१७ साउन, वीरगञ्ज । सांसद प्रदीप यादवलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अरु पर्साका ६३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् ।
संक्रमित हुनेमा चिकित्सक र अस्पतालका कर्मचारी पनि छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित स्वाब दिएका अरु २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज–१३ राधेमाई बस्ने ४० वर्षीय सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन् । रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका छन् ।
पर्सामा यसअघि नै आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमित घरमै छन् । सबैभन्दा बढी वीरगञ्जमा १ सय १८ जना अस्पताल बाहिर छन् । वीरगञ्ज स्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण छ ।
दुई दिनअघि विरगञ्जका मेयर विजय सरावगीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो १० दिनयता मात्रै १० जनाको मृत्यु समेत भइसकेको छ । पर्साका समुदायमै कोरोना देखिएपछि विज्ञसहितको टोली पठाउन संघीय सरकारसँग माग पनि गरेका छन् ।