काठमाडौं । झण्डै एकहप्तादेखि चलिरहेको नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीचको वार्ता विवाद चर्किदै गएको छ । बालुवाटारमा दैनिकजसो वार्ता भइरहने भएपनि कुनै सहमति र प्रगति भने हुन सकेको छैन ।
पछिल्लो एक हप्ता यता चलिरहेको एक्लाएक्लै वार्ता सहमति उन्मुख हुनुको साटो झन बिग्रदै गएको नेताहरुले बताएका छन । बुधबार पनि ओली र प्रचण्डबीच झण्डै दुई घण्टा एक्लाएक्लै वार्ता चल्यो । तर वार्तामा प्रगति हुनुको साटो झन दुरी बढ्ने गरी चर्काचर्की भएको छ ।
प्रचण्डलाई दैनिक बालुवाटार बोलाएर अलमल्याउने ओलीले बुधबार भने निकै अमिलोसँग धम्की दिएका छन । प्रचण्डलाई ओलीले आफूलाई फेरि पनि स्थायी कमिटी बैठकको निर्णयबाट कारबाही गरेर देखाउन चुनौति दिएका छन ।
आफू कुनै पनि हालतमा अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने भन्दै ओलीले सक्ने भए कारबाही गरेर देखाउन प्रचण्डलाई चुनौति नै दिएका छन । जुन चुनौतिले प्रचण्डको मन झन कुडिएको नेकपाका नेताहरुले बताएका छन ।
आफ्ना पक्षमा युवाहरुलाई सडकमा उतारेर ओलीले नेकपाप्रति नै आक्रोश फैलाएका बेला प्रचण्डले पार्टीको निर्णयमा हिड्न आग्रह गरेका थिए । तर जवाफमा ओलीले सक्ने भए कारबाही गरेर देखाउन चुनौति दिएका हुन । उनले आन्दोलन थप चर्किने भन्दै कारबाही गरे पुरानै एमाले पार्टी ब्युताउने पनि चेतावनी दिएका छन ।
पछिल्लो समय स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग चर्किएको थियो । सोही मागले ओली लगभग सत्ता र पार्टी अध्यक्ष पदबाट राजीनामा दिने स्थितीमा पनि पुगेका थिए । तर उनले संसदको बजेट अधिवेशन अन्त्य गरेर नियन्त्रणतर्फ शासन मोडालिटी फेरेका छन ।
त्यसमाथि ओलीले चीनको पूर्ण रुपमा साथ पाएका छन । विश्वकै बलियो शक्ति चीनको साथ पाएपछि ओली पार्टीभित्रका नेताहरुलाई पेलेरै जाने मनस्थितीमा पुगेका छन । यसले नेकपाभित्रको विवाद समाधान हुनुको साटो झन चर्किदै जाने देखिन्छ ।
असार १८ गतेदेखि रोकिएको नेकपाको स्थायी कमिटी बैठक लगातार तीन पटक स्थगित हुदै आएको छ । अध्यक्षद्धय ओली र प्रचण्डको वार्ताको स्थिती हेर्दा यो महिनाभर सहमति हुने सम्भावना पनि कम छ । यसले नेकपाभित्र सत्ता र पार्टी जोगाउनेभन्दा नेताहरुमा को ठूलो र शक्तिशाली बन्ने भन्ने होडबाजी चल्ने सम्भावना छ ।