खोटाङ : आगलागीको उच्च जोखिममा रहेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जडान गरिएका फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण सफल भएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत दिक्तेल बजारका दश स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरिएको छ । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि मङ्गलबार दिक्तेलस्थित रत्नपार्कमा जडान गरिएको फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको थियो ।
पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेलमा जडान गरिएका फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण सफल भएपछि स्थानीयवासी हर्षित भएका छन् । दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी विभिन्न दश ठाउँमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए ।
“दिक्तेल बजारमा सञ्चालन गरिएको सहरी खानेपानी आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ”, उनले भने, “निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाको पाइपमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरेर १०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्न दिक्तेल बजारका विभिन्न दश ठाउँमा हाइड्रेन्ट गेट भल्भ जडान गरिएको हो ।”
जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घर भएका दिक्तेल बजारमा वर्षेनि आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ । हाइड्रेन्ट गेट भल्भ जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी सहरी खानेपानी आयोजनाको बजेट लगानी रहेको जनाइएको छ ।
विशेष किसिमको पाइप जडान गरिएको फायर हाइड्रेन्ट गेट भल्भमार्फत करिब १० मिनेटमै एउटा दमकल ९बारुणयन्त्र०मा पानी भर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिका र सहरी खानेपानी आयोजना उपभोक्ता समितिबीचको सहमतिअनुसार दिक्तेल बजारको विभिन्न ठाउँमा हाइड्रेन्ट गेट भल्भ राख्ने निर्णय गरेको हो ।
दिक्तेल बजारमा विसं २०७२ साल पुस २ गते रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट सुरु भएको आगलागीबाट पुरीसहित सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो । विद्युत् फल्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो । दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ चैत १४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको थियो ।
सोही खानेपानी आयोजनाअन्तर्गत दिक्तेल बजारका विभिन्न ठाउँमा अग्निनियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । नेपाल सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम सुरु गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताएका छन ।
आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडानलगायत काम गरिने जनाइएको छ । पन्ध्र वडा रहेको नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । आशिष निर्माण सेवा कम्पनीले निर्माणको काम जिम्मा लिएको उक्त आयोजनाको शिलान्यास गत चैत २४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका थिए ।