कञ्चनपुर : कृष्णपुर नगरपालिका–२ खल्लागोठका अजव सिंह खड्का पूर्खौंदेखि थालेको परम्परागत पेशालाई अगाडि बढाउँदै आएका छन । बुबा बाजेले सम्हालेको दुबो धागो बनाउने पेसालालाई ७१ वर्षीय खड्काले सम्हाल्दै आएका हुन । डडेल्धुराको अमगरगढी नगरपालिका–६ छचोडाबाट दुई दशकअघि बसाइँसराइ गरी यहाँ झर्नुभएका उहाँले दुबो धागो बनाउने कार्यलाई निरन्तरता दिँदै आएका छन ।
सुुदूरपश्चिमको संस्कृति अनुसार गौरापर्वमा महिलाले पुरुषले जनै धारण गरेझै दुबोधागो लगाउने गर्दछन् । दुबोधागोलाई धर्मशास्त्रमा सप्तम्या (सात ओटा धागोको डोरा) भनिन्छ । वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा महिलाले दुबो धागो धारण गर्नुपर्ने चलन रहेको छ । गौरा पर्वको सप्तमीका दिन गौरालाई गौराघरमा भित्राएपछि महिलाहरुले दुबो धागो चढाउने र धारण गर्ने गर्दछन् । यसै दुबो धागो बनाउने कार्यमा खड्का छ दशकदेखि क्रियाशील रहदै आएका छन ।
“छचोडाका पूरै गाउँका बासिन्दाको कमाइको साधननै दुबो धागो बनाएर बेच्नुे रहेको थियो”, खड्काले भने, “जसबाट गाउँका बासिन्दाको वर्षभरिको खर्च चल्थ्यो ।” दुबो धागो बेचेर वर्षभरिका लागि अन्न खरिद गर्दथ्यौं । लत्ताकपडाको जोहोसमेत त्यसबाटै हुन्थ्यो । हाल युवाहरुले दुबो धागो बनाउने कार्य छाड्दै गएका छन् ।
पहाडमासमेत थोरैले मात्रै दुबो धागो बनाउछन् । तेह्र वर्षको छदै बुबाबाट दुबो धागो बनाउन सिकेको उनी बताउछन । तराई झरेपनि यस पेसालाई सम्हादै आएको उनी सगर्व सुनाउछन । भारतको नयाँ दिल्लीबाट उनले एक वर्षका लागि पुग्ने गरी ५० किलो धागो खरिद गरेर ल्याउछन । धागोलाई पहेँलो, रातो र कालो रङग लगाएर दुबो धागो बनाउछन । रङ्गसमेत भारतबाटै ल्याउने गरिन्छ ।
दुबो धागो बनाएर बेचेर दैनिक रु ७०० जति कमाइ हुने गरेको छ । दुबो धागो थोकमा बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका व्यापारीले खरिद गर्ने गर्दछन् ।
दुबो धागो बनाउने कार्यबाट नौ जनाको परिवारको खर्च सहज रुपमा चलाउँदै आएको खड्काले बताए । “दुबो धागो बनाउने कार्यबाट परिवारको खर्च सहज रुपमा चलाउँदै आएको छु । यस पेसाबाट पाँच छोरा दुई छोरीको विवाह गरे । घरखर्च चलाएँ । चलाउँदै आएको छु । पैसाका लागि कहिले पनि अरु कहाँ हात थाप्नु परेन”, उनले भने, “छोराहरुले आ–आफनै तरिकाले गरेर खाँदै छन् । बुढाबुढी हामी यही बेचेको पैसाले ठाँटले बसेर खाँदै छौं । लगाउँदै छौं ।”
धागो र त्यसमा लगाउने रङ्ग ल्याउनका लागि खड्का आफै नयाँ दिल्ली पुग्ने गर्छन । दिल्लीका भारतीयहरुले पुरानो धागोको ग्राहक भएकाले आदरपूर्वक सम्मान गर्ने गरेको उनी बताउछन ।
जन्म मिति अनुसार नागरिकतमा जन्म मिति नलेखिँदा उमेर ७१ वर्ष पुगेपनि ज्येष्ठ नागरिक सुरक्षावापतको भत्ताको रकमबाट भने उनी वञ्चित छन । उनी भन्छन, “दुबो धागो बनाउने धागोमा भन्सार अधिक लाग्ने गरेको छ । सरकारले त्यो मिनाहा गरे यस पेसालाई सहज रुपमा अगाडि बढाउन सकिन्थ्यो ।”
रातो, पहेँलो, कालो धागो मिसाएर बनाइएको दुबोधागो गौरादेवीमा अर्पण गरी, अभिषेक गरी गौरापर्वको सप्तमीका दिन लगाइने गरिन्छ । कसैसकैले अष्ठमीका दिन गौरा खलामा शिव पार्वतीको पूजाअर्चना पश्चात दुबो धागो लगाउने चलन छ । प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबो धागो लगाउनुपर्ने चलन छ ।