- कपडा सिलाएर घरखर्च जोहो गरिरहेका कालिकोट खाडाचक्र नगरपालिका – ८ का लालु परियारले परिर्वतनका लागि माओवादीले सुरु गरेको जनयुद्धमा ज्यानको बलि चढाए । लालुकी श्रीमति देवी परियारको २१ वर्षमै सिँउदो मुछियो । बिधुवा भइन् । लालुलाई तत्कालीन शाही सेनाले माओवादी भन्दै अपहरण गरेर हत्या गरेको थियो । क्रुर यातनापछि लालुको हत्या भएको २० वर्ष पुरा भयो । अहिले उनको परिवारमा खर्च जोहो गर्न कठिन छ । बल्लतल्ल श्रीमानले साथमा छोडिदिएको झुप्रो र पेशाबाट दिन चर्या चल्छ । उनको परिवारसँग न झरी छेक्ने घर छ । न भोकमरी छेक्ने भर छ । देवी भन्छिन्, ‘सेनाले श्रीमानलाई मारिदियो, माओवादीले हामीलाई अलपत्र पारिदियो ।’
- १९ वर्षको उमेरमा माओवादी युद्धमा लागेका दैलेखको भगवतीमाई गाउँपालिका–६ का किरण शाहीको अवस्था पनि त्यस्तै छ । उनको शरिरका अंगहरुमा गोलीका घाउ छन् । उनी भन्छन्, ‘युद्ध गरियो । शान्ति प्रक्रियामा आएपछि माओवादीले हामीलाई वेवास्ता गर्यो । अहिले माओवादीका नेताहरु पनि आ–आफ्ना मान्छेलाई पोस्ने काम गर्छन् । जसलार्य जनयुद्ध कस्तो थियो ? भन्नेसम्म थाहा छैन ।’
- जाजरकोटको भेरी नगरपालिका–२ का विजय पुन मगरले २० वर्षको उमेरमै माओवादी युद्धमा गए । गाउँमा भएको अत्याचार अन्याय र अधिकार प्राप्तिका लागि युद्धमा गएको उनी भन्छन्, ‘युद्ध हामीले यो दिन देख्नका लागि गरेका थिएनौं । हुन त मैले एउटा कमानसमेत समालेको थिए । कमाण्डर थिए । तर, यसरी हाम्रा नेताहरु बद्लिन्छन् भन्ने सोचेका थिएनौं । यसरी हामीलाई सडकमै छोड्छन् भन्ने सोचेका थिएनौं ।’ ३५ ठुला आक्रमणमा परेका कमाण्डर विजयका शरिर जनयुद्धले दिएको उपहारले पोलिरहन्छ । घाउ बल्झिरहन्छ । यसबीच पनि खर्चको जोहो गर्न अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अटो चलाउँछन् । भन्छन्, ‘सँगै युद्ध गरेका नेता साथीहरु अहिले चिन्दैनन ।’
- दैलेख ठाटीकाँध गाउँपालिका– २ डाडावनका नर्तम विक पनि जनयुद्धमा घाइते भए । खुट्टा गुमाए । उनको साथमा अहिले एक थान बैसाखी छ । र, पुरानै पेशा आरनको सहारामा घरव्यवहार चलाउँदै आएका छन् । नर्तम विक भन्छन्, ‘युद्ध गरेकाको अवस्था देख्नु भयो ? त्यतिबेला हाम्रा पनि ठुलै सपना थिए । समाज परिर्वतन हुन्छ । छुवाछुत अन्त्य हुन्छ । हामी सबै युवाले रोजगार पाउँछौं । सबैले शिक्षा पाउँछन् । अहिले त्यसो भएन । नेताका छोरा–छोरीहरु महँगो स्कुलमा पढछन् । हाम्रा छोरा–छोरी यतै धुलोधुइरो खेल्छन् । हिजो परिवर्तनका लागि बन्दुक उठाउन लगाए, आज आफ्नै हथौडो उठाएर जीवन चलाउनु परेको छ ।
- चुलो चौको होइन बम बारुदको झोला बोक भन्ने दैलेख भैरवी गाउँपालिका–७ की अन्जना खड्का आफै चुलोचौकोमा फर्किएकी छन् । जनयुद्धकी कलाकार खड्का भन्छिन्, ‘हामीलाई यसरी माओवादी नेताले बाटोमै छोड्लान भन्ने सोचका थिएनौं । एक सोचेका थियौं अर्कै भयो ।’ हिजो गाउँघरमा चुलो चौको होइन, बम बारुदको झोला बोक भन्न कलाकार अञ्जना जस्तै थुप्रै कलाकारहरु अहिले कता छन् ? कसैले वास्ता गर्दैन । हिजो उनीहरुकै मञ्चमा कार्यकर्ताको भीड लगाउने कलाकारलाई अहिले कोही नेताले नचिनेको उनको भनाइ छ । भन्छन्, ‘ए तपाईं हो र ?’
