काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनमा राष्टिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) तोकेका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले मंगलबार सार्वजनिक गरेको ५ सय ९० खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्रै अटाएका हुन्। नेपालका १५ खेलाडीले आइपिएलको मेगा अक्सनका लागि नाम दर्ता गराएका थिए।
नेपालबाट १५ खेलाडीको नाम आईपीएल अक्सनका लागि दर्ता गरिएको थियो । तर अक्सनका लागि राइट आर्म लेग स्पिनर सन्दीपमात्र छनोट भएका छन् । सन्दीपलाई २०१८ मा दिल्ली डेयरडेभिल्सले आधार मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यस सिजन सन्दीपले अन्तिम तीन खेलमा ५ विकेट लिएका थिए ।
सन्दीपबाहेक नेपालबाट सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए। तर, सन्दीपबाहेक अन्य खेलाडी 'सर्ट लिस्ट'मा पर्न सकेनन्।
अक्सनका लागि भएको सर्ट लिस्टमा ५९० मध्ये ३७० भारतीय र २२० विदेशी खेलाडी छन् । अफगानिस्तानबाट १७, अस्ट्रेलियाबाट ४७, बंगलादेशबाट ५, इङ्ल्यान्डबाट २४, आयरल्यान्डबाट ५, न्युजिल्यान्डबाट २४, दक्षिण अफ्रिकाबाट ३३, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३४, नामिबियाबाट ३, स्कटल्यान्डबाट २, जिम्बाब्वे, नेपाल र अमेरिकाबाट एक एक खेलाडी परेका छन् ।