सुर्खेत । सुर्खेतमा बेपता भएका युवकको कंकाल पाँच महिनापछि फेला परेको छ । गत फागुनमा सिकार खेल्न गएको बेला बेपत्ता भएका सुर्खेतका ३० वर्षीय शिवराम रानाको कंकाल फेला परेको हो । बराहताल गाउँपालिका १, सम्सेलीका रानाको कंकाल पाँच महिनापछि भरुवा बन्दुकसहित प्रहरीले फेला पारेको हो ।
इन्स्पेक्टर गोपाल रायमाझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बर्दियाको ठाकुरद्वार नगरपालिका(१ स्थित बर्दिया राष्ट्रिय निकुञ्जभित्रबाट शिवराम रानाको कंकाल फेला पारेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी राजेन्प्रसाद भट्टले जानकारी दिए ।
एसपी भट्टका अनुसार रानाको हात, खुट्टाको हड्डी, खप्परसहित एक नाले भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग गरिने छर्रा, एकरएक थान हँसिया, खुकुरी, चक्कु, मृतकको कपडा, झोला र चप्पल पनि फेला पारेको छ ।
गत फागुन १० गते शिवरामकी श्रीमती मनरुपा रानाले आफ्नो श्रीमानलाई सँगै गएका दुई छिमेकीले नै बेपत्ता पारेको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएकी थिइन् ।
जाहेरीको आधारमा प्रहरीले मृतकसँगै शिकार खेल्न गएका यामबहादुर सम्सेली र सूर्यबहादुर वलीलाई असार १६ गते पक्राउ गरेको थियो ।
घटना भएको केही दिनमा भारत गएका सम्सेली र वली बराहताल १ स्थित घर फर्किएको सूचना मृतकको श्रीमतीले दिएपछि पक्राउ गरेको एसपी भट्टले बताए ।
आफन्तले कपडा मृतकै भएको बताएपछि कंकाल शिवराम रानाकै भएको खुलेको प्रहरीले बताएको छ । अब केही दिनमा थप पुष्टिका लागि मृतकको डीएनए परीक्षण गरिने एसपी भट्टले बताए ।
सनाखत भए पनि मृतकको श्रीमतीले भने गत बिहीबार आफ्नो श्रीमानको हत्या भएको भन्दै गत बिहीबार प्रतिवादी सम्सेली र वलीविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएकी छिन् ।