सुर्खेत : ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर कर्णाली प्रदेश सरकारले राहत वितरण गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मानव सेवा आश्रम, बादी सरोकार मञ्च र प्रशान्ति वृद्धाश्रममा राहत वितरण गरेका हुन् ।
बादी सरोकार मञ्चको आश्रयमा रहेका ८० जना बालबालिकाहररूलाई मुख्यमन्त्री शाहीले आफ्नो व्यक्तिगत खर्चमा पोसाक उपलब्ध गराउने घोषणा समेत गरेका छन् । शाहीले शिक्षा नै जीवन भएकाले विभिन्न निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई स्कुल पोसाक उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै, मुख्यमन्त्री शाहीले सुर्खेतको वीरेन्द्रनगर–३ मा रहेको प्रशान्ति वृद्धाश्रममा चालू आर्थिक वर्ष भित्रै ४० लाखको लागतमा वृद्धवृद्धालाई खाना खानका लागि नयाँ भवनको निर्माण गर्ने घोषणा समेत गरेका छन् ।
मुख्यमन्त्री शाहीले हाल वृद्धाश्रमको माथिल्लो तलामा रहेको भान्छा घरमा गएर खाना, खाजा खान वृद्धवृद्धाहरूलाई समस्या भएको बताउँदै आश्रमको खाली ठाउँमा भान्सा घर बनाउँनका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ उपलब्ध प्रतिवद्धता व्यक्र गरेका छन् ।
खाद्यान्न तथा सरसफाइ सामाग्री वितरण कार्यक्रममा प्रमुख सचिव राजकुमार श्रेष्ठ, सचिव आनन्द सारु, भरतकुमार शर्मा, शंकर केसी र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलगायतको उपस्थिति रहेको थियो ।
यस्तै, प्रजातन्त्र दिवसकै अवसर पारेर मुख्यमन्त्री शाहीको टोलीले शनिवार सहिद पार्कमा सरसफा समेत गरेको छ । मुख्यमन्त्री शाहीसँगै सरकारका मन्त्रीहरु, मन्त्रालयका प्रमुख सचिव, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा सहिद पार्कमा सरसफाइ कार्यक्रम समेत गरेको हो ।