सिमकोट : सडक निर्माण गर्नेक्रममा दुई गाउँका स्थानीयबीच विवादपछि झडप हुँदा हुम्लामा एक जना महिला घाइते भएकी छन् । सलीसल्लाबाट पिप्लाङ, माछापानी, नेक्पा हुँदै चीनको सिमाना टाँकेसम्मको सडकको निर्माण कार्य सुरु गर्नेक्रममा झडप हुँदा गाउँका एक महिला घाईते भएकी हुन् ।
चङ्खेली गाउँपालिका कार्य समितिको सदस्य समेत रहेकी भएका नेक्पा गाउँकी देउरुपा तामाङले नयाँ सडकको निर्माण सुरु गर्नेक्रममा घट्टेचौरमा नेक्पा र पाली गाउँका स्थानीयबीच भएको झडपले धर्म तामाङ घाईते भएर बेहोस भएकी हुन् ।
निर्माण कम्पनीले सडक निर्माणको काम स्काभेटरबाट सुरु गर्न खोज्दा पाली गाउँका स्थानीयले अग्लो स्थानबाट ढुङ्गामुढा गरेर झगडा सुरु गरेको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले सडक निर्माणका क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएपछि महिलाको अनुहारमा चोट लागेको बताए । घाइते महिलालाई प्रहरीले बोकेर स्वास्थ्य चौकीसम्म स्ट्रेचरमा ल्याई उपचार गराएको बताए ।
घाईतेको दाँत हल्लिएको र चोट लागेको स्थानमा चार वटा टाँका लगाइएको छ । अहिले पनि घाईते महिलाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले बताएका छन् ।
गाउँपालिकाले सहजिकरण गरेर दुई गाउँबीच भएको विवाद समाधान गर्न नसकेपछि विवादले झडपको रुप लिएको स्थानीयले बताएका छन् । चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य चङ्खेली गाउँपालिका –४ को पाली र ५ को नेक्पा गाउँवासीको आपसी बिबादको कारण सडक निर्माण कार्य रोकिएको थियो । सो खण्डबाट सडक निर्माण नभएर निर्माण कार्य अगाडि नबढ्ने र डीपीआर अनुसार सडक निर्माण गर्नुपर्ने माग नेक्पावासीको रहँदै आएको छ ।
यता वडा ४ का पाली गाउँका स्थानीयले सडक पाली गाउँ छोएर जानु पर्ने माग राख्दै आएका छन् । पाली गाउँसम्म सडक निर्माणको कार्य पुर्वाधार बिकास कार्यालयले हाल पनि गरिरहेको छ । यसअघि दुबै गाउँवासीलाई गाउँपालिकाले बोलाएर छलफल गरेको भएपनि सहमति हुन सकेको थिएन ।
हिल्सा– सिमकोट सडक आयोजनाले दुई गाउँको बिबादका कारण पिप्लाङदेखि चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य चालु आर्थिक वर्षको स्वीकृत योजनाअनुसार सडक निर्माण कार्य सुरु गर्नेक्रममा रोकिएको जनाएको छ ।