सिमकोट: डेढ महिना लामो हिउदे बिदापछि सोमवारबाट जिल्लाका सबै विद्यालयमा पठन पाठन सुरु भएको छ । हिउदे बिदा फागुन १ गतेबाट सकिएको र कोरोना सङ्क्रमणको त्रास कम भएको कारण विद्यालयमा भौतिक उपस्थितीमै पढाई सुरु भएको हो ।
सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बालबिकासदेखि कक्षा दशसम्मको पठन पाठन सुरु भएको जानकारी दिए । उनले हिउँदो बिदा पनि सकिएको र कोरोनाको त्रास नभएको कारण भौतिक उपस्थितीमै पढाई सुरु गरिएको बताए ।
उक्त विद्यालयमा पढाई सुरु भएको पहिलो दिनमै पचास प्रतिशत बिधार्थीहरुको कक्षामा सहभागिता रहेको छ । स्थानीय चाडपर्व परेको कारण केही विद्यार्थीको विद्यालयमा उपस्थिती नभएको बताउदै उनले अब एक दुई दिनमा सबै विद्यार्थीको कक्षामा सहभागिता रहने जनाए ।
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको शिक्षा शाखाका संयोजक जयरुद्र ढकालले गाउँपालिकाका १७ वटै विद्यालयमा पठनपाठन सुरु भएको बताए । चारवटा मावि र १३ वटा आधारभुत विद्यालय उक्त गाउँपालिकामा रहेका छन् । पढाई सुरु भएको पहिलो दिनमै विद्यार्थी र शिक्षकको कक्षामा सहभागिता उल्लेख्य रहेको बताउदै उनले अब धमाधम कक्षा सुचारु हुने जनाए ।
मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका शिक्षा शाखाका प्रमुख बिरजंग शाहीले ३२ वर्टै विद्यालय सञ्चालनमा आएको जनाए ।
शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख तिलक भट्टराईले जिल्लाका सात वटै गाउँपालिकामा विद्यालय सञ्चालनमा आएको बताए ।
यसमा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका हुन । गत पुस १६ गतेदेखि फागुन १ गतेसम्मका लागि हुम्लाका विद्यालयहरुमा हिउदे बिदा भएको थियो । उनले कोरोनाको कुनै प्रभाव नदेखिएको र बिदा समेत सकिएको कारण विद्यालयहरुमा पठन पाठन सुरु भएको बताए ।
उनले सोमवारबाट हुम्लाका चार वटा संस्थागत र १४७ वटा सामुदायीक विद्यालय गरि १५१ वटा विद्यालयमा पढाई सुरु भएको जानकारी दिए । यसबाट २३ हजार ३२५ जना बिधार्थीहरु पठन पाठन कार्यमा सहभागिता जनाउने छन् ।
बिगतमा मङ्सिर महिनामा बार्षिक परिक्षा सञ्चालन गरेर फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेकोमा कोरोनाको कारण विदालयमा पढाई सम्पन्न नभएकोले २०७९ को बैशाख महिनाबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछन् ।