- समाजमा भएको चरम जातीय विभेदकाविरुद्धमा कक्षा १० मा अध्ययनरत जाजरकोट बारेकोट गाउँपालिका– ६ ताँसीका हरिचन्द्र विकले ०५२ सालमा सुरु भएको युद्धमा सामेल भए । युद्धकै बेला विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गए । विभिन्न एरिया इन्चार्ज भए । तत्कालीन जिल्ला कमिटीमा आए । कलाकारितामा सक्रिय भए । दजनौं कलाकार जन्माए । युद्धमा स्थानीयको जनलहर लगाए । अहिले उनको अवस्था फरक छ । भन्छन्, ‘यस्तो होला भनेर युद्धमा कल्पना समेत गरिएको थिएन । समाजमा छुवाछुत कायम रह्यो । कुरिती कायम रह्यो । यस्तो हुन्थ्यो भने म पढाइ छोडेर युद्धमा लाग्ने थिइनँ । अहिले हामीले रचेका नाटक, गीतहरु जनयुद्धमा बोकेका सपनाहरु अलपत्र छन् ।’
माओवादीले आजभन्दा २७ वर्ष पहिले नेपालमा सशस्त्र युद्धको सुरुआत गर्यो । जसका लागि धेरैले रगत बगाए । ज्यानको बलि चढाए । व्यवस्था परिर्वतनका लागि हजारौंले ज्यानको बलि मात्रै चढाएनन्, कैयौंलाई सत्ता र शक्तिमा पुर्याए पनि ।
पहिलो पटक नेतृत्वमा पुगेपछि माओवादीका नेताहरु भन्थे ‘पुँजीपति वर्गसित केवल हारगुहार हुँदैन । हामीले रगतको आहालबाट गरेको क्रान्ति बिर्सेका छैनौं । नेपाली जनताले देशको नयाँ रुप देख्न पाउने छन् ।’
नेपाली राजनीतिको इतिहास बदल्नका लागि सशस्त्र विद्रोहको माओवादीले गरेको सत्य हो । जसमा, हजारौं नेपाली मजदुर किसानले कम्मर कसेर लडेका हुन् । त्यति मात्रै होइन निरंकुश शासक र सत्तालाई दह्रो चुनौती दिएका थिए । तत्कालीन सामन्ती सत्तालाई ढाल्नका लागि नेपाली श्रमिक, उत्पीडित, दमितहरु गोलवद्ध भएर युद्ध गरेकै हुन् ।
विडम्बना, जसले परिर्वतनका लागि हतियार उठाए उनीहरुलाई नै यतिबेला छाक टार्न धौधौ भएको छ । उनीहरु भन्छन्, ‘गोली हाम्रो शरिरमा हुने, युद्ध हामिले गर्ने, घाइते हाम्रो हामी हुने, पहुँच र संगठनका विभिन्न तप्कामा नेताका छोराछोरी पुग्ने ? जबकी उनीहरुलाई जनयुद्ध भनेको के हो ? भन्ने नै थाहा छैन । यसो गरेर माओवादीका नाममा हामीमाथि अपराध किन ?’
