डोटी । सुदूरपश्चिम प्रदेशमा लकडाउन गरेयता असार मसान्तसम्मको अवधिमा ७७ वटा बलात्कार घटना भएका छन् । बलात्कृत हुनेहरुमा १८ बालिका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले तयार गरेको तथ्याङ्कअनुसार चैत्र महिनामा १४, वैैशाखमा १५, जेठमा २३ र असारमा २५ महिला बलात्कृत भएका हुन ।
कैलालीमा सबैभन्दा बढी ४१ महिला बलात्कृत भएका छन् । यस जिल्लामा चैत्रमा ६, बैशाखमा ८, जेठमा ११ र असारमा ४१ जना बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मुकेशवहादुर सिंहले जानकारी दिए । उनका अनुसार कैलालीमा बैशाखमा चार र असारमा आठ गरी १२ जना बालिका बलात्कारको शिकार भएकी छन् ।
यस्तै कञ्चनपुरमा तीन बालिकासहित १५ बलात्कृत भएका छन् । चैत्रमा तीन, वैशाखमा तीन, जेठमा ६ र असारमा तीनजना बलात्कृत भएका हुन् ।
प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये यो अवधीमा सबैभन्दा बढी बलात्कारका घटना बाजुरामा भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार यस जिल्लामा चैत्रमा दुई, वैशाखमा एक, जेठमा तीन र असारमा एक गरी सात घटना भएका छन् ।
यस्तै दार्चुलामा वैशाखमा एक, जेठमा दुई र असारमा एक गरी चार घटना, अछाममा वैशाखमा एक, जेठमा एक र असारमा दुई गरी चार, बैतडीमा चैत्रमा एक र असारमा एक गरि दुई, बझाङ्गमा चैत्रमा दुई, डडेल्धुरामा असारमा एक र डोटीमा वैशाखमा एक बालिकामाथि बलात्कार भएको छ । अछाममा बलात्कृत भएकाहरुमध्ये दुई बालिका हुन् ।