सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय नेपाल र मलेसियाको तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ । बुभबार एक अनलाइन माध्यमबाट समारोहबीच दुई पक्षीय सम्झौता भएको हो ।
मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटीको तर्फबाट समकक्षी अध्यक्ष प्रा।डा। ली जी वेइद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको एमयूले जनाएको छ ।
उक्त अनलाइन सम्झौता हस्ताक्षर समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह तथा तुङ्कु अब्दुल रहमान यूनिभर्सिटीका अध्यक्ष प्रा।डा। ली जी वेइले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप.प्रा.पन्चदेव भट्ट गरेका थिए ।
उक्त कार्यक्रममा तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबाट उपाध्यक्ष सह–प्रा. से सोक क्वान लगायत निर्देशक, वरिष्ठ प्रबन्धक, सहायक रजिष्ट्रार लगायतको उपस्थिति रहेको सूचना प्रविधि विज्ञ उप.प्रा.भट्टले जानकारी दिए ।
समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौतापछि दुबै शैक्षिक संस्थाको शैक्षिक विकास हुनुका साथै दुई विश्वविद्यालयबीच आपसी समझदारीलाई बढावा दिने विश्वास गरेका थिए ।
शैक्षिक संस्थाहरुले बौद्धिक क्रान्तिमार्फत अहिलेको विश्व समुदायको हितमा हुने कार्यमा लाग्नु पर्ने कुरा व्यक्त गरेका थिए । तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष प्रा.डा. ली जी वेइले सम्झौता पश्चात विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ समर्थन रहने कुरा व्यक्त गरेका थिए ।
दुबै विश्वविद्यालयहरूले समानता र पारस्परिकताको आधारमा पारस्परिक हितका लागि विभिन्न सहयोगी गतिविधिहरू सञ्चालन गर्न उक्त सम्झौता पत्रमार्फत सहमत भएका छन् । जस अन्तर्गत विद्यार्थीहरुका लागि विभिन्न सहयोगी सिकाइका गतिविधिहरू संचालन गर्ने, विद्यार्थी र प्राध्यापक तथा कर्मचारी आदानप्रदान गर्ने, संयुक्त सम्मेलन, सेमिनार तथा गोष्ठीहरु संचालन गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन, परामर्श गर्ने, विशिष्ट प्रयोगशाला उपकरण, शिक्षण सामग्री र विशेषज्ञतामा पहुँच पुर्याउने र छोटो शैक्षिक भ्रमणहरू गर्ने गराउने यो सम्झौताका उदेश्य रहेका छन् ।