्वतन्त्रता, राष्ट्रियताको रक्षा र सामाजिक परिवर्तनका लागि विद्यार्थी समुदायलाई सचेत, संगठित र आन्दोलित गर्ने अभिप्रायलाई नेपालका सम्पुर्ण प्रगतिशिल, जनवादी तथा देशभक्त विद्यार्थीको साझा, स्वतन्त्र र वैधानिक संगठन अनेरास्ववियुलाई समयक्रम सँगै व्यवस्थित, जिवन्त, गतिशिल, अनुशासित एवम् लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न माघ २१ गते हुने जिल्ला कमिटी कालीकोटको जिल्ला अधिवेशनको तयारी थालिएको उपाध्यायले बताए ।
साथै उक्त अधिवेशनमा सम्पुर्ण विद्यार्थी नेतहरुको सक्रिय सहभागीता, साथ, सहयोग, सद्भाव, सकारात्मक हौसला र उत्साहको पुर्ण अपेक्षा रहेको उनको भनाई रहेको छ ।
यस्ता छन् ११ बुँदे प्रतिवद्धताहरू
१, विद्यार्थी समुदायको हक, हित, अधिकार तथा प्रतिष्ठा प्राप्ति, संरक्षण एवम् सम्वद्रर्धनको निम्ति निरन्तर संघर्षरत रहने छु ।
२, विद्यार्थीहरुले समानताको महसुस गर्न सक्ने मनोवैज्ञानिक वातावरणले मात्र शिक्षा क्षेत्र, शान्ति क्षेत्र बन्छ र बनाउँनु पर्दछ भन्ने कुरालाई आत्मसाथ गर्दै, आत्मविश्वासका साथ उत्थान र विकासको लागि निरन्तर क्रियाशील रहने छु ।
३, विद्यार्थीहरुको बौद्धिक, शारिरिक, शैक्षिक एवम् नैतिक विकासको लागि निरन्तर क्रियाशिल रहने छु ।
४, जिल्लाको शिक्षालाई निजीकरण तथा व्यापारिकरण गर्ने, मुनाफा कमाउन शिक्षाको व्यापार गर्ने होइन, नागरिकका लागि गर्नुपर्ने अनिवार्य भन्ने दायित्व हो भन्ने दृष्टिकोणका साथ संघर्षरत रहने छु ।
५, समाज परिवर्तनको लागि शैक्षिक जागरणको कार्यदिशालाई अवलम्बन गरि विद्यार्थीलाई समुदायमा परिचालन गर्न सक्रिय रहनेछु ।
६, देशका अन्य सबै प्रगतिशील, जनवादि तथा देशभक्त विद्यार्थी संगठनहरुसँग कार्यगत एवम् सांगठनिक एकता कायम गर्न निरन्तर सक्रिय रहने साथै व्यापक बाम एकताको पक्षमा आवाज बुलन्द गर्ने छु ।
७, संविधानको मौलिक हकको रुपमा व्यवस्था गरिएका युवा विद्यार्थीका सरोकारका विषयहरु शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको तर्फबाट कार्यान्वयन गराउन संघर्षरत रहने छु ।
८, सामाजिक अन्धविश्वास, कुरिती, कुसंस्कार, साम्प्रदायिक विभेद, महिला माथिको दमन र उत्पिडिन तथा छाडा संस्कृतिको विरुद्ध सँधै अग्र मोर्चामा रहेर काम गर्ने छु ।
९, जिल्लामा हुने निजि तथा सरकारी शिक्षामा भइरहेको विभेदहरुलाई समाप्त गर्न पाठयक्रम, परीक्षा प्रणाली, भौतिक संरचना, शुल्कमा एकरुपता कायम गर्न उच्चस्तरीय छलफल संयन्त्रसँग छलफल गरि शिक्षा क्षेत्रका हरेक असमानतालाई अन्त्य गरि समान र गुणस्तरीय तथा जनमुखी शिक्षा प्रणाली बनाउन क्रियाशील रहने छु ।
१०, प्राविधिक तथा वैज्ञानिक शिक्षामा राज्यको लगानी बढाई प्राविधिक विश्वविद्यालय मार्फत अन्य बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा हरपल उत्प्रेरित रहनेछु ।
११, अन्त्यमा नेपाली जनता र विद्यार्थीहरुको बलिदानी संघर्षबाट प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रलाई सबल सक्षम र स्थायित्व प्रदान गर्न निरन्तर क्रियाशील हुँदै अनेरास्ववियुलाई नागरिकहरुको आशा र भरोसाको केन्द्रबिन्दु बनाउन लागि पर्ने छु ।