कर्णालीका कम्युनिस्ट साथीहरु नमस्कार ।
तपाईंहरुलाई लालसलाम भन्न मन थियो । कमरेडहरु भन्न मन थियो । तर मेरा हातहरुले लेख्ने मानिरहेका छैनन । मेरा ओठहरुले भन्न मानिरहेका छैनन । खै किन ! किन ! म नै उदासीन छु ।
खैर केही छैन । तपाईंहरुलाई पत्र कसरी लेख्ने होला ? कसलाई हुलाकी बनाउने होला भन्ने केही दिनदेखि मेरो मनमा खुल्दुली थियो । फेरि मैले कर्णालीका कम्युनिस्ट साथीहरुका लागि मात्रै लेख्न खोजिरहेको थिए । त्यो पनि ‘कर्णालीलाई त्यो वाद चाहिएको छैन’ भनेर ।
उसो त मलाई लाग्छ – ‘नेपाल भरिका कम्युनिस्ट साथीहरुको विचार बाटो उहीँ हो ।’ फेरि पनि कर्णालीमा ‘म मात्रै कम्युनिस्ट हुँ’ भन्नेलाई पत्र लेख्न मन थियो ।
नेपालमा कम्युनिस्ट कार्यालयहरु धेरै छन् । त्यसमध्ये पनि मूलतः ‘हामी मात्रै कम्युनिस्ट हौं’ भन्ने नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाको चहललपहल कर्णालीका बस्तीहरुमा छ ।
अन्य नेकपा कार्यालयलाई शाखाहरु समेत विस्तार गर्न फूर्सद छैन । जिल्ला शाखा विस्तार गरेकाहरुले पालिका शाखा विस्तार गर्न फूर्सद छैन होला । यिनै शाखाका सदस्य ‘म मात्रै कम्युनिस्ट हुँ’ भन्नेका लागि मात्रै मेरो पत्र हुनेछ ।
नुन र गुणका कुरा मात्रै गर्ने कर्णालीमा ‘म मात्रै कम्युनिस्ट र क्रान्तिकारी हुँ’ भनेर कुरा गर्ने जन्मिनु भनेको ठुलो कुरा हो । मलाई लाग्छ – यसमा कर्णालीवासीले गर्व गर्नेछन् ।
जसकारण कर्णालीवासीले वैज्ञानिक समाजवाददेखि साम्यवादसम्म के हो ? भनेर बुझ्ने मौका पाएका छन् । त्यसमाथि कर्णालीका कम्युनिस्ट साथीहरुको राजनीतिक संघर्ष लामो छ । त्यस्तै त्याग छ । तपस्या छ । योगदान छ ।
यो परिर्वतन देख्दा मैले तपाईंलाई खुसी भएर पत्र लेख्नुपर्ने हो । तर, उदासीन भएर पत्र लेख्दैछु । हुन त दुनियाँले दुनियाँलाई भन्छ, ‘असम्भव भन्ने केही छैन ।’
कर्णालीमा मूलतः कम्युनिस्टै खाने कम्युनिस्टै लाउने तपाईंहरु एमाले, माओवादीदेखि समाजवादीसम्म हुनुहुन्छ । अरु कम्युनिस्टसँग आवद्ध दलहरु र यसका कार्यकर्ताहरुले खासै प्रभाव पार्न सक्नु भएको छैन ।
कर्णालीमा माओवादीका साथीहरुले सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि संस्था हो भन्दै यसले मजदुर किसान र सम्पूर्ण उत्पीडित आम जनताको हितलाई प्रतिनिधित्व गर्छ ।
यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो भन्दै प्रचार गरिरहनु भएको छ । यति मात्रै हो र ? पार्टीको रणनैतिक लक्ष्य समाजवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको निर्माण गर्नु र अन्ततः साम्यवादी दिशामा अघि बढ्नु हो ।
एकीकृत समाजवादीको पनि त्यहीँ हो । माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारामा अगाडी बढ्ने लक्ष्य छ । यसले पनि संसारका श्रमिकहरु एक हौऔं भनिरहेको छ । यसको प्रचार यसरी नै भएको छ ।
एमालेका साथीहरु पनि समाजमा विद्यमान शोषण, गरिबी, अभाव, पछौटेपन र विभेद अन्त्य गर्ने, राष्ट्रलाई सुरक्षित, सुदृढ, विकसित, आधुनिक, शान्तिपूर्ण बनाउने योजना र विधि विधानमा हुनुहुन्छ । साथै ‘माक्र्सवाद–लेनिनवादसँगै जनताको बहुदलीय जनवाद’मा पुग्ने एमालेको लक्ष्य छ ।
विप्लवका साथीहरुले वैज्ञानिक समाजवाददेखि माथि उल्लेखित वादहरु सिकाइरहनु भएको छ । र, अन्य कम्युनिस्टका साथीहरुले पनि कम्युनिस्टबारे कर्णालीवासीका लागि सिद्धान्त विचार सिकाइरहनु भएको छ ।
यसमा खुसी लाग्छ कि ! १९ औं शताब्दीमा उत्पादित सिद्धान्तहरु २१ औं शताब्दीमा कर्णालीका गाउँ–घरमा यसबारे प्रचार भइरहेका छन् । साथीहरुले आफ्ना पार्टीमार्फत गराइरहनु भएको छ ।
यसलाई अनौठो मान्नु पनि छैन । २००७ सालतिर नेपालमा प्रजातन्त्र आउँदा जुम्लीले २०१७ सालमा थाहा पाएको सुन्छौं । जेहोस यसबारे पत्रद्धारा साथीहरुलाई किन लेख्नु पर्यो ?
