सिमकोट : जनताको शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका हुम्लाभरि स्थापना भएका प्रहरी चौकी भाडाका घरमा सञ्चालन हुँदै आएको आएको पाइएको छ । आफ्नो भवन नभएपनि शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकीहरु भाडाकै घरमा स्थापना हुँदै आएका हुन् ।
प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि स्थापना भएका जिल्ला प्रहरी कार्यालय सहित २५ वटा प्रहरी चौकीमा १४ वटा भाडाका घरमा हालसम्म सञ्चालन हुँदै आएको जानकारी दिए ।
प्रहरी चौकीको आवश्यकता भएर स्थापना भएको भएपनि आफ्नो भवन नहुँदा स्थानीय व्यक्तिका घरमा भाडामा चौकी स्थापना गरेर कार्य सञ्चालन हुँदै आएका हुन ।
यसरी प्रहरीले आफै र कतै गाउँपालिकाले भाडा तिर्दै आएका प्रहरी चौकीहरुमा सीमा प्रहरी चौकी हिल्सा, प्रहरी चौकी यारी, प्रहरी चौकी धारापोरी, प्रहरी चौकी खार्पु, प्रहरी चौकी याङ्चु बजार, प्रहरी चौकी सर्केदेउ, प्रहरी चौकी मेल्छाम पिप्लाङ, प्रहरी चौकी मिमि, प्रहरी चोकी गल्फागार्ड, प्रहरी चौकी छप्रेला, प्रहरी चौकी मैला कवाडी, ट्राफिक प्रहरी कार्यालय सिमकोट, अस्थायी प्रहरी पोष्ट तुम्च रहेका छन् ।
अधिकांश भाडाका घरमा सञ्चालन हुँदै आएका प्रहरी चौकीहरु माटोले छापेका घरमा बस्दै आएको कारण वर्षाको बेला चुहिने समस्याबाट प्रहरी नै पीडित हुँदै आएका छन् । अर्को कुरा भाडाका घरमा बस्दै आएका प्रहरीलाई प्रयाप्त कोठाको पनि व्यवस्था हुन नसक्दा काममा बाधा पुग्ने गरेको गुनासो प्रहरीको रहेको छ । पानी परेको र हिमपातको बेला प्रहरीलाई आफ्नै सुरक्षा गर्न पनि प्रहरीलाई धौ धौ हुने गरेको देखिएको छ ।
भाडामा बस्ने प्रहरी चौकी मध्य केहीको सम्वन्धित गाउँपालिकाले भाडा तिर्दै आएका छन् । कुल मध्य छ वटा प्रहरी कार्यालय र चौकी मात्र आफ्नै भवनमा बस्दै आएका छन् । र अन्य सुरक्षा दिनु पर्ने निकायमा बस्दै आएका हुन ।
सदरमुकाम सिमकोटमा रहेको इलाका प्रहरी कार्यालय डिभिजन वनको कार्यालयमा बस्दै आएको छ । अधिकांश प्रहरी चौकीसँग आफ्नो जग्गा समेत नभएको कारण स्थानीयसंग जग्गा उपलब्ध गराउनका लागि पहल भइरहेको जनाइएको छ । चौकीसँग जग्गा भएको भए आफ्नै भवन निर्माणका लागि पहल गर्न सकिने भएको भएपनि जग्गा नभएकै कारण सो प्रयास गर्न नसकिएको हो ।