काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक अर्थात आईजीपीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई नेपाल प्रहरीको २८ औँ आईजीपीका रुपमा नियुक्त गरेको हो ।
बरिष्ठता र संगठनमा कुशल सक्षमताका आधारमा काम गरेको भन्दै थापालाई सरकारले आईजीपीमा नियुक्त गरेको हो । आईजीपीका लागि थापासँगै एआईजी हरिबहादुर पाल पनि प्रतिष्पर्धामा थिए । तर सरकारले बरिष्ठताका आधारमा थापालाई नै आईजीपी नियुक्त गरेको हो ।
को हुन थापा ?
नेपाल प्रहरीको २८ औँ महानिरीक्षकमा नियुक्त शैलेश थापा प्रहरीका इमान्दार र लोकप्रिय पूर्व डिआइजी शम्भुबहादुर थापाका छोरा हुन । भक्तपुरमा जन्मिएका थापा २०४९ सालमा प्रहरी निरीक्षकबाट नेपाली प्रहरी सेवामा प्रवेश गरेका हुन ।
सेवाको शुरुको समय उनले प्रहरी हेडक्वार्टर नक्सालको आईजीपी सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताए । हेडक्वार्टर हुँदा प्रवक्ता भएकै बेला उनले आफ्नो छवि सञ्चारमाध्यममा पनि परिचित गराउने मौका पाएका थिए ।
प्रहरी प्रवक्ता हुँदा नै उनले नेपाल प्रहरीको सुचना सेवालाई थप प्रभावकारी बनाएका थिए । त्यसपछि उनी महानगरीय प्रहरी प्रमुखको रुपमा काम गरे । त्यसपछि उनी मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुखको जिम्मेवारी सम्हाल्न पुगे । दुई दिनपछि मात्रै उनले आईजीपीको कार्यभार सम्हाल्नेछन ।
यसअघिका पाँच जना पूर्वआईजीपीसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र प्रहरी कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन् । त्यस्तै थापाले सुडान, पूर्वी टिमोर र बोस्निया मिसनमा समेत गएर अनुभव बटुलेका छन ।
यी हुन चुनौति !
संगठनलाई मजबुत बनाउन चाहने थापा राजनीतिक पहुँच र हस्तक्षेप रुचाउदैनन् । उनले आईजीपी बन्दा पनि राजनीतिक रुपमा त्यस्तो देखिने लबिङ गरेको पाइएन । गृहमन्त्री रामबहादुर थापालाई समेत उनले प्रभावमा पार्न आवश्यक ठानेनन् भनेपछि उनी कति कुशल संगठक र इमान्दार छन भन्ने देखाउँछ ।
यसरी हेर्दा प्रहरी संगठनमा सफल मानिएका थापालाई चुनौति सामान्य छैन । पछिल्लो समय राजनीतिक पहुँच र हस्तक्षेपबाट ग्रस्त प्रहरी संगठनलाई अब कुशल र जुझारु बनाउने जिम्मेवारी उनको काँधमा छ । यस्तै धेरै चर्चित र रहस्यमय रहेको कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त प्रकरणको सत्यतथ्य छानिबन गर्ने जिम्मेवारी पनि उनको काँधमा छ ।
यससँगै ६ जना युवाहरु मारिएको रकुम हत्याकाण्डमा जोडिएको नेपाल प्रहरीको आगामी छवि पनि सुधार्न आवश्वयक छ । प्रहरी हिराशतभित्रै कैदीले आत्महत्या गर्ने, केरकारका नाममा हत्याकै अवस्थामा पु¥याउने गतिविधि पनि सुधार्ने जिम्मा उनको काँधमा छ ।
पछिल्लो समय मानवीयता देखाउनबाट पटक पटक चुकेको प्रहरी संगठनलाई उनले मानवीय मात्रै होइन, व्यवहारमै जनताको साथी बनाउने अवसर पनि छ । प्रहरी संगठनप्रति वितृष्णा र निराशा छाएका बेला उत्साह ल्याउने काम उनको काँधमा छ ।