तर मनले मानेन लेख्छु ! साथीहरुले वादैवादका नाममा । सिद्धान्तका नाममा उनीहरुको बलात्कार किन गरिरहनु भएको छ ? प्रश्न गर्न मन लाग्यो । हिजो माओको सिद्धान्त बोकेर युद्धमा हिँडेका साथीहरु अहिले पनि त्यहीँ सिद्धान्त र विचारमा हुनुहुन्छ ।
दुःखको कुरा यहीँ हो कि ! चम्पल लगाएर शहर पसेकाहरु आज कर्णाली फर्किदा चिल्लो कार, काठमाडौंमा घर, छोरा–छोरी महँगो शैक्षिक संस्थामा अध्यययन गराएर चुनावको बेला मात्रै फर्किनु हुन्छ । आखिर यहीँ रहेछ माक्र्सवाद–लेनिनवाद–माओवाद ।
कि ! कर्णालीवासीको खुन पसिना चुसेर आफ्ना छोरा छोरीलाई महँगो स्कुलमा पढाउनु, तपाईंले गाडी चढ्नु, शहरमा घर बनाउनु, कर्णालीका जनतालाई सधैं रोग र भोकमा पार्नुलाई भनिन्छ माक्र्सवाद ?
यसरी कर्णालीका जनताको खुन पसिनामाथि विभिन्न वादका नाममा किन तिनै वादको बलात्कार गरिरहनु भएको छ । तपाईंहरुलाई पनि थाहा होला – कर्णालीलाई हलानो र फलानो वाद चाहिएको छैन ।
कर्णालीलाई बिहान र बेलुका हातमुख जोड्ने वाद चाहिँएको छ । विरामी परेको बेला सिटामोल पाउने वाद चाहिँएको छ । आँटो र फाटो पाउने वाद चाहिएको छ ।
कृपया तपाईंहरु हाम्रो विचारधारालाई बलात्कार नगर्नुहोस् । हाम्रो विचारधारालाई हत्या नगर्नुहोस् । बरु तपाईंहरु नै पूँजीवादमा समाहित हुनु भएको छ । कम्युनिष्ट भन्न छोड्नुहोस् ।
एक हप्ताअघि हुम्लाको सिमकोट गाउँपालिका– ५ की सलिना विकको शल्यक्रियामार्फत बच्चा जन्मियो । उनको बच्चासँगै तीन दिनपछि अस्पतालमै मृत्यु भयो ।
उनीहरुको शव करिब तीन दिन अस्पालमै रह्यो । माइतीलाई खबर गर्दा माइतीले ‘छोरीको सास नदेखे पनि लास देख्छु’ भनेर हुम्ला छोरीको गाउँ पुग्न तीन दिन लाग्यो ।
यसको मतलब यो हो – ‘एक ठाउँमा छोरीको मृत्यु हुन्छ । खबर पाउन माइतीलाई तीन दिन लाक्छ त्यहीँ हो कर्णाली । बिहान मकैं–कोदो ढिडो र सिस्नु च्यापेर दाउरा–घाँस निस्केकी दिदी बहिनीहरु बेलुकी गाउँका दाजु–भाइ गएर लास बोकेर ल्याउँछन् ।’ कर्णालीको दुःख र दर्दमाथि किन समाजवाददेखि साम्यवाद भनेर अपराध गर्ने ?
