बुधबार बिहा कालिकोटको नरहरिनाथ गाउँपालिकामा गएको पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । बिहान सवा ४ बजे गएको पहिरोमा नरहरिनाथ ७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा रहेको छ।
पहिरोमा परी गंगे बुढाकी छोरी विमला बुढा घाइते छन्। उनलाई उपचारका लागि स्थानीय कुमाल बजारमा लगिएको एसएसपी बास्तोलाले जानकारी दिए। पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उनले बताए।
यस्तै मंगलबार राति नरहरिनाथ गाउँपालिका–५ मा गएको पहिरामो दले बुढाको घर पुरिएको छ। त्यहाँको क्षतिबारे विवरण नआएको एसएसपी बास्तोलाले जानकारी दिए। उक्त घटना स्थलतर्फ प्रहरी गइरहेको उनले जानकारी दिए।
सोमबार राति गएको पहिरोमा परी कालिकोटकै रास्कोट नगरपालिका १ बडुवाल तोलामा ४ जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका १ बडुवाल तोलामा रहेको जयबहादुर शाहीको घर पुरिँदा उनीसहित ३ जनाको मृत्यु भएको हो। सोही पहिरोमा बेपत्ता भएका २ जनाको शव अझ पनि भेटिएको छैन।
सोमबार राति नै वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोले पुर्दा सन्नीत्रिवेणी गाउँपालिका ७ की केश्पुरा शाहीको मृत्यु भएको छ।