सत्ता र शक्तिमा पुगेपछि जनयुद्धका नायक नै धनयुद्धका खलनायक भए । जसकारण, युद्धमा देखाइएका सपना र जनताका चाहनाहरु पनि नेताहरुको स्वार्थमा परिणत भयो ।
रुकुम रोल्पाबाट सुरु भएको माओवादी युद्ध कर्णालीलाई आधार इलाका बनाएको थियो । जनयुद्धकै बलमा कर्णालीका धेरै नेता सत्ता र शक्तिमा पुगेपछि पार्टीको विधि, घाइते योद्धा, सहिदपरिवार, बेपत्तापरिवार लगायत उत्पीडित वर्गभन्दा पहुँच र पावरमा आफ्न्तलाई पोस्ने काम गरिरहेका छन् ।
‘हाम्रा केही साथीहरुले आफ्नो बाटोविचार भुलेकै छन् । यी कुराहरु बाहिर समेत आइसके । हिजो पार्टीमा योगदान गर्नेभन्दा पनि आफ्ना भाइ–छोरालाई पोस्ने काम भएको भइरहेको छ’ माओवादी केन्द्रका कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर बिष्ट भन्छन्, ‘माओवादीले त्यो घेरा तोडेर माथी आयो भने हाम्रो वर्गको उन्नति हुनसक्छ । प्रगति हुनसक्छ । देशको उन्नति र प्रगति हुनसक्छ । माओवादी त्यहीँ घेरामा अल्झिदै गयो भने माओवादी त सकिएर पतनतिर जान्छ नै । संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरमराउँछ ।’
केही सयमअघि मात्रै कर्णाली सरकारको मन्त्रिपरिषद् गठन भयो । माओवादी केन्द्रले गैरसांसद हुम्लाका छिरिङ डम्डुल लामा कार्चेनलाई मन्त्री सिफारिस ग¥यो । उनी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भए ।
गैरसांसदलाई नै मन्त्रीमा सिफारिस गर्नु माओवादी केन्द्र कर्णाली प्रदेशसभामा सांसदको खेडेरी पनि परेको थियो त ? यदि त्यसो होइन भने माओवादी केन्द्रका १२ जना सांसद्मध्ये कार्चेनको विकल्पमा किन योग्य देखिएनन् त ?
उनी गैरसांसद मात्रै होइनन्, मूर्ति चोरीको अभियोगमा दुई वर्ष जेल सजाय काटेका अभियुक्त समेत हुन् । संविधानमा कुनै पनि फौजदारी कसुरमा सजाय भोगेका व्यक्ति मन्त्री बन्न योग्य हुँदैनन् । तर पनि प्रचण्ड केन्द्रित माओवादीको ‘खाओवादी’ राजनीतिले कार्चेन मन्त्री बन्न पुगे । यो स्वीकार गर्न सकिने विषय होइन । कानुनी राज्यको उपहासलाई समेत बेवास्ता गर्न मिल्दैन । यसबारे माओवादीकै क्रान्तिकारीले आखा चिम्लेपनि २१ वर्षीया बिनिता बोगटीले उच्च अदालत सुर्खेतमा रिट हालेर कारण देखाउ आदेश जारी गराउन सफल भइन् ।
जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ता परिवारले माओवादी नेताले आफुलाई वेवास्ता गरेको गुनासो बारम्बार गरिरहेका छन् । त्यसमाथि कर्णालीमा कार्चेनलाई मन्त्री बनाएर जनयुद्धमाथि नै माओवादीले निर्मम प्रहार गरेको नेताहरुको टिप्पणी छ । यस विषयमा कर्णालीका नेता मौनवार्तामा छन् । अनि विरोधी पनि केवल सामाजिक सञ्जालका धुपौरे मात्र छन् । यस्तो धनयुद्धबाज माओवादीले साच्चै १० वर्षको जनयुद्ध कसका लागि लडेको थियो, प्रचण्डका लागि कि नेपाली जनताका लागि ? आम नागरिकको प्रश्न यस्तै छ ।