एजेन्सी । म्यान्चेष्टर सिटीविरुद्ध दुइ एक गोलले पछि परेको रियल मड्रिडलाई च्याम्पियन्स लिग जित्न साच्चै कठिन छ । रियलको मैदानमा उसैलाई हराएको सिटी अब आफ्नो मैदानमा रक्षात्मक खेल्ने अवस्थामा छ । तर यो रियलका प्रशिक्षक जिदानका लागि चुनौति मात्रै होइन, जीवनकै कठिन खेल जस्तै छ ।
च्याम्पियन्स लिगको अन्तिम सोह्रको पहिलो लेगमा रियल इंग्लिस क्लब म्यानचेष्टर सिटीसँग घरेलु मैदानमा २–१ गोलान्तरले स्तब्ध बनेको थियो ।
सान्टियागो बर्नाबेउमा भएको खेलको नतिजालाई उल्टाउँदै रियल च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन चाहन्छ र यसको तयारीका लागि रियलका प्रशिक्षक जिदानसँग आठ दिन मात्रै बाँकी छ ।
नतिजा उल्टाउन रियललाई त्यति सहज भने हुने छैन । आफ्नो भरपर्दा डिफेन्डर एवम् क्लबका कप्तान सर्जियो रामोस सिटीविरुद्धको खेलका लागि अनुपस्थित हुने भएपछि रियल झनै दबाबमा छ ।
क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि रियलमा भरपर्दा स्ट्राइकरको कमी छ । करिम बेन्जेमा बाहेक रियलको अर्का भरपर्दो स्ट्राइकर छैन् । बेल, हाजार्डमाथि जिदान पूर्ण रुपमा विश्वास गर्न सकिरहेका छैनन् । त्यसमाथि सिटीका सर्जियो अग्युरो, जिसस, रहिम, केभिन डी ब्रुएनी जस्ता विश्वस्तरका स्ट्राइकर छन् ।
जसलाई रोक्न रियललाई निकै ठूलो चुनौति छ । यस्तो अवस्थामा जिदानले सिटीविरुद्ध कस्तो टिम तयार गर्ने हुन ? त्यो भने अबको एकहप्तापछि शुरु हुने च्याम्पियन्स लिगमा मात्रै थाहा हुनेछ ।