दैलेख : दैलेख ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी रुपा थापा ‘उर्मिला’ तत्कालिन राज्य व्यवस्था परिवर्तनका लागि माओवादी युद्धमा हिँडेकी थिइन् । युद्धमा हिँड्दा उनले सोचेकी थिइन् – ‘समाजमा महिला हिंसाको अन्त्य हुन्छ । बालविवाहदेखि बहुविवाहसम्मका घटनाहरु समाजमा घट्दैनन । उत्पीडितले न्याय पाउँछन् । दमनकारी राज्य व्यवस्थाबाट मुक्ति पाइन्छ ।’
समाजमा भएका कुरीतिको चिरफार गर्न उर्मिला ०५८ साउन ८ गते माओवादीमा युद्धमा गइन् । साविकको दुल्लु नगरपालिका-९ माइती घर भएकी उर्मिलाको घर नजिकै प्रहरी चौकी थियो ।
युद्धमा हिँड्दा उर्मिला कक्षा ९ मा अध्ययनरत थिइन् । उनी बिहान स्कुल जान्थिन् । बेलुका फर्किन्थिन् । बीचमा प्रहरीले सोधिरहन्थ्यो – तिमी माओवादी हो ? यता आउ बसेर कुरा गरौं, माओवादी कहाँ छन् ? भनिरहन्थ्यो ।
यो कुराले उर्मिलाको मनमा निकै घत लाग्ने गरेको थियो । त्यसमाथि प्रहरी सबै विद्यार्थीभन्दा उर्मिलालाई बढी निगरानी राख्ने गरेको थियो ।
प्रहरीको यो निगरानीले गर्दा उर्मिला अन्त्तः माओवादी युद्धमा हिँड्न बाध्य भइन् । ‘म जस्ता हजारौं महिलाले न्याय पाउँछन् भने, समाजमा समाजमा भएको कुरीति र कुसंस्कार अन्त्य हुन्छ भने, राज्य व्यवस्था परिवर्तन आउँछ भने मैले युद्ध किन नगर्ने ? भन्ने सोच मनमा पलायो । अनि, युद्धमा हिँडेको’ उनले भनिन्, ‘युद्धमा हिँड्दा ‘बा’लाई जान्छु भन्ने आँट आएको थिएन । पछि जानुपर्छ कि ! भन्ने मात्रै कुरा गरेको थिए । ‘बा’ले मलाई कुनै पासो छोड्नु भने ।’
अन्ततः उनी घरबाट हिँड्नुपर्ने भयो । पूर्णकालिन युद्धमा लाग्नुपर्ने अवस्था सिर्जना भयो । बिहानै घरको बाटो हुँदै गीताचौरतर्फ लागिन् ।
गीताचौरका अन्य माओवादीका साथीहरु उनको सम्पर्कमा आए । उनको पार्टीको नाम कमरेड उर्मिला रह्यो । बाँकी वर्षहरु शान्त्रि सम्झौतासम्म युद्धमै गोलीसँगै बिते । बम–बारुदसँगै बिते ।
चुलोचौकोमै फर्किन् उर्मिला
जनयुद्धमा उर्मिलालाई माओवादीका नेता कार्यकर्ताले भन्थे – कमरेड हामीसबै राज्य व्यवस्था परिर्वतन गर्न हिँडेका हौं । सधैं चुलोचौकोमा सीमितलाई मुक्ति दिने आधार बनाउँछौं । ‘तर, अहिले बम–बारुद बोकेर पनि अवस्था यस्तो छ’ उनले सुनाइन् । अर्थात् उनको साथमा एक झुप्रो बाहेक अरु केही छैन ।
जनयुद्धमा जाँदा दैलेख हुँदै जाजरकोटको दुर्गम मचकोट पुगिन् । केही समय त्यतै बिताइन् । त्यहाँ बस्दा पनि महिला र दलितका विषयमा बुझ्ने, जान्ने समाजमा सेचना फैलाउने काम गरेको उनले बताइन् ।
जाजरकोटमै बसेर युद्ध सम्बन्धी आवश्यक तालिम लिइन् । उनकै कारण, जाजरकोट जुनीचाँदेका कैयौँ युवतीहरु युद्धमा हिँड्न तयार भए । चुलोचौकोबाट बाहिर आएका थिए ।
तर, शान्ति सम्झौतापछि माओवादीले आफुहरुलाई बेवास्ता गरेको उनी बताउँछिन् । अहिले उनी अशक्त भएर बाँचिरहेको अवस्था छ । व्यवस्थाविरुद्ध उनको संघर्ष युद्धमा लाग्दा युद्ध सम्बन्धी उनले तीन महिनासम्म तालिम लिइन् ।
उनलाई लाग्यो, ‘राज्य व्यवस्था पल्टाउनका लागि ज्यानको बलि चढाउनुपर्छ । जनताका लागि सत्ता कब्जा गर्नुपर्छ ।’ छाक नखाएर युद्धमा बम–बारुदको झोला बोकेको उनको मस्तिष्कमा ताजै छ ।
०५८ को फागुन – अछामको मङ्गलसेन आक्रमण गर्न टोली अगाडी बढिरहेको थियो । नेपाली समय करिब रातिको साढे ९ बजे मङ्गलसेनमा फाइरिङ सुरु भयो ।
राती ९ बजे सुरु भएको लडाइँ बिहानको चार बजे माओवादीले विजयी प्राप्त गर्यो । शाही सेना पराजित भयो । माओवादीले विजयी प्राप्त गरेपनि माओवादीका सेनाहरु पनि थुप्रै मारिए । उक्त आक्रमणमा रुपा सेक्सन भीसीमा थिइन् ।
सल्यान जाँदा साथी भेरीमै बगे...
