फाइल फोटो
सिमकोट : कर्णाली प्रदेश लोक सेवा आयोग र शिक्षक सेवा आयोगका परिक्षा जिल्लामै दिने व्यवस्थाका लागि माग गरिएको छ । परिक्षा दिन जाने बेरोजगार युवा युवतीलाई आर्थिक अभाव बढी पर्ने भएकाले लिखित परिक्षा जिल्लामै दिने व्यवस्थाको माग गरिएको हो ।
नेपाल शिक्षक संघ हुम्लाका अध्यक्ष कैलाश रोकायाले हाल प्रदेश लोकसेवा आयोग र शिक्षा सेवा आयोगले खुलाएको विभिन्न पदको विज्ञापनको लिखित परिक्षा जिल्लामै दिने व्यवस्थाका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई माग गरिएको बताए ।
उनले संघमार्फत एक ज्ञापन–पत्र पठाएर बेरोजगार युवा युवतीको आर्थिक बोझलाई कम गर्न पनि लिखित परिक्षा दिने व्यवस्था जिल्लामै गर्न मुख्यमन्त्री शाहीसँग माग गरिएको बताए ।
हुम्लाबाट सो परिक्षामा सहभागी हुने परिक्षार्थीले कम्तीमा पनि परिक्षा दिन पचास हजार भन्दा बढी खर्च गर्नुपर्ने भएपछि न्यून आयश्रोत भएका व्यक्तिहरु परिक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था छ ।
संघीय लोकसेवा आयोगले आर्थिक बोझकै समस्यालाई ध्यानमा दिएर हालसम्म अधिकृत छैटौं तह भन्दा तल्लो स्तरका सबै पदको लिखित परिक्षा सबै जिल्लामै लिइरहेको बेला प्रदेश लोकसेवा आयोगले पनि त्यो व्यस्था लागु गर्न माग गरे ।
परिक्षार्थीहरुलाई हवाई मार्गबाट परिक्षा दिन जानुपर्ने भएको कारण हवाई भाडा महँगोपर्ने भएको कारण धेरै परिक्षार्थी आर्थिक अभावको कारण परिक्षा दिनबाट बञ्चित हुँदै आएको बताउँदै उनले जिल्लावासीको यो समस्या बुझेर परिक्षा दिने ब्यबस्था जिल्लामै गर्न माग गर्नु परेको बताए ।
सय भन्दा बढी बेरोजगार युवायुवतीको माग कर्णाली प्रदेश सरकार, प्रदेश लोकसेवा आयोग र शिक्षासेवा आयोगसँग माग गरेका छन् । दुर्गमका परिक्षार्थीहरुको मर्का बुझेर समयमै परिक्षा केन्द्रको जिल्लामा व्यवस्था गर्न मुख्यमन्त्रीसँग हुम्ली बेरोजगारको माग छ ।
संघीय लोकसेवा आयोगले २०७१ सालबाट बिभिन्न पदको लिखित परिक्षा जिल्लामै सञ्चालन गर्दै आएको छ । केही वर्ष अगाडीसम्म शिक्षा सेवा आयोगले समेत लिखित परिक्षा जिल्लामै सञ्चालन गर्ने गरेको थियो । त्यसैगरि नेपाली सेनाले समेत सेनाको भर्नाका लागि लिखित परिक्षासम्म सबै कार्य पनि जिल्लामै सञ्चालन गर्दै आएको छ ।