गण्डकी : पोखरालाई केन्द्र बनाएर पदयात्रा, पर्वतारोहणलगायतमा क्रियाशील पर्यटक पथप्रदर्शकलाई लक्ष्य गरी स्थलगत सीप विषयक आठदिने तालिम दिइएको छ ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश समितिको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनात्मक सहयोग, काठमाडौँ इन्भाइरोमेण्टल एजुकेशन प्रोजेक्ट (किप) नेपालको साझेदारी, उद्योग पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित तालिम पदयात्रा र पर्वतीय पर्यटनमा लागेका पथप्रदर्शकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
तालिममा २७ जना पर्यटक पथप्रदर्शकको सहभागिता रहेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । यस किसिमको तालिम पोखरामा पहिलोपटक भएको दाबी गर्दै उनले यस क्रममा पर्वतीय पर्यटनमा अत्यावश्यक नक्सा अध्ययन, कठिन परिस्थितिमा दिशा पत्ता लगाउने कला, प्राथमिक उपचार, तारा अध्ययन, कथावाचनलगायतमा तालिम दिइएको बताए ।
तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थान अहिलेको आवश्यकता भएको बताए । पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै उनले पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमा आएको बजेट फ्रिज हुन नदिई क्रियाशील पर्यटनसम्बद्ध संस्थाका प्रवद्र्धनात्मक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए । केन्द्रमा मन्त्रालय तथा बोर्डबीचको बेमेललगायतका कारण पर्यटकीय गतिविधि प्रभावित हुन नहुने उनले बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले तालिमले पर्यटन क्षेत्रमा लाग्ने पथप्रदर्शकको दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा बोर्डले प्रवद्र्धनात्मक गतिवधि बढाइरहेको उनले बताए ।
कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवन सापकोटा, सचिव सुदीप गौतम, किप नेपालका प्रमुख कार्यकारी अधिकृत इयान वाल, प्रशिक्षार्थीद्वय मनु गुरुङ र सुरज गुरुङ, किप नेपालका अध्यक्ष देवीप्रसाद पन्तलगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता हुनेमा जोड दिए ।