दैलेखको नौमुलेबाट बिदाइ भएर जाजरकोटतफ रुपा लगायतका माओवादीका नेता कार्यकर्ता सल्यानतिर लागे । जाजरकोटबाट सल्यान पुग्न भेरी तर्नुपर्ने हुन्थ्यो । भेरीमा डुङ्गा थिएन । चैत महिना लौकाको (चिन्नु) ढाडमा बाँधेर भेरी तर्नुपर्ने बाध्यता थियो ।
ढाडमा चिन्नु बाँधेर रुपा लगायत एक सयभन्दा लस्कर सुतेर तर्नेक्रममा सुर्खेतका रोशन चौधरी बगे । बगेर तलसम्म पुग्दा पनि हात हल्लाउँदै क्रान्ति सफल पार्न निर्देशन दिएको रुपाले सुनाइन्, ‘भेरी बढेको कारण उनलाई बचाउने स्थिती थिएन । एक जनालाई बचाउन खोज्दा सबैको मृत्यु हुने अवस्था थियो ।’
जतिबेला, सात साथीले साथ छोडे...
सल्यान हुँदै प्युठानको सदरमुकाम आक्रमण गर्ने योजना थियो । ‘त्यसअनुसार, अगाडी बढेकोका थियौं’ उनले भनिन्, ‘अन्तिम पोष्टमा पुगिसकेका थियौं । उताबाट नेपाली सेना आयो । दुबै पक्षबाट फाइरिङ सुरु भयो । उक्त भिडन्तमा परेर हाम्रा सात जना साथीको ज्यान गयो ।’
आक्रमणपछि, रातारात तीनवटा बटालियन कमाण्डरसहित करिब १५ सय जना बाटो पत्ता लगाएर फेरि अगाडी बढेको उनले सुनाइन्, ‘बाटो भिरालो थियो । अगाडीको मान्छेले बाटो विराए ज्यान जाने सम्भावना थियो । त्यो रातिभरी हिँड्यौं । भोलीपल्ट रोल्पाको गाममा पुगियो । भोकले हातखुट्टा कामै नलाग्ने भएका थिए । त्यो आक्रमणमा हामीले विजयी प्राप्त गरेका थियौं । त्यसपछि रुकुम पुग्यौं । त्यहाँ त प्रहरीले आफै सुरुङ खनेर भागेर गाम गाउँ पुगेको थियो ।’
रुकुम खारा लडाइँ
रुकुम खारा लडाइँ ०५९ जेठ १९ गते राति ९ बजेबाट लडाइँ सुरु भयो । निरन्तर लडाइ चलिनै रह्यो । नौ बजे सुुरु भएको लडाइँ बिहान पाँच बजेसम्म चल्यो । आक्रमणमा परेर धेरै साथीहरुले ज्यान गुमाए । त्यो लडाइँमा माओवादी पराजित भयो । र, शोकमा डुबेको उनको भनाइ छ ।
खारा आक्रमणपछि अर्घाखाचीको सदरमुकाम सन्धिखर्क पुग्ने योजनामा रुपासहितको टिम सन्धिखर्क पुग्यो । भदौको महिना थियो पानीमा भिज्दै विभिन्न दुःख संघर्षसँग जुध्दै टोली निरन्तर अघि बढेको थियो । अर्घाखाचीको सदरमुकाम सन्धिखर्क हान्ने योजना बनाइएको थियो । त्यहीँ तयारीमा टोली निरन्तर अघि बढेको थियो ।
भदौ २३ गते तीज परेको थियो । तीजको रौनक बजारमा निकै चलेको थियो । राति नै बजे फाइरिङ सुरु थियो । ९ बजे सुरु भयो । राज्यपक्ष र माओवादी पक्षबीच फाइरिङ सुरु भयो । त्यसबेला नै रुपालाई गोली लागेको थियो । त्यहीँ ठाउँमा ढल्न पुगिन् । गोली बायाँ खुट्टामा लागेको थियो । रुपा अर्थात् कमरेड उर्मिलाको शरिरमा अझै बम–बारुदका घाउ छन् ।
उनी भन्छिन्, ‘त्यसरी गरेको जनयुद्ध यसरी नेताको निजी स्वार्थमा परिणत हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन । राज्य व्यवस्था परिर्वतन हुन्छ । देश विकासमा अगाडी बढ्नेछ । जनताको जीवनस्तर बदलिन्छ भन्ने सोचियो । तर, हिजो युद्धमा देखाएका सपना र चाहनालाई भुलेर माओवादीका नेताहरु ऐसको जीवन बिताइरहेका छन् । हामीले लडेको जनयुद्ध त्यहीँ रगतसँगै बगेर गयो ।’
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक )