कुनै बेला एक लाख प्रतिमन बिक्री भएको अलैँचीको मूल्य निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो ।
देशमा नै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला इलाम नै हो तर यहाँ जति अलैँची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैँची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा पैदा भएको छ ।
अलैँचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण अलैँची बिक्दैन कि भन्ने चिन्तासमेत बढ्न थालेको छ । खोला, खोल्सामा उत्पादन हुने अलैँचीलाई खोल्सीको कालो सुन भनेर चिनिने अलैँची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा बिकेको वस्तु निरन्तर ओरालो लागेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।
दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढे पनि अलैँचीको भाउ घटेपछि चिन्ता बढेको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताउनुभयो । उहाँको बगानमा अलैँची बढ्न थालेपछि भाउ घटेपछि जुन जोसका साथ अलैँची लगाइएको थियो त्यो जोस हराउँदै गएको छ ।
विश्व बजारमा सुनको भाउ बढ्दा अलैँचीको भाउ पनि बढ्ने गरेको थियो । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैँची किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।