सुर्खेत : माओवादीले सुरु गरेको दश वर्षे सशस्त्र युद्धमा त्याग थियो । बलिदान थियो । सेना थिए । कमाण्डर थिए । त्यसै मध्येका एक विद्रोही कमाण्डर हुन् भीमबहादुर विश्वकर्मा कमरेड हिमाल । हिमाल ‘हिमाल जस्तै अटल र विशाल’ थिए । र, छन् ।
समाजमा भएको अन्याय–अत्याचारकाविरुद्ध हिमाल १४ वर्षको उमेरमा युद्धमा हिँडे । युद्ध परिवर्तनका लागि थियो । त्यो सर्वहाराको न्यायसहितको शासन सत्ताका लागि थियो ।
कैलाली घर भएका हिमालले कर्णालीलाई कर्मथलो बनाए । १४ वर्षकै उमेरमा जातीय विभेदविरुद्ध बोल्ने । सहन नसक्ने हिमाल सुरुआतबाटै युद्धमा लागे । उनले भने, ‘समाजमा विभेद छ । अशिक्षा छ । गरिबी छ । यसैमाथि शासन गर्ने शासक पनि छन् । तर, जनताको जीवनस्तर बद्लिएन । यसकाविरुद्ध युद्धको आवश्यक थियो र म युद्धमा होमिएको हुँ ।’
मान्छे बदलिए सोच बदलिएन
युद्धका हिमाल विभिन्न आक्रमणमा परे । हिमाल, ४० वटा घटना भित्रको पात्र बने । चारदेखि पाँच पटक घाइते भए । मृत्युको मुखबाट फिर्ता भए । त्यो सामाजिक परिवर्तनका लागि थियो । जातीय विभेदविरुद्ध थियो । तर, युद्धका नारालाई बेवारिसे बनाउँदा हिमाललाई पछुतो छ । भन्छन्, ‘अहिले नेतुत्वदायी भुमिकामा पुगेको मान्छे स्वतः परिर्वतन भए । सोच परिर्वतन भएन ।’
हिमाल ०५२ सालबाटै माओवादीमा लागे पनि २०५६ असोजको २६ गते भूमिगत भए । भूमिगतपछि थुप्रै किसिमका आक्रमण गरेर अगाडी बढेको बताए । युद्ध भूमिमा लड्दै गर्दा कयौं दिन पानी नखाएर रात खाटेको उनी बताउँछन् । उनी सम्झिन्छन्, ‘कति साथीहरु आँखै अगाडी पानी पानी भन्दाभन्दै सास जान्थ्यो ।’
भूमिगतका बेला ४८ घण्टासम्म पानी नखाएर रातदिन कटाएको उनी स्मरण गर्छन् । ‘हुन त यो २१ औँ शताब्दीमा भन्छन् । विभेद कायम छ । हाम्रा मुद्धा वेवारिसे छन् । यसका लागि हाम्रो युद्ध थिएन’ उनले भने ।
०६१ मा पाल्पाको सम्झना...
२०६१ सालमा पाल्पाको धरमपानीको सालझण्डीमा बसिरहेको अवस्थामा सरकार पक्षका सेनाले आक्रमण गर्यो । ‘हामी एकआपसमा कुरा गरिरहेका थियौं । एक भाइको छातीमा गोली लाग्यो । सासको अन्त्मि क्षणसम्म पानी-पानी भन्दै तड्पिए । एक थोपा पानी खुवाउन सक्ने अवसर मिलेन’ हिमालले भने, ‘आक्रमणमा गोली लागेका साथीहरुका मुख पानी–पानी भन्थे । पानी नपाएरै ज्यान गयो । हामीले ज्यान बचाउन हम्मे–हम्मे पर्यो ।’
त्यो बेला मात्रै नभएर नभएर राज्य पक्षका शाही नेपाली सेनाले पनि ठुलो क्षति व्यहोर्नू परेको उनले बताए, ‘सालझण्डी आक्रमणपछि लगत्तै अर्को दिन राम्रोसँग नबित्दै बिहान तीन बजे फेरि लडाइँ झडप सुरु भयो । बिहान आठ बजे सुरु भएको फायरिङ तीन बजेसम्म चल्यो । आक्रमणमा परेर मृत्यु भएका राज्य पक्षका सेनाका लास उठेकै थिएनन । त्यो आक्रमणमा मेरो कमाण्डमा ११ जना सेना थिए । केहीले शहादत प्राप्त गरे । त्यो दिन सम्झिदाँ अहिले पनि मन जलिरहेको छ ।’
आक्रमण कसरी भयो ?
