फोटो - कांग्रेस जाजरकोट सभापति वेदराज सिंह
काठमाडौं : निर्वाचन आयोगको सूचनामाथि नेपाली कांग्रेस जाजरकोटले विरोध जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोगको सूचनामाथि विरोध जनाएको हो ।
निर्वाचन आयोगले गत फागुन ६ गते ‘मतदाता परिचय पत्र सम्बन्धी सूचना’ जारी गरेको थियो । उक्त सूचनामा भनिएको छ – ‘आयोगले जारी गरेको मतदाता परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले मिति २०७८/११/२० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिस सहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
आयोगको यो सूचनाप्रति जाजरकोट कांग्रेसले विरोध जनाएको छ । ‘आयोगको यो सूचना प्रकाशन गरिनु दुःखको विषय हो । कोरोना महामारीबीच मतदातालाई दुःख दिनेगरि जारी सम्बभहीन सूचनाप्रति नेपाली कांग्रेस घोर आपत्ति प्रकट गर्दछ’ कांग्रेस जाजरकोटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक निर्वाचनतर्फ होमिएको छ, ‘कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंहले भने, ‘नेपाली जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यअवधिका लागि हुन लागेको स्थानिय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा आम मतदाताको सहभागितामा उल्लासमय वातावरणमा सम्पन्न गर्नुपर्नेछ । यसबीच स्वयंले व्यक्ति सम्बन्धित वडा कार्यालयको सिफारिससहित आफ्नो मतदाता नामावली रहेको निर्वाचन कार्यालयको सूचनामाथि विरोध गछौं ।’
उनले थपे, ‘यसकारण अगाडी सम्पन्न सबै खाल्का निर्वाचनमा पुराना मतदाताहरुको पनि नयाँ मतदाता परिचय पत्रप्रदान गर्ने गरेकाले मतदाताहरुले मतदानपछि उनीहरुको परिचय पत्र हराएको या साथमा नभएको हुनसक्छ । जाजरकोटका हिसाबमा पनि त्यो अवस्था छ । अधिकांश परिचय पत्रविहीन छन् । यसका पछाडी जाजरकोटको भौगोलिक विकटता, सवारी साधनको पहुँच नभएको, मतदाता मजदुरका लागि छिमेकी मुलुकमा जानुपर्ने बाध्यता, भरपर्दो सञ्चार सुविधा नभएका कारण सूचना सम्प्रेषण गर्न कठिन छ । यस्तो बेला आयोगले परिस्थिती नबुझेर मतदाता परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयं व्यक्ति उपस्थित भएर निवेदन दिने अवस्था छैन । यसकारण कांग्रेस जाजरकोटले आयोगको सूचनाप्रति घोर आपत्ति प्रकट गर्छ ।’
‘उक्त सूचनाका अनुसार, आम नागरिक जिल्ला निर्वाचन कार्यालयमा पुग्ने अवस्था छैन, ‘विज्ञप्तिमा भनिएको छ, ‘आम मतदातालाई निर्वाचनमा भाग लिने व्यवस्था सुनिश्चितताका लागि वडाबाट सिफारिस ल्याएर निर्वाचन कार्यालयमा निवेदन दिने सूचनालार्य भन्दापनि निर्वाचन आयोगको रेकर्ड अनुसार स्वतः मतदाताको सूचिमा समावेश सबै मतदाताको पुनः परिचय पत्र जारी गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई नेपाली कांग्रेस जाजरकोट हार्दिक अपिल गर्दछ ।’
यस न्यायिक कदममा सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न जाजरकोट जिल्लास्थित राजनैतिक दल, नागरिक समाज, पत्रकार तथा आम सरोकारवाला सबैमा अपिल समेत गरिएको छ ।
यो समस्या समाधानका लागि पहल गर्न नेपाली काग्रेसका केन्द्रिय सभापति प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष नेपाली कांग्रेस जाजरकोटका तर्फबाट पत्राचार गरि अनुरोध गरिएको जाजरकोट सभापति सिंहले जानकारी दिए ।