यसको मतलब यो होइन – ‘कि ! समाजवाददेखि साम्यवादका कुरा कर्णालीका लागि नराम्रो हो ।’ तपाईंले नै बोकेका विचार वादले चीन आज त्यो ठाउँमा पुगेको छ । रुस आज त्यो ठाउँमा पुगेको छ । विश्वको क्रान्ति आज त्यो ठाउँमा छ ।
तर तपाईले यो वाद बोक्न लागेको सात दशकभन्दा बढी नै भयो । यहीँ बाद बोकेर युद्ध गर्नु भयो । क्रान्ति गर्नु भयो । त्यसैको फलस्वरुप तपाई त्यो ठाउँमा हुनुहुन्छ । नेपाल यो ठाउँमा छ । कर्णाली त्यो ठाउँमा छ ।
यहीँ वादका लागि तपाईं भन्नुहुन्छ – ‘युद्ध गर्यौं । परिवर्तन ल्यायौं ।’ म सामान्य नागरिकका हिसाबले फेरि प्रश्न गरे परिर्वतन चाहिँ के गर्नु भयो ? भन्न मिल्छ ?
गरिबी, अभाव, अशिक्षा, विकटको नारालाई हात र साथमा राखेर सत्ता र शक्तिमा त पुग्नु भएकै हो । परिर्वतन खासै देख्दिनँ । कर्णालीमा कुरीति कायम छ । कुप्रथा कायम छ । अशिक्षा कायम छ । गरिबी कायम छ ।
एक चाँही तपाईंले राम्रो परिवर्तन गर्नु भयो – हिजो च्यातिएको चप्पल लगाएर शहर पस्नु भयो । शहरमा घर बनाउनुभयो । छोरा–छोरीलाई महँगो शुल्क तिरेर राम्रो शिक्षा आर्जन गराउनुभयो ।
कुप्रथा अन्धविश्वास र रूढीवादका कारण बावालविवाह, अनमेलविवाह र नारी हिंसाकै एक स्वरूप बन्न पुगेको छ । यसको शिकार हुनबाट बचाउन नसक्दा कर्णालीमा थुप्रै बालिकाहरू कष्टपूर्ण जीवन जिउन बाध्य छन् ।
अहिले तपाईंसँगै युद्धमा हिँडेका साथीहरु, घाइते, अपांग, शहीद परिवारबाट भेट्न आएपछि भन्छन्, ‘हेर्दै कस्तो टोपी खस्ने घर बनाउनु भएको रहेछ ।’
कर्णाली अझै पनि धामी झाँक्रीकै भरमा छ । जसकारण कैयौँले ज्यान गुमाउनु परेको छ । छाउपडी कायम छ । जसकारण कर्णालीका महिलाहरु रोगको शिकार हुनु परेको छ । बलात्कृत हुनुपरेको छ ।
छाउमा बसेका बेला सर्पले टोकेर, बाघले खाएर, चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मृत्यु भएको खबर पत्रपत्रिकामा हुन्छ होला है कमरेड ।
यतिमात्रै होइन, छाउका कारण बालबालिकाहरूको स्वास्थ्यमा समेत गम्भीर असर पुगेको छ । अध्ययनबाट जान बञ्चित छन् । महिलाहरूले अमानवीय व्यवहार बेहोर्नु परेको छ ।
कर्णालीमा कलंक र कुरीति कायम छन् । मुलतः अन्धविश्वास र पितृसत्तात्मक सोच कायम छ । कर्णालीका गाउँ–घरमा जातीय विभेद कायम छ । यहीँ त होला तपाईंको सामाजवाद ?
कथित उपल्लो जाति भनिएकाले तल्लो जाति भनिएकालाई मठ, मन्दिर घरमा प्रवेश गर्न बहिष्कार गरिएको छ । बन्देज छ । यति मात्रै हो र ? तपाईंकै कमरेडहरुले रुकुम पश्चिममा गैरदलित युवतीसँग प्रेमपछि विवाह गर्न खोजेकै नाममा जाजरकोटका युवा नवराज विकसहित ६ जनालाई हत्या गरेको घटना ताजै छ ।
कालिकोटका मनवीरे सुनारलाई चुलो छोएकै निहुँमा मारिएको ताजै छ । कालिकोटमै मना सार्कीको दलित भन्दै हत्या गरेको ताजै छ । छोराले अन्तरजातीय विवाह गर्दा दैलेखका सेते दमाइ मारिएको ताजै छ । कर्णालीमा तपाईंले गरेको परिवर्तन देखिएकै छ ।
दुःखको कुरा यी घटना घटाउनेहरु तपाईंकै माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधाराका कमरेडहरु हुन् । र, संरक्षण गर्ने तपाईंहरु नै हुनु भएको छ ।
अहिले पनि कर्णाली प्रदेशको राजधानी भनिएको सुर्खेत लगायत डोल्पा, कालिकोट, जाजरकोटमा कन्यादान प्रथा कायम छ ।
यस्तो कुप्रथा अन्धविश्वास र रूढीवादका कारण बावालविवाह, अनमेलविवाह र नारी हिंसाकै एक स्वरूप बन्न पुगेको छ । यसको शिकार हुनबाट बचाउन नसक्दा कर्णालीमा थुप्रै बालिकाहरू कष्टपूर्ण जीवन जिउन बाध्य छन् ।
यति मात्रै नभएर छोई–छिटो हाल्ने प्रथा, छोरीलाई गुफा राख्ने प्रथा, जारी प्रथा, झुमा प्रथा, दाइजो प्रथा, बालीघरे प्रथा, बाल विवाह प्रथा, विधवा प्रथा, भाउजू ब्यहोर्ने प्रथा, हलिया प्रथा होक्तवा प्रथा, सिनो लगायतका प्रथा कर्णालीमा कायम छन् ।
जसले गर्दा समाज कुरीतितिर गइरहेको छ । कैयौंले ज्यान गुमाउनु परेको छ । तपाईंले गाउँ–घरमा माक्र्सवाद–लेनिनवाद–माओवादका भाषण गरेको फल यहीँ हो ?
