खलंगा : जुम्लाको हिमा गाउँपालिका – ३ का वडाध्यक्ष सर्वजित भण्डारीले जुम्लीको मुख्य आयस्रोत स्याउ खेती भएको बताए । भण्डारीले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका अन्तर्गत वडापालिकाको समन्वयमा सात दिने स्याउ बगैंचा व्यवस्थापन तथा विरुवा काटछाट सीप मुलक तालिममा उक्त कुरा बताएका हुन् ।
स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएका छन् । स्याउका विरुवा नभएका अहिले कुनै घर नभएको वडाध्यक्ष भण्डारीले बताए । सात दिने तालिमका प्रशिक्षक तथा हिमा गाउँपालिका कृषि शाखा प्रमुख बबरजंग शाहीले उक्त सीप मुलक तालिमको सहजिकरण गरेका थिए । उनले भने, ‘तालिममा सहभागी सबैका घरमा २ सयदेखि २ सय ५० बिरुवा छन् ।’
अहिले नेपालमा पनि स्याउ बगैंचा व्यवस्थापन गर्ने नयाँ नयाँ प्रविधि भित्रिएकाले यहाँका स्याउ कृषकलाई आरी र सिकेचरसहित नयाँ प्रविधि र ज्ञान दिन आवश्यक रहेको उनले बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले कृषकका माग अनुसार सीपमुलक तालिम सञ्चालन गर्ने गरिएको बताए । उनले भने, ‘उद्यमी बनाउनका लागि सीपमुलक तालिमसहित आवश्यक औजार पनि प्रदान गर्ने गर्ने छ । सीप सिकाएर स्वदेशमै स्वरोजगार बनाएर आयआर्जनमा सुधार ल्याउने कार्यक्रम उद्देश्य छ ।’
तालिममा सहभागी कृषक उद्यमी गजत नेपालीले भने, ‘यो तालिममा हामी १५ जना सहभागी थियौँ । हामी सबैका २ सयदेखि २ सय ५० सम्म स्याउका विरुवा छन् । हामीले सीप सिकेर आफ्नो स्याउका बिरुवा काटछाट तथा बगैचा व्यवस्थापन गर्नुका साथै आयआर्जन गर्न सक्ने भएका छौँ ।’
१५ जना उद्यमीलाई एक÷एक आरी र सिकेचर वितरण गरिएको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।
गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिंचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगैंचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’
उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भएको र ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ । स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पुर्याउन आवश्यक रहेको उनले बताए ।
जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।