हिमाल भन्छन्, ‘राज्य पक्ष र माओवादी पक्षबाट लडाइँ जारी थियो । शाही सेनादेखि केही टाढाको जंगलमा ११ जनाको टोली हिमालकै नेतृत्वमा भएको थियो । पानी समेत नखाएको ४९ घण्टाभन्दा धेरै भइसकेको थियो । आराम गर्न पाएका थिएनौं । ज्यान निकै थाकेको थियो । हिँड्न सक्ने अवस्था थिएन । केही समय आराम गरौं र पानी पिउने साथीहरुबीच सल्लाह भयो । पानी पिउन बस्यौं । पानी पिनकै लागि मुख तल बनाएका थियौं एसएमजीले हान्यो । केही साथीहरुलाई लागेर ढले । हामी यता उता लाग्यौं । त्यतिबेलै हेलिकोप्टरबाट बम खस्यो लुकेकै ठाउँमा । नजिकैका भाइ बहिनीहरुको शरिर टुक्रा–टुक्रा भए । अनुहार चिन्ने अवस्था भएन । सकिएन । म छेउकै रुखमा लुके । बच्न सफल भए । त्यहीँ रुखकै सहाराबाट अर्को ठाउँमा पुगे ।अनि, त्यो आक्रमणबाट ज्यान बच्यो ।’
रुकुमको खारा आक्रमण
हिमालले भने, ‘रुकुमको खारामा आक्रमणका बेला चुनौती थियो । ‘लडाइँ सुरु भयो । केही साथीलाई सुरुमै गोली लाग्यो’, उनले भने, ‘त्यहाँको आक्रमणमा परेर म पनि घाइते भए । अर्को आक्रमण दोहोरामा भएको बेला मेरो बाँया खुट्टामा गोली लागेको समेत थाहा भएन । साथीले भन्यो, ‘कमरेड हिमाल तपाईंको खुट्टामा गोली छ हेर्नुत’ हेर्दा त गोली रहेछ । त्यतिबेला सोच थियो – ‘युद्धमा लड्दै गर्दा ज्यानभन्दा पनि जित कसरी हासिल गर्ने । त्यो मात्रै होइन रम्बापुरको आक्रमणमा परेर बाँच्न सफल भए ।’
अहिलेको सात नम्बर प्रदेश अन्तर्गतमा पर्ने कैलालीको खिमरी हाल माहन्याल गाउँपालिका–२ मा आक्रमणको बेला शरिरमा गोली लागेको उनले बताए । त्यसबाट पनि ज्यान जोगाउन सफल भएको उनले बताए, ‘आफ्नो लागि सबैभन्दा ठुलो रुकुमको खाराको हो ।’
शाही सेनाले बन्दी बनायो
२०६१ सालमा पाल्पाको गल्र्याङ्गघरीबाट शाही नेपाली सेनाले दुइजना सहयात्रीलाई हिमालकै अगाडी मारेको बताए । हिमाललाई त्यहीँ ठाउँबाट शाही सेनाले बन्दी बनायो । कपिलबस्तुको सालजन्डीमा लिएर राख्यो । हिमाल त्यतिबेला संचारमा थिए । दुई जना बहिनीलाई आँखै अगाडि राज्य पक्षका सेनाले मारेको उनले भने, ‘मसँग अन्य प्रमाण खोज्यो । अन्य प्रमाण नभेटिएपछि त्यहीँका स्थानीयलाई नाता लगाए र उनीहरुकै सहयोगबाट बाहिर आउन सफल भए । अर्थान् उनीहरुले आफ्नो मान्छे हो भनेर सनाखत गरे ।’ शाही नेपाली बन्दी बनाएको नौ दिनपछि मार्ने योजना बनाएको थियो । हिमाल बन्दी बनेको ठाउँका मेजर मारिएका रहेछन् । पछि भाग्य भन्नुपर्छ सुदुरपश्चिमको एकजना मेजर त्यहाँ आए । पश्चिमको घर भन्न बित्तिकै मेजरले सहयोग गरे । मृत्युको मुखबाट फर्किए ।
सदरमुकाम तानसेन आक्रमण
भीम विश्वकर्मा अर्थात् हिमालको कमाण्डमा पाल्पाको सदरमुकाम तानसेन हान्ने योजना भयो । सदरमुकाम तान्सेन हान्ने क्रममा पाल्पाको सीडीयो समातिए । सीडीयोलाई आफ्नो जिम्मा लगाएको हिमालले बताए ।