माक्र्सवाद–लेनिनवाद–माओवाद लगायत विभिन्न वादका नाममा कर्णालीका जनतामाथि कति दशक अपराध गर्नु हुन्छ ? यस्तो अपराध गर्ने साथीहरुलाई अपराधी भन्ने कि नभन्ने ? कर्णालीको समाजमा बाँकी रहेको कुरीति र कुप्रथाको हिमायती तपाईं आफैं किन बनिरहनु भएको छ ?
यस्तो बेला तपाईंका सिद्धान्त उत्पादकहरु माथिबाट भनिरहेका छन् – ‘कि कृपया तपाईंहरु हाम्रो विचारधारालाई बलात्कार नगर्नुहोस् । हाम्रो विचारधारालाई हत्या नगर्नुहोस् । बरु तपाईंहरु नै पूँजीवादमा समाहित हुनु भएको छ । कम्युनिष्ट भन्न छोड्नुहोस् ।’
यो कर्णालीका कम्युनिष्ट साथीहरु मात्रै होइन देशकै कम्युनिष्ट साथीहरुको अवस्था यस्तै छ । विचारधारालाई बलात्कार गरेर सत्ता र शक्ति केन्द्रित स्वार्थ राजनीति गरिरहेको अवस्था छ ।
हिजो हजारौंले बलिदान दिएको ठाउँ कर्णाली हो । युद्ध भएको ठाउँ कर्णाली हो । अझै पनि कर्णालीमा युद्धको घाउ छ । शहीदको रगत छ । तिनीहरुको सपना बोकेर खोक्रो विचारधारा बोकेका तपाईं जस्ता कम्युनिस्ट साथीहरु हुनुहुन्छ ।
कर्णालीमा सायद लाग्छ – खोक्रो कम्युनिष्टको सिद्धान्त बोक्ने साथीहरु मात्रै हुनु हुँदैन । असली कम्युनिस्टको विचारधारा र सिद्धान्त बोक्ने साथीहरु पनि हुनुहुन्छ । उहाँहरु कर्णालीको गाउँ–घरमा हुनुहुन्छ ।
उहाँहरु भन्नुहुन्छ – ‘सत्ता र शक्तिमा पुगेर किन ? कम्युनिस्टको नाममा स्वार्थसँगै नातावादको राजनीति गरिरहेका छन्’ ? कम्युनिस्टको विचारधारा बोकेर गाउँमै राजनीति गरिरहेका साथीहरुलाई म सलाम गर्न के कन्जुस्याइँ गरौं र ?
कम्युनिस्ट राजनीतिका नाममा शक्ति र सत्ताको भरमा नातावाद, गुटवादको राजनीति गरेर कर्णालीका सपना र सम्भावनामाथि बलात्कार गर्ने कम्युनिस्ट साथीहरुलाई केही भन्नु छैन । कर्णालीवासीले बेला–बेला भनिरहेका छन् । र, आगामी दिनमा पनि भन्ने छन् ।
यसपत्रमा छुटाएका कुराहरु अर्को पत्रमा लेख्ने बाँचा गर्दै मेरा शब्दहरु यही टुंग्याउँछु । बाँकी बीपी कोइराला र डेमोक्रेसीबारे कर्णालीमा गफ चुट्ने कांग्रेसी साथीहरु लगायतलाई पनि मिठो सम्झना ।
तपाईलाई सम्झिन झन् धेरै बाँकी छ । सम्झेको बेला लेखौँला पनि । कर्णालीबासी सबैलाई त सम्झेरै निरन्तर लेखिरहने प्रयास गर्नेछु ।
जदौ...।