हिमालले मानवताकै नाताले दुई हप्ता आफ्नो कमाण्डमा राखेर पत्रकारमार्फत घर पठाए । ‘सीडीयो बुझाएकै दिन पाल्पाको तीनगिरेमा आक्रमण भयो’ उनले भने, ‘त्यसमा राज्य पक्षकै क्षति भएको उनको बताए । त्यहाँका लासहरु दुई हप्तासम्म उठेका थिएनन ।’
सीडियोलाई छोडकै दिन पाल्पाको तीनगिरेमा अचानक माओवादीमाथि राज्य पक्षले आक्रमण गर्यो । भाग्ने क्रममा २३ जना भाइ बहिनी समातिए । केहीलाई हेलिकोप्टरबाट बम खसालेर मारेको थियो । त्यसबाट बाँचेका १० जना बहिनीहरु शाही सेनाको कब्जामा परे ।
सेनाले बहिनीहरुलाई बलात्कार गरेर मारिदिएको रहेछ । केही भाइ त्यसमध्येका १३ जना भाइ बहिनीलाई ०६२÷०६३ को गण्डक अभियानबाट फर्केपछि रिहाइ गरिदियो । बच्न सफल भए ।
त्यतिबेला केही माओवादी साथीहरुलाई पत्रकारले समेत बचाएको हिमालले बताए । पत्रकार आएरपछि समातिएका केही साथीहरुलाई छोडेको हिमालले भने, ‘हामीलाई पत्रकारबाट पनि सहयोग भयो । धेरै साथीको ज्यान जोगाइ दिएका छन् ।’ त्यसरी गरेको युद्ध हामीले सोचभन्दा अहिलेको बाटो फरक भएको हिमाल बताउँछन्, ‘ गाउँका समस्या उस्तै छन् । नेताको अवस्था बद्लियो । जनताको अवस्था त्यस्तै छ ।’
शान्ति पक्रियामा आएपछि व्यवसाय गर्न लागे । उनको व्यवसायी क्षेत्र पनि राम्रो बन्दै गयो । स्वास्थ्य क्लिनिक चलाएको उनले भने, ‘पछि निर्माण सम्बन्धीका गरे । त्यहाँ पनि राम्रो भयो । ठेक्काको लाइसेन्स पनि बन्यो । धेरै ठाउँमा ठेक्का पनि पर्यो । अहिले आफ्ना लागिभन्दा समाजका लागि केही गरौं भन्ने इच्छा छ ।’
पालिका अध्यक्षको टिकट त्यागेर सामाजिक कार्यमा
युद्धका कमाण्डर हिमाल भन्छन्, ‘युद्धमा गरेको योगदानकै कारण २०७४ सालको निर्वाचनमा पार्टीले कैलालीको मोहन्याल पालिकाको अध्यक्षको टिकट दियो । त्यसलाई पार्टीको निर्णयलाई सम्मान गर्दै आफुले अध्यक्ष बन्न अस्वीकार हुँ ।’
हिमालको जन्मथलो कर्णालीमा भएपनि कर्मथलो सुर्खेत बनाएका छन् । सुर्खेतमा कर्मथलो बनाएर अनाथ, असहाय, सडक बालबालिकाको अभिभावक बन्न पुगेका छन् । सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानमा साझा घर नेपाल संस्थामार्फत ९७ जना असहाय तथा अनाथ बालवालिकाको हेरचाह गर्दै आएका छन् ।
हिमालले भने, ‘युद्धपछि क्यान्टोन्मेन्टमा बस्यौं । बाहिर आउँदा राजनीति त थियो नै सहाराविहीन बालबालिकालाई साथ सहयोग गर्ने मन लाग्यो । अनि, यतातिर लागेको हुँ ।’
राजनीति गरेर स्वार्थमा कतिले समाजसेवा गरिरहेका छन् । आफुले पार्टीले प्रदान गरेको पद पनि त्यागेर समाजसेवामा आएको उनको दाबी छ । अहिले एकल महिला, सडक बालबालिका, शहीदका छोराछोरीहरुलाई सहयोग गर्न पाउँदा खुसी भएको उनी बताउँछन् ।
साझाघर नेपाल संस्थामार्फत ६१ जना पुरुष ३६ जना महिला गरेर ९७ जना असहाय, अनाथ बालबालिका रहेका छन् । उनीहरुको हेरचाह भिमबहादुर विश्वकर्मा हिमालले गरिरहेका छन् ।
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक )
यसभन्दाका अघिल्ला श्रृंखलाहरु पढ्न यहाँ क्लिक गर्नुहोस् ।